९ मंसिर २०७७, मंगलवार

ऐतिहासिक कीर्तिमानसँगै बक्सिङकी ‘महारानी’ बनिन् मीनु

  प्रकाशित मिति
२९ कार्तिक २०७७, शनिबार ०४:३०


■ श्रीविक्रम भण्डारी

सामान्य परिवार, कमजोर आर्थिक अवस्था, आकाशकै फल थियो खेलकुद । त्यसमाथि पढ्नुपर्छ, जागिर खानुपर्छ भन्ने प्रस्ट धारणा थियो बुबा देउप्रसाद गुरुङको । यस्तो जटिल परिस्थितिमा खेलाडी बन्ने चाहना राख्नु मुर्खता मात्रै हुन्थ्यो । तर, आमा प्रेममाया गुरुङको धारणा खेलकुदप्रति सकारात्मक थियो । विगतमा फुटबल र हक्कीको खेलाडी भएर होला प्रेममायाको लागि खेलकुद प्रिय थियो । आफूले खेलाडी भएर देखेको सपना आफ्नो सन्तानले पूरा गरिदिउन् भन्ने लाग्थ्यो । तर आरम्भमा खेलाडी बन्ने छनक कसैले देखाएनन्, पछि छोरा वीरबहादुरले कराते खेल्न थालेपछि घरमा खेलकुदको प्रवेश भयो ।

दाइले कराते खेल्दा मीनु गुरुङ पनि करातेप्रति आकर्षित भइन्, दाइसँग रामपुर डोजो भरतपुरमा प्रशिक्षण गर्न थालिन् । मीनु त्यतिबेला १३ वर्षकी थिइन् । ७ कक्षामा अध्ययन गर्दा कराते खेल्न थालेकी मीनुले कक्षा १० सम्म कराते खेल्दा स्वर्ण, रजत काश्यगरी थुप्रै पदक जितिन्, आफूलाई करातेको एक अब्बल खेलाडी सावित गरिन् । दुर्भाग्य, करातेमा सफलताले चुम्दै जाँदा पढाई उनको लागि बाधक बन्यो । उनी इच्छाविपरीत कराते छोड्न बाध्य भइन् । मीनुको प्रारम्भिक खेलकुद जीवनले यहीँ विट माऱ्यो ।

एसएलसी पास गरी कलेज जान थालेपछि मीनुले आफ्नो ध्यान पढाइमा मात्र केन्द्रीत गरिन् । सरसर्ती ‘प्लस टु’ पास गरेपछि जागिर खाने सोच बनाइन् । गुरुङकी छोरी ब्रिटिस लाहुरे’ हुने उनको सपना थियो । अझ पहिलो पटक महिलाहरूलाई पनि ‘ब्रिटिस लाहुरे’मा लिने भएपछि उनको खुशीको सीमा थिएन । साँचो अर्थमा भन्नुपर्दा मीनुको लागि यो अवसर ‘के खोज्छस् काना आँखा’ जस्तै थियो । यसरी मनमा ‘ब्रिटिस लाहुरे’ हुने सपना सँगाल्दै उनले ‘टाक्स फोर्स’ इन्स्टिच्युटमा एक वर्ष ट्रेनिङ समेत गरिन् । अन्तिम समयमा महिलालाई नलिने भनेपछि उनीमाथि ठूलो बज्रपात भयो । ब्रिटिस लाहुरे हुने सपना सपनामै सीमित भयो । त्यसपछि उनले नेपाल आर्मीमा जाने निर्णय गरिन् । ०६७ सालमा खुला रूपमा सिपाहीमा लडिन्, भाग्यले यहाँ साथ दियो, सिपाहीमा छनोट भइन् । यतिबेलासम्म मीनु सक्रिय खेलजीवनबाट टाढा भएको तीन वर्ष भइसकेको थियो ।

