सार्वभौम अस्तित्वमाथि विषाक्त हमला
■ रामेश्वर राउत ‘मातृदास’
भाषा मानव समाजको महानतम् र सर्वोत्तम प्राप्ति हो । जलचर, थलचर, उभयचर र नभचरहरूमा रहने सबै प्राणीहरूको आ–आफ्नो भाषा छ । कथ्य, लेख्य र साङ्केतिक, भाषाका तीन रूप हुन्छन् । यी तीन रूपमध्ये लेख्यरूप भाषाको सर्वाधिक महत्वपूर्ण र प्रभावशाली माध्यम हो । लेख्यभाषाका लागि लिपिको आवश्यकता अनिवार्य हुन्छ । अधिकांश जाति र भाषाको आफ्नो लिपि नहुनाले अरूको भाषाको लिपि लिएर आफ्नो भाषाको लेख्य रूप चलाइराखेको पाइन्छ । जस्तो– जापानको खाञ्जी भाषा चिनियाँ भाषाको लेख्य लिपि लिएर विकसित भइराखेको छ । अङ्ग्रेजी भाषाको पनि आफ्नो मौलिक लिपि छैन । अङ्ग्रेजी भाषाले पनि रोमन भाषाको लिपि र वर्णाक्षरहरू सापट लिएर आफूलाई मुखर गर्दै आइरहेको छ । संसारका अधिकाङ्श जातिको लिपि र वर्णाक्षरहरू नै नभएकाले अन्य प्राणीहरूले जस्तै उनीहरूको भावना कथ्य र साङ्केतिकमा मात्र सीमित हुन्छ । कथ्य र साङ्केतिक मात्र हुनाले उनीहरूको आफ्नो मौलिक साक्ष्य प्रमाण हुँदैन ।
यस अर्थमा हामी नेपालीहरू सौभाग्यशाली छौँ । देवानगरी लिपि र संस्कृत एवम् प्राकृत (नेपाली) जस्तो संसारकै उत्कृष्ट र सर्वोन्नत लिपि तथा वर्णाक्षरहरूबाट विकसित भएको भाषा हामीहरूलाई प्राप्त छ । देवनागरी लिपिमा आधारित भएका चौसठ्ठी (६४) वटा वर्णाक्षरहरूमध्ये हाल प्राकृत (नेपाली) भाषामा बाउन्न वटा (५२) वर्णाक्षरहरू निरन्तर रूपमा कामयाव भैराखेका छन् । सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अस्तित्वको मूल मेरूदण्ड र आमनागरिकहरूको गर्व र गौरवको आडस र ढाडस हो । कुनै पनि जातिको अस्तित्व र महत्व आँकलन गर्ने सर्वाधिक विश्वसनीय माध्यम भनेकै सभ्यता एवम् संस्कृति, रीति, रिवाज तथा परम्परा नै हो । यी सबैको मुुटु र मेरूदण्ड अथवा प्राणशक्तिकै रूपमा लिपि र वर्णक्षरहरू रहेका हुन्छन् । भाषामा भएका वर्णाक्षरहरूलाई लोप गराउनु भनेकोे लिपिको समेत समाप्ती हो ।
प्राण र शरीरको मिलन नै जीवन भनेजस्तै वर्णक्षरहरूको सम्पुष्टिबाट मात्रै लिपिको अस्तित्व, महत्व र प्रभावकारिताले निरन्तरता पाइरहेको हुन्छ । भाषागत रूपमा हामी सम्पूर्ण नेपालीहरूलाई प्राप्त भैराखेको यो महानतम् सौभाग्य र अवसरलाई आज हाम्रै अनुहारका केही कुलाङघार, विवेकहीन र वेइमानहरूका कारण आफ्नै भाषाको देवनागरी लिपि र वर्णाक्षरहरूलाई नै चिरकालपर्यन्तसम्म हाम्रा सन्तान-दरसन्तानहरूले लेख्न, देख्न र प्रयोग गर्नबाट धमाधम बञ्चित बनाइँदै छ । यो भाषिक अत्याचार र वेइमानीका विरूद्धमा हामी सम्पूर्ण जिम्दा नेपालीहरू बिम्झनै पर्ने अवस्था आएको छ ।
