धर्मनिरपेक्षता : हामी कस्तो अभ्यासमा छौँ ?

धर्मनिरपेक्षता : हामी कस्तो अभ्यासमा छौँ ?



■ बबिता बस्नेत


नेपालको संविधानको धारा ४ मा नेपाल ‘धर्मनिरपेक्ष राज्य हो’ भनिएको छ । स्पष्टिकरणमा लेखिएको छ, ‘यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।’ यसअघि २०४७ सालको संविधानमा ‘नेपाल हिन्दू अधिराज्य हो’ भनिएको थियो । नेपाल हिन्दूबाट धर्मनिरपेक्ष राज्यमा परिणत हुनुअघि र भएपछि मुलुकमा ‘धर्मनिरपेक्ष’ शब्दको अर्थ र मर्मका बारेमा जुन रूपमा चर्चा हुनुपर्ने हो त्यो भएको छैन । हाम्रोजस्तै धार्मिक आस्था, समान संस्कृति र धार्मिक विविधता भएको मुलुक भारतको संविधानमा धर्मनिरपेक्ष शब्द नराखी ‘पंथनिरपेक्ष’ शब्द राखिएको छ । अंग्रेजीमा प्रयोग गरिएको ‘सेकुलर’ शब्दलाई हिन्दीमा पंथनिरपेक्ष भनी अनुवाद गरिएको हो, जसलाई हामीले नेपालीमा ‘धर्मनिरपेक्ष’ भनेका छौँ ।

‘धर्मनिरपेक्ष’ धर्म र निरपेक्ष दुई वटा शब्द मिलेर बनेको छ । मनुस्मृतीमा धर्मको बारेमा ‘धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम ।।’ भनिएको छ । यसको अर्थ हुन्छ, धर्मका दस लक्षण छन्– धैर्य, क्षमा, संयम, चोरी नगर्नु, स्वच्छता, इन्द्रियहरूलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र क्रोध नगर्नु । ‘निरपेक्ष’को अर्थ मतलब नगर्नु या चासो नराख्नु या अलग हुनु भन्ने हुन्छ । यस अर्थमा ‘धर्म’ भन्ने कुरा निरपेक्ष हुन सक्दैन ।

भारतमा सन् १९७६ मा भएको संविधान संशोधनका क्रममा अंग्रेजीमा ‘सेकुलर’ शब्द राख्ने भएपछि हिन्दीमा के राख्ने भनेर विद्वान्हरूले धेरै दिमाग खियाएर ‘पंथ’ शब्दको प्रयोग गरेको विभिन्न दस्तावेजहरूमा उल्लेख छ । अंग्रेजी शब्द ‘रिलिजन’को अर्थ धर्म होइन पंथ हो भनेर त्यतिबेला बहस गरिएको थियो । ‘हिन्दु धर्म होइन जीवनपद्धति हो र पंथ पूजापद्धति हो’ भनी भारत कानपुरका प्राध्यापक डा. ए.के. बर्माले यी दुईबीचको भिन्नतालाई स्पष्ट गरेका छन् ।

डा. बर्माका अनुसार, पंथ या रिलिजनमा चार वटा प्रमुख विशेषता हुन्छन्, एउटा निश्चित ईश्वर हुन्छ, निश्चित धर्मग्रन्थ हुन्छ, पूजापद्धति हुन्छ र अन्तिम गन्तब्य हुन्छ । जस्तो, इश्लाम धर्ममा देवता या ईश्वर– पैगम्बर मोहम्मद, धर्मग्रन्थ– कुरान, पद्धति– नमाज पढ्ने, अन्तिम गन्तब्य– मक्का मदिना । इशाइ धर्ममा पनि यी चार कुरा निश्चित छन् । ईश्वर– जिसस क्राइष्ट, धर्मग्रन्थ– बाइबल, पद्धति– प्रार्थना, अन्तिम गन्तब्य– रोम । तर हिन्दू धर्ममा ईश्वर या भगवान् गनेर नसकिने छन्, धर्मग्रन्थ एउटा मात्र छैन, पद्धति अनेक छन् जो अपनाए पनि हुन्छ नअपनाए पनि हुन्छ । मन्दिर गए पनि भयो नगए पनि भयो । एक हातले दर्शन गरे भयो, दुई हात जोडे पनि भयो, निधार छोएरै ढोगे भयो, हेरेर मात्र फर्किए पनि भयो । हिन्दू धर्ममा भगवानको दर्शन र प्रार्थना गर्ने कुनै छुट्टै बार र समय छैन । पूजाका क्रममा आरती गरे पनि हुन्छ, फूल मात्रै चढाए पनि हुन्छ, पैसा, चामल, कपडा, जल जे चढाए पनि भयो नचढाए पनि भयो । त्यसैले हिन्दु पंथ होइन धर्म हो ।

