सर्वोच्चमा आफ्ना मान्छे घुसाउन आधि दर्जन व्यक्तिको प्रतिष्पर्धा

सर्वोच्चमा आफ्ना मान्छे घुसाउन आधि दर्जन व्यक्तिको प्रतिष्पर्धा



सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीश पदमा आफ्नो मानिसको चयन गर्न विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूको चलखेल शुरु भएको छ । सर्वोच्चमा गत वर्षको कात्तिकमा न्यायाधीश केदार चालिसेले र गत जेठमा डम्बरबहादुर शाहीले अवकाश प्राप्त गरेपछि दुई स्थान रिक्त हुन आएको हो । न्यायपरिषद्ले पूर्णता पाउने प्रक्रिया सम्पन्न भएपछि मङ्सिरको आखिरी या पौषको दोस्रो साताभित्र दुई न्यायाधीशहरूको चयन हुने प्रबल सम्भावना छ ।

न्यायिक निकायभित्रबाट दुवै पदपूर्ति गर्ने स्थिति भएमा उच्च अदालतका वरिष्ठतम् (क्रमाङ्कका आधारमा) न्यायाधीशहरू कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने अवसर प्राप्त हुनेछ । कुमार र नहकुललाई न्यायिक क्षेत्रभित्र राम्रो र योग्य मानिसका रूपमा लिइन्छ । कुमार चुडाल अहिले पाटन उच्च अदालतमा र नहकुल सुवेदी सुर्खेत उच्च अदालतको मूख्य न्यायाधीश पदमा सरुवा गरिनुभएको छ ।


सुशीला कार्की प्रधानन्यायाधीश भएको बेलादेखि न्यायिक नियुक्तिमा सिधा राजनीतिक हस्तक्षेप शुरु भएको हो । उहाँले न्यायपरिषद्का सदस्य समेतलाई छलेर मध्येरातमा दलका प्रतिनिधि (वर्षमान) लाई बैठकमा राखी असी जना न्यायाधीश नियुक्ति गर्ने कार्य सम्पन्न गर्नु भएको थियो । त्यसैले अबका नियुक्तिहरू पनि राजनीतिक भागबण्डाको आधारमा हुन सक्ने आशङ्का छ । यतिबेला न्यायिक निकाय सुवास नेम्वाङ्ग र अग्नी खरेलको कब्जामा परेको विश्वास गरिन्छ । नेम्वाङ र खरेलको इच्छाविपरीत न्यायाधीशहरूको सरुवा, बढुवा र नियुक्तिसमेत हुने अवस्था नरहेको बताइन्छ ।


सर्वोच्चको न्यायाधीश बनाउन सुवास र अग्नीले बलबहादुर राई, टेकप्रसाद ढुंगाना र नृपध्वज निरौलामध्ये दुईलाई चाहेका छन् । अग्नी र सुवासको गिरोहका मूख्य तीनमध्ये को दुई प्राथमिकतामा पर्ने हुन् यकीन भइसकेको छैन । प्रचण्डले पदम वैदिक र दीनबन्धु पोखरेललाई बोकेका छन् भने विष्णु रिमालचाहिँ जिफण्टका कानूनी सल्लाहकार रमेश बडाललाई न्यायाधीश बनाउन चाहन्छन् । माधवकुमार नेपालको चलेमा रुद्र नेपालले सर्वोच्चको न्यायाधीश बन्ने मौका पाउने छन् भने ईश्वर पोखरेलले रमेश पोखरेललाई बोकेका छन् ।


प्रधानमन्त्रीका अवैतनिक र फास्ट ट्रयाक परियोजनाका निम्ति नेपाली सेनाको वैतनिक परामर्शदाता रहेका बाबुराम दाहाल पनि सर्वोच्चमा छिर्ने प्रयास गर्दैछन् । ठेकेदार एशोसिएसनका सल्लाहकार रहिआएका दाहाललाई सर्वोच्चको न्यायाधीश बनाउन केही ठूला ठेकेदारहरूले पहल गरिरहेका बुझिएको छ । प्रधानमन्त्रीलाई प्रभावमा पारेर दाहाललाई न्यायाधीश बनाउने योजनमा ठेकेदारहरू रहेको बताइन्छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चाहिँ तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चमा पुऱ्याउन चाहेका छन् ।

न्याय र न्यायिक प्रक्रिया मरेको यो स्थितिमा आफ्नो मान्छेलाई न्यायाधीश बनाउन को सफल हुने हुन् त्यसको निश्चितता नभए पनि नेकपासम्वद्ध व्यक्ति नै सर्वोच्चको न्यायाधीश बन्नेचाहिँ निश्चित छ । न्यायपरिषद्को रिक्त सदस्य पदमा अग्नी-सुवास गिरोहको इच्छाविपरीत रामप्रसाद श्रेष्ठको नाम सिफारिश भएको छ । त्यसैले न्यायाधीश नियुक्तिमा सुवास र अग्नी पूरै सफल नहुने ठानिएको छ ।