हामी जिम्दा नेपालीहरू नै जागेनौँ, लागेनौँ र बिम्झेनौँ भने केही वर्षपछि हामी सम्पूर्ण नेपालीहरूलाई कथ्यमा मात्र परिसीमित राखेर वर्णाक्षरहरू र देवनागरी लिपि नै गायब बनाउन भाषा-माफिया र तस्करहरूको विषाक्त उद्देश्य र अभियान कोरोनाजस्तै मौलाइरहेको छ । यी मानव कोरोनारूपी भाषा माफिया र तस्कररूपी विषाक्त भाइरसहरूको घोषित लक्ष्य दश (१०) वर्षभित्र नेपाल र नेपालीहरूलाई सम्पूर्ण रूपले लेख्य भाषाविहीन बनाउने रहेको देखिन्छ । यो असंवैधानिक, गैरकानूनी भाषिक अत्याचारलाई जिम्दा र जाग्दा नेपालीहरूले सम्पूर्ण रूपमा परास्त गर्नैपर्दछ । यो वर्तमान समयको ज्वलन्त, जीवन्त र अनिवार्यता हो । देवनागरी लिपि र वर्णाक्षरहरू गोप्य रूपमा समाप्त बनाएर संस्कृत भाषालाई ‘मृत भाषा’ (Dead Language) भनाउन र भन्न लगाएर विस्थापित गराएजस्तै दश वर्षभित्र नेपाली भाषालाई सम्पूर्ण रूपमा प्रयोजनहीन बनाउने भाषिक अत्याचारको एउटा जीवन्त र ज्वलन्त नमूना हो– ‘इम्बोष्ड नम्बर प्लेट’ (सवारी सङ्ख्यापाटी) ।
सवारी साधनमा प्रयोग हुने नम्बर प्लेट विश्वका सम्पूर्ण देशहरूले आफ्नो देशका नागरिकहरूको जिउ, धनको सुरक्षार्थ आफ्नै देशका भाषा र अक्षरहरू नै प्रयोग गरेका हुन्छन् ।
मूलतः सवारी साधनहरूमा प्रयोग हुने सवारी सङ्ख्यापाटी (नम्बर प्लेट) नितान्त ट्राफिक प्रहरी प्रयोजनका लागि मात्र हो । सवारी साधन सञ्चालकले सवारी साधन चलाउँदा कथमकदाचित रोडमा कुनै किसिमको सवारी दुर्घटना भयो भने उक्त दुर्घटना के कारणबाट कसरी भयो र त्यस दुर्घटनामा कुन पक्षको लापरवाही, असावधानी वा भवितव्यबाट भयो त्यसको समुच्चा समुच्चै छानविन गरेर दोषी पक्षलाई दण्डित र निर्दोष पक्षलाई न्याय दिनका लागि सवारी साधन र सवारी चालक पहिचान गर्ने सङ्केत हो (सवारी नम्बर प्लेट) अर्थात् सवारी सङ्ख्यापाटी । यसरी सवारी साधनमा प्रयोग हुने नम्बर प्लेट विश्वका सम्पूर्ण देशहरूले आफ्नो देशका नागरिकहरूको जिउ, धनको सुरक्षार्थ आफ्नै देशका भाषा र अक्षरहरू नै प्रयोग गरेका हुन्छन् ।
हाम्रो देश नेपालमा पनि प्रारम्भिक चरणदेखि नै हाम्रो भाषामा भएका वर्णाक्षरहरू र देवनागरी लिपि नै हाम्रो देशभित्र सञ्चालित भएका यातायातका साधनहरूमा प्रयोग हुँदै आइरहेको छ । नेपालको संविधान २०७२ को धारा ७(१) ले ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनेर किटानी संवैधानिक प्रावधान प्रष्ट पारिदिएको छ । संविधानको संवैधानिक प्रावधानभन्दा बाहिर गएर कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो मनोमानी ढङ्गबाट नियम, नीति वा व्यवस्था गरेर अन्यथा गर्न गराउन नदिनका लागि संविधानको धारा १(१) ले ‘यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ’ भनेर संविधान भन्दा बाहिर गएर कुनै पनि व्यक्ति वा निकायले आफूखुशी मनोमानी ढङ्गबाट नियम, नीति, विधि–व्यवस्था गर्न नहुने र नपाइने किटानी संवैधिानक प्रावधान तय गरिदिएको छ ।
सार्वभौमसत्ता सम्पन्न राष्ट्र, जनता र आफ्नो जन्मजात स्वाभिमान र स्वाधिनताभन्दा बेग्लै र माथिल्लो तहमा कुनै पनि पद र पदासिनहरू छैनन् र हुँदैनन् । पैसा र प्रविधि मान्छेले आफ्नो आवश्यकता परिपूर्तिका लागि बनाएको साधन हो । पैसा र प्रविधिले हामीलाई जन्माएको हैन । प्रविधिले हाम्रो भाषा, साहित्य, कला, संस्कृति, ऋति, ऋवाज, धर्म र परम्पराहरूलाई बिगार्दैनन् । प्रविधिलाई दोष लगाएर गोप्य वेइमानी र बदमासी पार्ने केही विषाक्त चिन्तन र मनस्थिति बोकेका मान्छेहरू नै हुन् । यसैले दोष प्रविधिलाई हैन वेइमान