बाध्यताले खेलकुद क्षेत्र छोड्नु परे पनि मीनुको नसा–नसामा खेलकुद दौडिरहन्थ्यो । उनी खेलकुद क्षेत्रमा फर्किन उचित समयको पर्खाइमा थिइन् । त्यसमा ‘सेतु’को कार्य नेपाल आर्मीले ग¥यो । साँचो अर्थमा भन्नुपर्दा आर्मी ज्वाइन गरेपछि मीनुको भाग्योदय नै भयो । उनले आर्मीमा जागिर मात्र पाइनन्, एकादेशमा परिणत भैसकेको उनको खेलजीवनलाई पुनः निरन्तरता दिने र जीवन्त पार्ने अवसर समेत पाइन् । करातेको सेतो ड्रेस धुन अल्छी मान्ने मीनुले त्यसपछि बक्सिङमा आफ्नो भविष्य देखिन् । त्यतिबेला बक्सिङ महिला खेलाडीको लागि अवसर पनि थियो । मीनुलाई गेम चेञ्ज गराउन बक्सिङखेलाडी शिलु डंगोलले प्रेरणादायी भूमिका निभाइन् । त्यसपछि दुवै जना सैन्य तामिल केन्द्र त्रिशुलीमै ०६७ सालदेखि बक्सिङको प्रशिक्षण गर्न थाले ।

तालिमकै क्रममा आर्मीका गुरुलाई मीनु खेलाडी भएको जानकारी भैसकेकोले पासआउट भएपछि आर्मी क्लबमा तानियो । त्यसपछि त्रिभुवन आर्मी क्लबबाट बक्सिङको प्रशिक्षण गर्न थालिन् । म आर्मी क्लबबाट बक्सिङ खेल्ने पहिलो महिला बनेँ भन्छिन् मीनु । त्यतिबेला आर्मीमा देवेन्द्र ठकुरी, उद्धव खत्री, उमेश लामा प्रशिक्षण गराउँथे । मुख्य प्रशिक्षकमा मेजर सागरशम्सेर थापा हुनुहुन्थ्यो । मेजर थापाकै दूरदर्शिताका कारण आर्मीमा बक्सिङ मौलाएको मीनु ठोकुवा साथ भन्छिन् ।

मीनुले अगाडि भनिन्– ‘प्रशिक्षण गर्दा महिलाले पनि पुरुषसरि गर्नुपथ्र्यो । कुनै कुरामा माफी पाइँदैनथ्यो, प्रशिक्षण निकै कडा हुन्थ्यो । दिनमा तीन पटक प्रशिक्षण गर्नुपर्दा शुरुमा निकै गाह्रो भयो । अझ पूर्वाधारको कमी, किक ब्याग हान्न र स्पाइरिङ गर्न रङ्गशाला जानुपर्ने बाध्यता आफैमा चुनौती थिए । यस्तो विषम परिस्थितिमा गुरुहरूले जुन हिम्मत दिँदै खेल्नको लागि प्रेरित गर्नुभयो त्यो आफैमा प्रशंसनीय छ । अन्यथा बक्सिङ खेलाडीले लगाएको ड्रेस मन पराएकै भरमा बक्सिङमा होमिएकी खेलाडी यहाँसम्म कदापि पुग्न सक्तैन ।’ त्यसले मेरो खेलजीवनमा धेरै अर्थ राखेको छ ।

तीन महिनाको बक्सिङ प्रशिक्षणपछि पहिलो पटक २०६८ सालमा खुला महिला बक्सिङमा प्रतिस्पर्धा गर्ने अवसर पाइन् मीनुले । नौलो खेल, चञ्चल थियो मन । यस्तोमा पहिलो पटक बक्सिङको रिङमा उत्रिनु आफैमा ठूलो चुनौती थियो । अझ अनुभव र आत्मविश्वासको कमीले कुनै सुरताल भेट्टाउन सकेकी थिइनन् उनले । खाली एउटै कुराले सताइरहेको थियो, कस्तो प्रदर्शन हुने भनेर । मनमा सन्त्रास थियो, तर पनि उनले आँट जुुटाउँदै रिङमा उत्रिइनन् । सोचेको भन्दा राम्रो प्रदर्शन पनि गरिन् । पहिलो भीडन्तमै मेडल टच गर्दैै काँश्य पदक जितिन् । गुरुहरूले पनि स्यावासी दिँदै प्रशंसा गरे, एक–दुई वर्षमा राम्रो खेलाडी बन्ने ठोकुवा गरे । त्यसपछि हौसिएकी मीनुले सोही साल रजत पदक जित्दै बक्सिङको उदीयमान खेलाडीको रुपमा देखा परिन् । भीडन्त गरेका दुवै प्रतिस्पर्धामा सफलता प्राप्त गरेपछि मीनुको आत्मविश्वास निकै बढ्यो । आगामी भीडन्तमा स्वर्ण जित्ने लक्ष्य बनाइन् ।