ईश्वरले मानिस बनाएको हो कि मानिसले ईश्वर भन्ने बहस पनि चल्यो । ईश्वरले मानिस बनाएको हो भन्नेहरूले आफ्ना तर्क दिए । मानिसले ईश्वर बनाएकाले ईश्वरको परिकल्पना मानिसजस्तै गरे भन्नेहरू निस्किए ।

‘सेकुलर’ शब्द पश्चिमबाट आएको हो । पूर्वीय दर्शनमा भागवत गीताको पहिलो अध्याय नै ‘धर्म’ शब्दबाट सुरु भएको छ । प्रथम अध्यायमा धृतराष्ट्रले भनेका छन्- ‘धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः । मामका पाण्डवाश्चैव किमकुर्वत संजय ।।’ धर्म र स्वधर्मका बारेमा महाभारतमा कृष्णले अर्जुनलाई लामो समय खर्च गरेर सम्झाएका छन् । धर्म शब्द कुन अर्थमा प्रयोग भएको छ त्यसमा भर पर्छ । जस्तो, बलेन भने आगोले धर्म निभाउँदैन । पानीको धर्म तिर्खा मेटाउनु हो । पत्रकारको धर्म सही सूचना दिनु हो । न्यायधीशको धर्म न्याय दिलाउनु हो । राजधर्मको अर्थ राजाले निर्वाह गर्ने कर्तब्य हो । राजाको अर्थ राज्यसञ्चालक । राज्य सञ्चालन राजाहरूबाट हुने, राजालाई ईश्वरको प्रतिनिधिका रूपमा र राज्यहरूलाई दैवी संस्थाका रूपमा लिने गरिएको पृष्ठभूमिमा धर्मबाट राज्यहरू निर्देशित हुन्थे । धर्म र राज्य फरक हो भन्ने बुझाई बढ्दै गएपछि धर्मनिरपेक्ष राज्यको परिकल्पना गरियो र सोहीअनुरूपका अभ्यासहरू हुन थाले । त्यसअघि ईश्वरले मानिस बनाएको हो कि मानिसले ईश्वर भन्ने बहस पनि चल्यो । ईश्वरले मानिस बनाएको हो भन्नेहरूले आफ्ना तर्क दिए । मानिसले ईश्वर बनाएकाले ईश्वरको परिकल्पना मानिसजस्तै गरे भन्नेहरू निस्किए । विज्ञान र धर्मका बीच लामो घम्साघम्सीपछि विभिन्न विचारधाराका मानिसहरू निस्किए । यसैक्रममा कार्ल माक्र्स जस्ता मानिसले आफ्नो धारणा बनाए जो ईश्वरविरोधी थिए । राज्यहरू ईश्वरीय कानूनबाट होइन मानिसले बनाएको कानूनबाट चल्नुपर्छ भन्ने आवाजहरू बुलन्द भए ।

यस्तै विभिन्न धारकाबीच सन् १८५० मा बेलायती लेखक जर्ज जेकब होलियोकले पहिलो पल्ट ‘सेकुलर’ राज्यको अवधारणा ल्याएका हुन् । होलियोकले धर्मनिरपेक्ष नैतिकताको कुरा पनि त्यतिबेलै उठाएका हुन् । धर्म र नैतिकताबीच गहिरो सम्बन्ध छ तर धर्मले भने पनि नभने पनि मानिसले नैतिकता कायम राख्नुपर्छ भन्ने उनको भनाइ थियो । धर्मको विरोध पनि नगरौँ, समर्थन पनि नगरौँ तटस्थ बसौँ भन्ने उनको सिद्धान्त हो ।

अन्तरिम संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द कसले र कुन नियतले राख्यो भन्ने कुरा अहिले पनि हामीकहाँ खोजीको विषय हो । शब्दको त के कुरा धर्मको विषयमा हामी कहाँ कुनै पनि छलफल र बहस नभइ त्यति ठूलो निर्णय भएको थियो ।

धर्मसँग जोडेर हेर्दा विश्वभरि चार प्रकारका राज्य छन्, धार्मिक राज्य, धर्मप्रभावित राज्य, धर्मनिरपेक्ष राज्य र धर्मविरोधी राज्य । धार्मिक राज्यमा धर्मग्रन्थ नै संविधानसरह हुन्छ, जस्तो भेटिकनसिटी जहाँ पोप प्रमुख हुन्छन् । धर्मनिरपेक्ष तर धर्मप्रभावित राज्य धेरै छन् जसमा बेलायत, अमेरिका, स्क्याण्डेनेभियन मुलुकहरू पर्छन् । बेलायतकी महारानी या राजा चर्च अफ इंग्ल्याण्डको प्रमुख हुन्छन् । धेरै कामहरू प्रार्थनाबाट सुरु गरिन्छ । यस्ता देश धेरै छन् । अमेरिकाको पैसामै ‘वी ट्रष्ट इन गड’ लेखिएको छ । ईश्वरको नाममा सपथग्रहण गरिन्छ । धर्मनिरपेक्ष राज्यले सबै धर्मलाई समान रूपले हेर्छ, धार्मिक भेदभाव राख्दैन । धर्मविरोधी राज्यले धर्म मान्दैन । पूर्व सोभियत सङ्घ, माक्र्सवादी (पोलपोट) शासनकालको कम्बोडिया, चीन, उत्तर कोरिया धर्मविरोधी राज्य हुन् जहाँ धर्मको कुनै स्थान हुँदैन ।

