इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास शुरु

इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास शुरु



इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास शुरु गरिएको इजिप्टको सेनाले घोषणा गरेको छ । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ ।

गत वर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका कमान्डो सैनिक र लडाकू बिमान सहित संयुक्त सैन्य अभ्यास भइरहेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानमाथि लाग्दै आएको आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो । अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो ।

अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो ।

इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी ‘नाइलको इगल-१’ नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ ।

सैन्य अभ्यासका क्रममा सैन्य कारबाहीसँग सम्बन्धित योजना निर्माण र कारबाहीसँग जोडिएको क्रियाकलापका साथै खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिएका छन् ।