२०६९ साल मीनुको लागि बहार बनेर आयो । लैनचोरमा आयोजना भएको ह्याप्पीडेन्ड खुला बक्सिङ प्रतियोगिता मीनुको भाग्योदय बन्यो । साँचो अर्थमा भन्नुपर्दा उनले गरेको मेहनतले यो प्रतियोगितामा रङ्ग देखायो । जुनसपना देख्थिन् त्यो उनले विपनामै पाइन् । पहिलो पटक बक्सिङमा स्वर्ण जित्दै राष्ट्रिय खेलाडीको पगरी गुथिन् । त्यसपछि राष्ट्रिय स्तरमा भएका प्रतिस्पर्धामा मीनुले एकछत्र राज गरिन्, जुन यद्यपि जारी छ । आफ्नो खेलजीवनको टर्निङ प्वाइन्ट रहेको यो प्रतियोगिता अहिले पनि मीनुको मानसपटलमा ताजै छ । उनी यसलाई अन्य सफलतासँग दाँज्न चाहन्नन् । उनले यो सफलतालाई अहिले पनि शीर्ष स्थानमा राखेकी छिन् ।

प्रायः ५४ केजीमा खेल्ने मीनुले कहिलेकाहीँ फरक तौल समुहमा पनि भीडन्त गरेकी छिन् । जुनसुकै तौल समूहमा भीडन्त गरे पनि उनी त्यहाँ अब्वल रहिन् । उनलाई चुनौती दिने कुनै खेलाडी देखिएनन् । ०७१ सालमा झापामा आयोजना भएको खुला बक्सिङमा ५४ केजीमा प्रतिस्पर्धा गरेकी मीनुले राखेपले आयोजना गरेको लुम्बिनी च्याम्पियनसीपमा ५१ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् । यी प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएपछि मीनु इन्चोन एसियाडको लागि छनोट भइन् । पछि पुनः एसियाडको लागि भएको अन्तिम छनोट खेलमा ५१ केजीतर्फ उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक एसियाडको यात्रा तय गरिन् । ओलम्पिकपछिको दोश्रो ठूलो खेल एसियाडमा छनोट हुँदा मख्ख थिइन् मीनु । तर पदक जित्ने चुनौती ‘आइरन गेट’भन्दा कम थिएन । अझ अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवको कमीले उनलाई पिरोलिराखेको थियो । यस्तोमा इन्चोन एसियाडका लागि थाइल्याण्डमा राखिएको एकमहिने वैदेशिक प्रशिक्षणले राहतको कार्य ग¥यो । कोरा खेलाडीलाई केही टेक्नीकहरू सिक्ने अवसर प्राप्त भयो । मीनुले थाइल्याण्डको प्रशिक्षणका क्रममा विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर नपाए पनि भियतनाम, मलेसिया र थाइल्याण्डका खेलाडीसँग स्पाइरिङ भने गर्न पाइन् । साँचो अर्थमा भन्नुपर्दा यही स्पाइरिङ उनको पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव बन्यो ।

राष्ट्रिय प्रतियोगिता, दक्षिण एसियाली प्रतियोगिता (साग) को अनुभवविना नै मीनु एसियाड उत्रिएकी थिइन् । एसियाडको माहोल आफैमा सनसनीपूर्ण थियो । त्यो उनको लागि अत्यासलाग्दो खालको थियो, किनकि यो भन्दाअघि उनले यस्तो महोलको सामना नै गर्नु परेको थिएन । सयौँ विदेशी खेलाडीहरूको उपस्थिति देख्दा उनी अत्तालिएकी थिइन् । कस्तो ठाउँमा आइपुगेँ भनी कल्पना गर्न गाह्रो भएको थियो उनलाई । मीनुकै शब्दमा भन्नुपर्दा ‘मलाई माहोल नै अर्कै लाग्यो, दिमाग ब्ल्याङ्क भयो, कहाँ पुगेँ थाहा भएन ।’ पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता त्यसमाथि एसियाड, मुटुको ढुकढुकी बढिरहेको थियो, हात खुट्टा शरीर काँपिरहेका थिए, दिमागले काम गर्न छोडेको थियो ।