गर्ने दोषी मान्छेलाई दण्डित गर्नु अनिवार्य छ । आज आएको प्रविधि प्रयोग गर्दा संसारका सबै राष्ट्रिय र सामाजिक अस्तित्व र महत्व वृद्धि, बढोत्तरी हुने, सुध्रिने र संरक्षण हुने हाम्रोचाहिँ भएका भत्कने, बिग्रने र अस्तित्व नै नरहने कसरी हुन्छ ? के हाम्रो अस्तित्व समाप्त पार्न र अरूको जति बचाउने उद्देश्यले बनेको हो आधुनिक प्रविधि ? यही प्रविधि प्रयोग गर्दा संसारमा अरू सबैका कुरा रहने हाम्रो चाहिं समाप्त हुन्छ भन्ने प्रयोजनहीन लिँडे र गोप्ते तर्क हाम्रा हकमा मान्य र स्वीकार्य छैन र हुँदैन ।
यसैगरी संविधानको धारा २८ ले नेपालसरहदभित्र बसोबास गर्ने सम्पूर्ण नेपाली नागरीकहरूलाई गोपनियताको संवैधानिक हक प्रत्याभूत गरेको छ । जसअन्तर्गत ‘कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी गोपनीयता कानून बमोजिक बाहेक अनतिक्रम्य हुनेछ’ भनेर गोपनियतालाई मौलिक हकको सशक्त संवैधानिक अधिकार प्रत्याभूत गरिदिएको प्रष्ट छ ।
कार्यपालिका, न्यायपालिका, व्यवथापिका लगायतका कुनै पनि व्यक्ति वा निकायबाट मौजुदा संविधान संशोधन वा खारेज नभएसम्म मनोमानी निर्णय वा ओदश वा विधिव्यवस्थ गर्न मिल्दैन र कथमकदाचित कुनै व्यक्ति वा संस्थाले असंवैधानिक कार्य गरे गराएमा त्यस्तो असंवैधानिक कार्य नगर्नू-नगराउनू भनेर नेपालको संविधान २०७२ को धारा १३३ (२) र (३) ले प्रत्याभूत गरेको असाधारण अधिकार क्षेत्र ग्रहण गरेर सम्मानित सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छालगायतका उपयुक्त आदेश जारी गरेर, भए गरेका असंवैधानिक कार्यलाई पूर्णतः बन्देज लगाउन सक्ने प्रष्टतः संवैधानिक प्रावधान संविधानतः अद्यावधि मौजुदा छ ।
आफ्नै भाषाले प्रागऐतिहासिक कालदेखि नै अवलम्बन गर्दै आइरहेको वस्तुगत र विज्ञानसम्मत पुष्टि–प्रमाणित भैसकेका वर्णाक्षरहरू र देवानगरी लिपिलाई आफ्नै देशको मौजुदा संविधानको उल्लेखित प्रावधानहरूलाई जानाजान मिचेर असंवैधिानक र गैरकानूनी ‘इम्बोष्ड नम्बर प्लेट’ लागू गर्ने सम्झौता गरेर आम नागरिकहरूसँग गैरकानूनी शुल्क असुल गर्ने कार्यले पूर्णतः सार्वभौमसत्तासम्पन्न नेपाल र आमनेपाली नागरिकको नैसर्गिक संवैधानिक भाषिक अधिकार र गोपनीयताको हकलाई पीडादायी हमला गरेको हो । यो असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ सम्पूर्ण रूपले आपत्तिजनक अत्याचार हो । यो असंवैधानिक कार्यबाट नेपाली सेना, सशस्त्र बल, जनपथ प्रहरी, गुप्तचर निकाय एवम् उच्चपदस्थ र आम नेपाली नागरीकहरूको संवैधानिक मौलिक हक अन्तर्गत प्राप्त भएको भाषिक र गोपनीयताको हक समाप्त पार्नुका अतिरिक्त हाम्रा सन्तान दरसन्तानहरूले देवनागरी लिपमा आधारित भएका अङ्क र अक्षरहरू लेख्न, देख्न र प्रयोगगर्नबाट चिरकालपर्यन्तसम्मका लागि बन्देज लगाउने पीडादायी पर्खाल खडा गरिदिएको छ ।
यो असंवैधानिक ‘इम्बोष्ड नम्बरको पासो’ले देशको सार्वभौम अस्तित्वको छातीमा निर्ममतापूर्वक छुरा प्रहार भएकै हो । कुनै पनि जिम्दा नेपालीले यो असंवैधानिक अत्याचारलाई स्वीकार र समर्थन गर्ने छैनन् र गर्न हुँदैहुँदैन । आफ्नै भाषाको देवनागरी लिपि र वर्णाक्षरहरू समाप्त पार्ने र आफ्नै गोपनीयताको हक समाप्त पार्ने अत्याचार स्वीकार गर्नेहरू त जिम्दा लाशहरू हुन् ।
