जान्सेनको कोभिड-१९ खोप तेस्रो चरणमा प्रवेश

जान्सेनको कोभिड-१९ खोप तेस्रो चरणमा प्रवेश



फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोना भाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ ।

करिव १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ ।

अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको जानकारी दिँदै खोप परीक्षणका लागि विश्वभरका ६ देशका करिव ३० हजार व्यक्तिलाई समावेश गरिने बताएका एपीले उल्लेख गरेको छ ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो ।

साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा. फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताएका छन् ।

फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए ।

बेलायतमा जान्सेनसहित ६ वटा कम्पनीलाई कोभिड-१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।