तैपनि आँट जुटाएर मीनु बक्सिङ रिङमा उत्रिइन् । प्रतिष्पर्धा मंगोलियन खेलाडीसँग थियो, मीनुले पनि गोर्खाली भएर भीडन्त गरिन् र तीन राउण्डसम्म भीडेर झिनो अन्तरले मात्र पराजित भइन् । यस्तो उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक मात्र नभइ स्वयम् मीनु पनि आश्चर्यचकित परिन् । त्यस्तो सन्त्रासको मानसिकतामा रिङमा उत्रिएकी उनले आफूले यस्तो प्रदर्शन गर्ने कल्पना समेत गरेकी थिइनन् । यसरी पहिलो राउण्डमै पराजित भए पनि उनी खुशी थिइन्, यसर्थमा कि यो सहभागितासँगै उनले नयाँ अनुभव बटुल्न पाएकी थिइन् । अन्य प्रतिस्पर्धाको लागि हौसला बुलन्द भयो, आफूलाई माझ्ने अवसर पाइन् । साँचो रूपमा भन्नुपर्दा एसियाडको सहभागिता उनको लागि ठूलो उपलब्धि बन्यो ।

राष्ट्रिय स्तरमा पूर्ण रूपमा धाक जमाएपछि मीनुबाट साग गेममा पदकको आशा गर्नु स्वभाविकै थियो । १२औँ सागको छनोट खेलमा मीनुले गरेको उत्कृष्ट प्रदर्शनले पनि उनलाई सम्भावित पदककोे दाबेदारको रुपमा हेरिएको थियो । अझ एसियन गेमको अनुभवले उनको आत्मबल निकै बढेको थियो । यस्तो स्थितिमा मीनुले ‘मेडल टच’ गर्ने लक्ष्य राख्नु स्वभाविकै थियो । सकारात्मक सोच र दरिलो मानसिकता साथ रिङमा उत्रिएकी मीनुले पहिलो भीडन्तमा पाकिस्तानकी खेलाडीलाई पराजित गरिन् । तर दुर्भाग्य ! सेमिफाइनलमा उनी श्रीलंकाकी खेलाडीसँग झिनो अन्तरले पराजित भइ काश्य पदकमा खुम्चिन पुगिन् । तैपनि उनको शीर गर्वले उचो थियो, अत्यन्त खुशी थिइन्, किनकि उनले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जितेकी थिइन् । खेलपछि प्रशिक्षकहरूले पनि सकारात्मक प्रतिक्रिया दिँदा अझ राम्रो गर्ने आत्मबल प्राप्त भएको मीनुको कथन छ । त्यसपछि गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङ र प्रकाश दाहाल स्मृति खुला बक्सिङ खेलेकी मीनुले यी दुवै प्रतियोगितामा स्वर्ण जितिन् ।

बक्सिङमा मीनुको ग्राफ आकासिँदै थियो, त्यसैबेला उनलाई आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने साइत जु¥यो । आठौँमा ५४ केजीमा प्रतिस्पर्धा गरेकी मीनुले तीनजना खेलाडीलाई धुलो चटाउँदा स्वर्ण जितिन् । साथै छैठौँ र सातौँ राष्ट्रिय खेलकुद खेल्न नपाएको रिस पनि पोखिन् । स्मरणीय छ, छैठौँमा आर्मीले सहभागिता दिएको थिएन भने सातौँमा सेन्टर अफ्रिकामा मिसनमा गएका कारण मीनु खेल्नबाट वञ्चित हुनुप¥यो । त्यसको केही समयपश्चात चीनको वुहानमा भएको सातौँ मिलटरी वल्र्ड च्याम्पियनमा प्रतिस्पर्धा गरेकी मीनुले राम्रो प्रदर्शन गरे पनि पदक जित्नबाट भने बञ्चित भइन् । मीनु भन्छिन्– ‘पदक जित्ने आशा गरेकी थिएँ, राम्रो प्रदर्शन पनि गरेँ तर भाग्यले साथ दिएन, साह्रै चित्त दुःख्यो, तर त्यसको अनुभवको लाभ १३औँ सागमा उठाउन पाएँ ।’

