राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत गर्ने शब्दको पहिलो पटक प्रयोग

राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत गर्ने शब्दको पहिलो पटक प्रयोग



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन् ।

निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आशय प्रकट गरेका हुन् ।

उनले निर्वाचनमा धाँधली भएकाले बाइडेनले जितेको भनिएको आशय व्यक्त गर्दै आफ्नो दाबीबाट भने आफु पछाडि नहटेको उल्लेख गरेका छन् । बाइडेनको नाम उल्लेख नगरी उनले “उहाँले जितेको” भन्ने शब्दावलीको प्रयोग गरेका छन् ।

ट्रम्पको यो लेखाइलाई बाइडेनको जितलाई स्वीकार्नु पर्ने बाध्यतालाई महसुस गरेको रुपमा बुझिएको छ ।

उनले लेखेका छन्, “उहाँले झुट सञ्चारमाध्यमको आँखामा मात्रै जित हासिल गरेको हो, निर्वाचनमा धाँधली भएको छ, अत्यमा हामीले नै जित्ने मलाई विश्वास छ, हामी धेरै टाढा जानुछ ।”

राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने दोहोर्‍याएका छन्, जबकि गत शुक्रबार पनि निर्वाचन आयोगका अधिकारीहरूले अमेरिकी इतिहासमै सुरक्षित निर्वाचन भएको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको स्पष्ट पारेका थिए ।

ट्रम्पले केही राज्यहरूमा भएको निर्वाचनमा धाँधली भएको भनेर केही ठाउँमा निवेदन पनि गरेका थिए । ती उजुरीहरुमा पर्याप्त प्रमाण नपुगेको भन्दै न्यायाधीशहरूले उजुरी खारेज गरिदिएका थिए । तर पनि उनले धाँधली भएको भन्न छाडेका छैनन् ।

अमेरिकी निर्वाचन आयोगका अनुसार कुल २७० इलेक्टोरल मत प्राप्त गरेमा विजयी हुनेमा ३०६ इलेक्टलर कलेज मत प्राप्त गरेर बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।

आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको मागअनुसार मतगणना गरे पनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ । मत सङ्ख्याका आधारमा पनि ट्रम्पले भन्दा बाइडनले ५० लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।

निर्वाचित हुन आवश्यक सवै प्रक्रिया र प्रमाणहरु पुरा हुँदा पनि बाइडेनको जितलाई ट्रम्पले नस्वीकार्दा अमेरिकी राजनीतिमा केही त्रास र आशंका भने अझै पनि कायमै रहेको बताइन्छ ।

अमेरिकामा हरेक चार चार वर्षमा राष्ट्रपति चयनका लागि नोभेम्बर महिनामा निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नयाँ नेतृत्व ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।