माला सिन्हा : हिन्दी प्यासादेखि नेपाली माइतीघरसम्म

माला सिन्हा : हिन्दी प्यासादेखि नेपाली माइतीघरसम्म



■ राजन घिमिरे

भारतीय चलचित्र उद्योगको यात्रामा वाह गर्न लायक र सबैकी प्रिय अभिनेत्री हुन् माला सिन्हा । मालाको जन्म आजैको दिन अर्थात् ११ नोभेम्बर सन् १९३६ मा भएको हो । सन् १९५० देखि ७० दशकसम्म मालाले लिड हिरोइनको रूपमा भारतीय चलचित्र उद्योगमा आफ्नो वर्चश्व कायम राखिन् । कुनैबेला मालाका साथीहरू मालाको अनुहार भारतीय चलचित्रकी महशुर अभिनेत्री नरगिससँग मिल्छ भनेर मालालाई उक्साहट गराउने गर्दथे भन्ने कुरा पनि नआएको होइन , त्यसो त, साथीहरूको यस्तो प्रतिक्रिया आएपछि माला पनि फुरूङ हुँदै ऐना हेरेर दङ्ग पर्ने गर्दथिन भन्ने चर्चा पनि चल्ने गर्दथ्यो ।

मल्टी ट्यालेन्टेड माला सिन्हा राम्री गायिका पनि हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । उनी कलाकारिताको शुरूका दिनमा अल इण्डिया रेडियोमा गीत पनि गाउने गर्दथिन् । तर, जिन्दगीको यात्रामा उनलाई एउटा ठोस निर्णय गर्नुपर्ने भयो, कि गायन कि त अभिनय , यी दुइमध्ये एक छोड्नु पर्ने भएपछिमालाले गायन बिधा छाडेर अभिनय यात्रालाई निरन्तरता दिइन् ।

मालाको अभिनय यात्रा उनले अध्ययन गरेको बिध्यालयबाटै शुरू भएको हो । एकातिर मालाको कलकत्तामा राम्रै नाम भैरहेको थियो भने अर्कों तर्फ मुम्बईको चलचित्र उद्योग मालालाई पुकारीरहेको थियो । एक बंगाली चलचित्रको कलकत्तामा छायांकन भैरहँदा त्यसै चलचित्रको छायांकनको क्रममा मालालाई कलकत्ताबाट मुम्बई आउनु परेको थियो ।मुम्बई आएकै समयमा मालाको चर्चित भारतीय चलचित्र निर्देशकसंग जम्का भेट भयो । उनि थिए चर्चित भारतीय चलचित्र निर्देशक केदार शर्मा । यही भेटपछी मालाको फिल्मी करिएरले कोल्टो फेरेको थियो ।फिल्मी करिएरमा जे जस्तो उतारचढावहरू आए ता पनि माला सिन्हाको भारतीय चलचित्र क्षेत्रमा पृथक र बिशिष्ठ पहिचान अनि उपस्थिति रहिनै रह्यो ।

शुरूमा भारतीय चलचित्र उद्योग माला सिन्हालाई त्यति फापेन । एकपछि अर्कों फिल्महरु असफल हुँदै गए, तर पनि मालाले हार खाइनन् । यही कलाकारिताको यात्रामा मालाको जिबनमा यस्तो फिल्म हात पर्यो कि, त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । त्यो फिल्म थियो लिजेण्ट निर्देशक गुरूदत्तको ‘प्यासा’ ।

प्यासामा मालाले निभाएको भूमिकाले यस्तो चर्चा र ख्याती कमायो कि उनि रातारात हिट भइन् । प्यासाको सफलतापछी मालाको हातमा अर्कों हिट चलचित्र पर्यो ‘ फिर शुभ होगी ‘ । यो चलचित्रमा मालाले निभाएको भूमिका गजबकै थियो । यही चलचित्रबाट उनले चौतर्फी प्रशंसा हात पारिन् । हिन्दी चलचित्रका दिग्गज निर्देशक एस चोपडाले निर्देशन गरेको पहिलो चलचित्रकी हिरोइन थिइन माला सिन्हा । मालालाई लिएर चोपडाले बनाएको चलचित्र धूलका फूलले बक्स अफिसमा तहल्का मच्चाएपछी एस चोपडासंगै मालाको फिल्मी यात्रा पनि कायापलट भयो ।

माला सिन्हाले कलाकारिताको यात्रामा दिग्गज कलाकारहरूसंग काम गर्ने अबसर पाईन ।राज कपूर, किशोर कुमारदेखि देबानन्दहुँदै शम्मी कपूरसम्म मालाले काम गरिन् । माला सिन्हा यस्ती कलाकार थिइन कि उनलाई जुनिएर कलाकारसंग काम गर्न कुनै पनि अफ्ठेरो हुंदैनथ्यो । उनि भन्ने गर्थिन(‘ पहिला जो पनि जुनिएर हुन्छ । म पनि पहिला जुनिएर थिए । सबै पछि सिनिएर हुने हो । मालालाई उनको यस्तै सोच र अभिव्यक्तिले नै आज पनि कलाकारिताको फाँटमा मालाको नाम सम्मानले लिने गरिन्छ । मालाले आफ्नो फिल्मी यात्रामा तात्कालिक जुनिएर कलाकारहरू मनोजकुमार, धर्मेन्द्र, राजेश खन्ना, सुनील दत्त र जितेन्द्रसंग पनि काम गरेकी छन् । अमिताभ बच्चनसंग मालाले एउटै मात्र चलचित्रमा काम गरिन,त्यो हिन्दी चलचित्र हो ‘संजोग’ ।

सन् १९६६ मा माला सिन्हा नेपाल आएकी थिइन् । ।नेपाल आएर उनले अभिनय गरेको पहिलो नेपाली चलचित्र हो माइतीघर । यो चलचित्र निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र हो । मालाले माइतीघरमा काम मात्र गरिनन् कि,यो चलचित्रबाट जिबनसाथी पनि पाईन । यही चलचित्रमा काम गर्दा गर्दै यसै चलचित्रका नायक सिपी लोहनीसँग प्रेम विवाह गरिन मालाले । बैबाहिक जिबनले पनि मालाको कलाकारितामा कतै ब्रेक लागेन । उनले कलाकारितालाई निरन्तरता दिइ नै रहिन् ।

मालाले आफ्नी एक मात्र छोरी प्रतिभा सिन्हालाई पनि भारतीय चलचित्र उद्योगमा स्थापित गर्न निकै प्रमोट गरेकी हुन, तर प्रतिभाले आफ्नी आमा माला सिन्हा जस्तो कमाल देखाउन सकिनन् । हिन्दी चलचित्र उधोगमा माला सिन्हाले यस्तो छबि बनाएकी छिन कि,उनको नाम, काम, अभिनय र उचाई हेरेर आज पनि उनिबाट प्रेरणा लिने गरिन्छ ।