मीनुले १३औँ सागमा त्यस्तो ऐतिहासिक कीर्तिमान कायम गरिन् जुन अपत्यारिलो थियो । सागमा मीनुले स्वर्ण जितेको त्यो दिन नेपाली बक्सिङ खेलको इतिहासमा चार चाँद लाग्यो । यसर्थमा कि, सागमा बक्सिङमा महिलातर्फ मीनुले पहिलो स्वर्ण जितेकी थिइन् । उनको यो ऐतिहासिक सफलतासँगै मीनुको मात्र नभै बक्सिङ खेलको इतिहासमा पनि एउटा गौरवमय पाना थपिएको थियो । मीनुले यस्तो उपलब्धि बंगलादेश र भारतकी खेलाडीलाई पराजित गरेर हासिल गरेकी थिइन् ।

यसबारे वर्णन गर्दा मीनुको खुशी यसरी छचल्कियो– ‘ट्रेनिङ राम्रो भएकोले स्वर्णपदकको आशा गरेकी थिएँ । पहिलो खेलमा बंगलादेशकी खेलाडीलाई पराजित गरेपछि निकै आत्मविश्वास बढ्यो । तर फाइनलमा भारतीय खेलाडीसँगको भीडन्तको सन्त्रासले सशंकित थिएँ । त्यसैले पहिलो राउण्ड डिफेन्स खेलेँ, दोश्रो र तेस्रो राउण्डमा आक्रमक रूपमा प्रस्तुत भएँ । रिङमा रेफ्रीले हात नउठाउँदासम्म मलाई जितेको अनुभव थिएन, जब रेफ्रीले मेरो हात उठाएर विजयी घोषित गरे त्यसपछि मात्र जितेको थाहा पाएँ । यसरी राष्ट्रको लागि स्वर्ण पदक जित्दा ज्यादै खुशी लाग्यो । मलाई राष्ट्रले जुन विश्वास गरेको थियो त्यसमा खरो उत्रिन पाउँदा गौरवको अनुभुति गरेँ । अझ साग गेममा ऐतिहासिक कीर्तिमान गरेको थाहा पाउँदा निकै आनन्द आयो । मैले स्वर्णपदक जित्ने लक्ष्य राखे पनि कीर्तिमानको कुरा मलाई केही थाहा थिएन, जुन कुरा मैले गेम सकिएपछि मात्रै जानकारी पाएकी हुँ । मेरो सपना थियो साग गेममा स्वर्ण जितेर नेपालको झण्डा फहराउने । त्यो दिन कहिले आउला म त्यसको प्रतीक्षामा थिएँ । मलाई पनि राष्ट्रिय धुनसँगै नेपालको झण्डा सबैभन्दा माथि फहराउन रहर थियो । साँच्चै त्यो मेरो खेल जीवनको सबैभन्दा लोभलाग्दो पक्ष थियो । भाग्यले साथ दियो, अहिले मेरो सपना सार्थक भएको छ । त्यसको लागि म त्रिभुवन आर्मी क्लब, नेपाल बक्सिङ संघ, गुरुहरू र शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूकै शुभेच्छाकै कारण आज म यो स्थानमा पुग्न सफल भएकी हुँ ।

यसरी बक्सिङको महिलातर्फ स्वर्ण जितेर रातारात चर्चाको शिखरमा पुगेकी मीनु यसको सारा क्रेडिट आफ्नी आमालाई दिन्छिन् । आमाको अपुरो सपनालाई पूरा गर्न आफू खेलाडी बनेको खुलासा गर्ने उनी यतिबेला खुशीले गदगद छिन् । कराते खेलेर घाइते हुँदा त्यतिबेला बाबाले आमासँग भनेको वाक्य अहिले पनि उनको मानसपटलमा ताजै छ । उनका बाबाले भनेका थिए– ‘छोरीलाई अपाङ्ग बनाएर घरमै राख्ने विचार छ होइन ?’ यतिबेला आमाले ‘यो मेरो छोरी होइन छोरा हो, यसले मेरो सपना पूरा गर्छ’ भनेर जवाफ फर्काएको क्षण उनी बिर्सन सक्दिनन् ।

