अष्ट्रेलियामा बन्यो आमा-छोरीको सम्बन्धबारे गीत

अष्ट्रेलियामा बन्यो आमा-छोरीको सम्बन्धबारे गीत



■ राजन घिमिरे


इन्डोनेसियन आमा तथा नेपाली बाबु विभोद डोटेलकी छोरी आइशा डोटेलले गत वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली भाषा बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली…’ बोलमा ।

वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुबालाई सरप्राइज दिन गाएकी थिइन्, तर गीतले नेपाली संगीतकर्मीहरूसहित दर्शक तथा स्रोतालाई नै आश्चर्यमा पारिदियो । १५ वर्षीया गायिका आइशाको चौतर्फी प्रसंशा भयो । उक्त गीतका शब्द अष्ट्रेलियामै बसोबास गर्ने प्रगति देवकोटा न्यौपानेले रचना गरेकी थिइन् भने संगीत दिएका थिए प्रगती, आइशा र प्रशान्तले । यस्तै, भिडियो बनाएका थिए सञ्चारकर्मी दीपेश श्रेष्ठले । उक्त गीतको भिडियो यूट्युबमा झण्डै पाँच लाख पटक हेरिएको छ ।

आइशा डोटेल, प्रगति देवकोटा न्यौपाने तथा दीपेश श्रेष्ठसहितको सोही समुहले यतिबेला अष्ट्रेलियाबाटै एउटा नयाँ गीत यूट्युबमार्फत सार्वजनिक गरेको छ । यसपटक पनि यो समुहले सांगीतिक क्षेत्रमा केही सरप्राइज दिएको अनुभव गरिएको छ । यसपटक पनि प्रगतिकै शब्दमा आइशा डोटेल र प्रमिला राईले एउटा गीत गाएका छन्- ‘लिसन टु मी’ बोलमा । यो गीतलाई संगीतकर्मी सञ्जीव सिंहले संगीतबद्ध गरेका हुन् भने दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन् । दीपेश श्रेष्ठले भिडियो निर्देशन गर्नुका साथै भिडियोको छायाङ्कन तथा सम्पादन पनि उनैले गरेका छन् । भिडियोमा विशेष शेरचनको सह-निर्देशन छ ।

गीतकार देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ । आमा-छोरीको हरेक दिनका क्रियाकलाप गीतमा चित्रण गरिएका छन् । हरेक आमा आफ्ना किशोरी छोरीहरुप्रति चिन्तित भएजस्तै यो गीतमा पनि एउटी आमा उनकी छोरीप्रति चिन्तित छिन् । छोरीले गलत बाटो नसमातुन् भन्ने कुरामा आमा चिन्तित छिन् । आमा चाहन्छिन्- उनकी छोरीले उनका कुरा सुनुन् , सधैं सुरक्षित रहुन् तथा उज्वल भविष्यतर्फ अग्रसर हुन् । जबकि, छोरी आफैं स्वतन्त्र, आत्मनिर्भर तथा रमाइलो गर्न चाहन्छिन् ।

हुन पनि गीतमा चित्रित गरिएकी छोरी आत्मविश्वासले भरिएकी छिन्, आफ्नो बारेमा आफैं सोच्न सक्ने भएकी छिन् । आमाले आवश्यकताभन्दा बढी नै चिन्ता गरेको छोरीको बुझाइ छ । समग्रमा उक्त गीतले यही कुरा व्यक्त गर्दछ ।

विगत १६ वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार प्रगती देवकोटा न्यौपाने गायिका आइशाकी काकी हुन् । वेस्टर्न सिड्नी यूनिभर्सिटी तथा यूनिभर्सिटी अफ सनसाइन कोस्टमा अध्यापन गर्दै आएकी प्रगती महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी हुन् । उनका हजुरबुबा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन् ।

आइशालाई नेपाली गीत गाउन प्रेरित गर्ने प्रगति नै हुन् । एक वर्षअघि प्रगति र आइशाको परिवार क्याम्पिङ गएका थिए । त्यही बेला आइशाले अंग्रेजी गीत गाइन् । आइशाको गायनबाट प्रभावित प्रगतिले आफ्नी छोरीलाई संगीत सिकाइदिन अनुरोध गरिन् । नेपालमा हुँदा प्रगति गीत तथा कविता रचना गर्थिन् । छोरीलाई संगीत सिकाउन थालेकी आइशालाई उनले आफूले लेखेको नेपाली गीत अभ्यास गराउन थालिन् ।

‘नेपाली भाषा सिकेर बुबालाई सरप्राइज दिने भन्दै आइशाले प्रशस्त मिहिनेत गरेर नेपाल उच्चारण गर्न सिकिन्, गीत नै गाउन सिकिन्’, आइशा गायिका बन्नुपछाडिको प्रसङ्ग कोट्याउँदै भनिन् प्रगतिले । भिडियोका निर्देशक दीपेश श्रेष्ठ भन्छन्- ‘जब मलाई प्रगतिले यो गीतको कन्सेप्ट सुनाइन्, मेरो मन एकदमै छोयो । सायद आफू पनि एक अभिभावक भएकाले होला । अचेल दुई पुस्ताबीचको दूरी केही बढेको होकि जस्तो लाग्छ ।’

‘हामी परदेशीहरूको धेरै समस्यामध्ये एउटा ठूलो समस्या आफ्ना बच्चालाई नेपाली भाषा सिकाउनु पनि हो । आमा-छोरीबीचको संवादलाई गीतमार्फत अहिलेको पुस्तालाई पनि मनपर्ने खालको बनाउनु एउटा चुनौती नै थियो । त्यति मात्र होइन, नेपाली संगीतमा एउटा नौलो प्रयोग गर्ने रहर पनि थियो । प्रगतिले शब्द कोर्दै गइन्, आफैं पनि छोरीकी आमा भएकाले होला उनले आफ्नो मनको बह शब्दमा उतार्दा निकै लामो भएको थियो । शब्दको खाका तयार पारेर संगीतकार सञ्जीव सिंहलाई संगीत भर्नका लागि दिने दिने निर्णय भयो । गीत अलिक लामो भएकाले प्रगतिले धेरै पटक पुनर्लेखन गरेर छोटो पारिन्, सञ्जीवले मीठो धुन तयार पारे । गायिका प्रमिला राई र आइसाले धेरै मेहनत गरेर गाएका छन्’- दीपेशले वृस्तितमा बताए ।