‘इम्बोष्ड नम्बर प्रयोगबाट’ सवारी दुर्घटना हट्छ, घट्छ र सवारी सम्बन्धी सबै समस्याहरू समाधान हुन्छ भन्ने कपोलकल्पित, झुट र भ्रम फैलाएर तथाकथित भाषा-माफिया, तस्कर र वेइमानहरूले आम नागरिकहरूलाई असंवैधानिक कार्य गर्न गराउन बाध्य र विवश बनाइराखेका छन् । यो सरासर दण्डनीय अपराध र अन्याय हो । नम्बर प्लेट प्रयोगले सवारी दुर्घटना घटाउने र बढाउने हुँदैहैन । सवारी साधनको अवस्था न्यून गर्न सक्ने वस्तुगत र विज्ञानसम्मत वास्तविकता सडकको अवस्थाले हो । यो असंवैधानिक ‘इम्बोष्ड नम्बर प्रयोग’ बाट नेपालका ट्राफिकहरू मात्र नभएर नेपाली सेना, सशस्त्र बल, जनपद प्रहरी, गुप्तचर निकाय, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश लगायत सार्वभौमसत्तासम्पन्न सम्पूर्ण नागरिकहरूको गोपनीयताको अस्तित्व, महत्व एवम् भाषिक अधिकारलाई यो कोरोनारूपी ‘इम्बोष्ड नम्बर प्लेटले समाप्त पार्ने निश्चित छ । यो असंवैधानिक अत्याचार नेपाल र नेपालीहरूमाथि गरिएको विषाक्त हमला नै हो । यो पीडादायी विषाक्त अत्याचार त्याज्य छ, त्याग्नैपर्दछ ।
देशभन्दामाथि कोही पनि छैन । मूर्खतापूर्ण पदीय दम्भ र दुर्भावना कसैले नदेखाए हुन्छ । देश छ र आज सबै उच्च पदहरू छन् र पदीय सैसेलो गर्ने अवसर प्राप्त भएको छ भन्ने वस्तुगत वास्तविकता सबैले राम्रोसँग बुझ्दा हुन्छ । यो असंवैधानिक ‘इम्बोष्ड नम्बरको पासो’ले देशको सार्वभौम अस्तित्वको छातीमा निर्ममतापूर्वक छुरा प्रहार भएकै हो । कुनै पनि जिम्दा नेपालीले यो असंवैधानिक अत्याचारलाई स्वीकार र समर्थन गर्ने छैनन् र गर्न हुँदैहुँदैन । आफ्नै भाषाको देवनागरी लिपि र वर्णाक्षरहरू समाप्त पार्ने र आफ्नै गोपनीयताको हक समाप्त पार्ने अत्याचार स्वीकार गर्नेहरू त जिम्दा लाशहरू हुन् । त्यस्ता जिम्दा लाशहरूको चिहानलाई समेत समयले थुक्ने छ, धिकार्ने निश्चित छ ।
आफ्नो संविधानले किटानी व्यवस्था गरेको, भारतको संविधानले समेत मान्यता दिएको, नेपालसरहदभित्र बसोबास गर्ने सर्वाभौमसत्तासम्पन्न नेपाली र संसारका अन्य विभिन्न भूभागमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरूको नैसर्गिक भाषिक अधिकारमाथि धावा बोल्ने अत्याचारको साङ्लो हो यो असंवैधानिक ‘ईम्बोष्ड नम्बर प्लेट’ । हामीहरूलाई यसको कुनै जरूरी र आवश्यकता छैन, छँदैछैन । यास संसारकै भाषाहरूका लिपिहरूमथ्ये सबैभन्दा उत्कृष्ट, जेष्ठ, श्रेष्ठ र सर्वोन्नत देवनागरी लिपि र सम्पूर्ण रूपले वस्तुगत र विज्ञानसम्मत, ध्वनि विज्ञानसँग अभिन्न रूपमा तादाम्य भएका हाम्रा चौंसठ्ठी (६४) वटा वर्णाक्षरहरूलाई घात गर्न र देवनागरी लिपिमा आधारित भएका अंकहरूलाई समाप्त पार्ने विषाक्त अन्तर्य बोकेर आएको हाम्रो भाषा र गोपनीयताको हक हडप्न ल्याइएको यो असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ हाम्रा लागि कोरोना भाइरसभन्दा खतरनाक छ, यसलाई अनिवार्यतः त्याग्नै पर्दछ ।
प्रतिक्रिया