यतिबेला आगामी वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलको छनोटको तयारीमा जुटेकी मीनु ओलम्पिकको टीकट काट्ने दाउमा छिन् । त्यसको लागि उनी अहिले आर्मी क्लबमा आन्तरिक रूपमा प्रशिक्षण गरिरहेकी छिन् । उनको प्रशिक्षणको लागि आर्मीले कोचको पनि व्यवस्था गरिदिएको छ । खेलाडी भैसकेपछि सबैको सपना हुन्छ ओलम्पिक खेल्ने, म पनि ओलम्पिकमा प्रतिस्पर्धा गर्न चाहन्छु । त्यसको लागि अहिले निरन्तर प्रशिक्षणमा छु, भाग्यले साथ दियो भने आउँदो वर्ष ओलम्पिक पनि खेल्न सक्छु । मेरो भविष्यको योजना, लक्ष्य जे भने पनि अहिलेको भन्दा राम्रो गर्ने हो, यो भन्दा माथिको उचाई छुने हो । एसियाली खेलकुदमा पदक जित्दै ओलम्पिकसम्म पुग्ने हो । मेरो ध्यान अहिले यिनै कुरामा केन्द्रीत छ ।

प्रेम प्रसङ्गको चर्चा गर्दा अहिलेसम्म आफूले मनले चाहेको व्यक्ति नभेटेको मीनुले खुलासा गरिन् । ‘मन पराउने त धेरै छन् तर मैले सबैलाई पन्छाउँदै आएकी छु । स्कुल, कलेजदेखि अहिलेसम्म प्रेम प्रस्ताव राख्ने धेरै छन् तर भित्री मनदेखि मन पराउने भेटेको छैन । अर्को कुरा खेलुन्जेल र आफ्नो लक्ष्यमा नपुगुन्जेल जतिसुकै प्रेम प्रस्ताव आए पनि ‘नो’ भन्छु । विवाह त गर्ने हो, (हाँस्दै) कोही त जन्मिएको होला नि मेरो लागि पनि !’ आफ्नो विवाह खेलकुद क्षेत्र वा बाहिरको जुनसुकै ब्यक्तिसँग पनि हुन सक्ने भन्दै उनले तर म र खेलकुदलाई बुझेको व्यक्ति चाहिँ हुनुपर्ने शर्त राखिन् । उनले थप भनिन्– विवाहचाहिँ म आफ्नै जातको केटासँग गर्ने हो, योचाहिँ प्रस्ट कुरा हो ।

वर्तमान नेपाली खेलकुदको अवस्थाबारे मीनुको धारणा सकारात्मक छ । उनले भोगेको र देखेको नेपाली खेलकुदमा पहिलेको भन्दा अहिले निकै सुधार भएको छ । अन्तर्राष्ट्रिय स्तरको नभए पनि नेपाल सुहाउँदो भएको मीनुको दाबी छ । खेलकुदमा आउन चाहने जो–कोहीले खेलकुदलाई सौखको रूपमा नभई आफ्नो लक्ष्य बनाएर आउनुपर्ने मीनुको सुझाव छ । खेलकुदमा आफ्नो करियर बनाउने हो भने खेलकुदलाई गम्भिरतापूर्वक लिँदै जस्तोसुकै बाधा अडचन आए पनि लड्न र टिक्न सक्नुपर्छ । यसमा समर्थन गर्दै मिनुले एक वाक्यमा भनिन्– ‘मनदेखि लाग्यो भने थुप्रै गर्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले कोभिड-१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको

म्याग्दी (नेपाल)की १८ वर्षीया सपना रोका मगर विश्वका प्रभावशाली सय महिलाहरूको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको २०२० का

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित

प्रधानमन्त्री र देउवाबीचको भेटमा सत्ता साझेदारीको नभई संवैधानिक नियुक्तिबारे छलफल भएको खुलासा सत्तारुढ नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाको