करोड लागतका सुविधासम्पन्न बस सञ्चालनमा

करोड लागतका सुविधासम्पन्न बस सञ्चालनमा


पुनहरि बेल्बासे, भैरहवा

सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. भैरहवाले करोड मूल्यका सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ । लुम्बिनीदेखि भैरहवा, बुटवल हुँदै काठमाडौं पुग्ने सनलाइनर र मोहित नामका बस सञ्चालनमा आएका हुन् । सनलाइनरका दुई वटा र मोहितका पनि दुई वटा गाडी रहेका छन् ।

प्रत्येक गाडीमा करिव एक करोड लागत परेको सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष सञ्जिव रोक्काले जानकारी दिए । यात्रुहरुलाई सुविधासम्पन्न बसबाट यात्रा गराउने उद्देश्यले उक्त बसहरु भित्राइएको बताउँदै यी गाडीमा यात्रा गर्दा सामाजिक दूरी कायम हुनुका साथै महिलामैत्री सिट हुनु यसको अर्को विशेषता रहेको रोक्काको भनाइ छ । ठूलो गाडी भए पनि महामारीका रुपमा फैलिएको कोभिड १९ लाई लक्षित गरि सामाजिक दुरी कायम गरेर सिटको व्यवस्था मिलाउँदा जम्मा ३० सिट मात्रै बसमा रहेको छ ।

यो बस चढ्ने यात्रुले लुम्बिनीदेखि काठमाडौंसम्मको भाडा एक हजार तिर्नु पर्नेछ । महामारीका बेला गाडि जहाँ पायो त्यही रोकी खाना तथा खाजा खुवाउँदा असुरक्षित हुने भएकोले एक हजार भाडा लिएवापत नास्ता, पानी, ५० एमएल को सेनिटाइजर, हाते पञ्जा र माक्स निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । गाडीमा सामाजिक दूरी कायम गरी फेमिली सिट र महिला सिट गरी दुई प्रकारका सिटको व्यवस्था मिलाइएको छ । गाडी बेलुका ७ बजे लुम्बिनीबाट छुट्ने छ । ८ बजे भैरहवाबाट र ९ बजे बुटवलबाट छुटी भोलिपल्ट बिहान काठमाडौं पुग्ने बताइएको छ ।