धर्मनिरपेक्षता दुई प्रकारका देखिन्छन्, कठोर र उदार । अमेरिका, भारतलगायत धेरै मुलुकहरू उदारको सूचीमा पर्छन् भने फ्रान्स कठोर धर्मनिरपेक्ष मुलुक हो । फ्रान्समा धर्मको सङ्केत दिने कुनै पनि कुरा लगाएर विद्यालय जान पाइँदैन । सार्वजनिक स्थानमा हिँड्न पाइँदैन । हाम्रो देश नेपाललाई २०६३ सालको अन्तरिम संविधान जारी भएसँगै धर्मनिरपेक्ष राज्य घोषणा गरिएको हो । त्यसअघि नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्र थियो । हिन्दू राष्ट्र भए पनि राज्यले सबै धर्मप्रति समभाव राख्थ्यो । पहिला विभिन्न मन्दिरको दर्शनदेखि भोटो देखाउने परम्परासम्ममा राजाको उपस्थिति रहँदै आएकोमा अहिले राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिबाट ती कामहरू हुँदै आएका छन् । जुन कुरालाई लिएर कतिले धर्मनिरपेक्ष राज्यमा धार्मिक कार्यमा राष्ट्रप्रमुखको उपस्थिति किन ? भन्ने प्रश्न पनि उठाउने गरेका छन् । ‘धर्म’ र ‘रिलिजन (पंथ) मा फरक भए पनि यसबाट विश्वभरीका कुनै पनि मुलुकहरू मुक्त छैनन् ।

धर्म मुलतः तीन स्तरमा लागु हुने गर्छ- ब्यक्तिगत, सामूदायिक र राज्य । कतिले राज्यको धर्म हुँदैन भने पनि विश्वमा त्यस्ता राष्ट्र छैनन् जहाँ कुनै पनि धर्म नमानिएको होस् । कम्बोडियामा पोलपोटले २० लाख मानिस मार्दा पनि मानिसले धर्म मान्न छोडेका थिएनन् । चीनमा भएको साँस्कृतिक क्रान्तिले मानिसको मनबाट धार्मिक आस्था हटाउन सकेको थिएन । नेपालमा पनि माओवादीले गाउँ-गाउँमा धेरै मन्दिरहरू भत्काए, पूजारी, पण्डितहरूको हत्या गरे तर मानिसको धार्मिक आस्था घटाउन सकेनन् ।

कुनै पनि मुलुकमा राज्य स्तरबाट धर्मको बारेमा निर्णय लिँदा निकै ठुलो छलफल र बहस भएको देखिन्छ । भारतमा धर्मनिरपेक्ष राख्ने कि पंथनिरपेक्ष भन्ने विषयमा नामी विद्वान्हरूबाट राय लिइएको थियो । नेपाल यस्तो देश हो जहाँ आफ्नो मुलुक हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र भएछ भन्ने कुरा जनताले अन्तरिम संविधान २०६३ जारी भएपछि थाहा पाए । जनताले मात्र होइन अन्तरिम संविधान जारी गर्दाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत ‘संविधानमा धर्मनिरपेक्ष शब्द थिएन, एक्कासी कहाँबाट आयो ?’ भन्नुभएको भन्ने चर्चा चलेको थियो । अन्तरिम संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द कसले र कुन नियतले राख्यो भन्ने कुरा अहिले पनि हामीकहाँ खोजीको विषय हो । शब्दको त के कुरा धर्मको विषयमा हामी कहाँ कुनै पनि छलफल र बहस नभइ त्यति ठूलो निर्णय भएको थियो ।

जनताले मात्र होइन अन्तरिम संविधान जारी गर्दाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत ‘संविधानमा धर्मनिरपेक्ष शब्द थिएन, एक्कासी कहाँबाट आयो ?’ भन्नुभएको भन्ने चर्चा चलेको थियो । अन्तरिम संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द कसले र कुन नियतले राख्यो भन्ने कुरा अहिले पनि हामीकहाँ खोजीको विषय हो ।

विश्वमा भइरहेका सबै अभ्यासहरूलाई हेर्दा हाम्रो देश नेपाल अहिले हिन्दूधर्म–राष्ट्र नभए पनि हिन्दूधर्म–प्रभावित राष्ट्र हो । राज्य स्तरमा गोरखाबाट फूलपाती ल्याएर हाम्रो दशैँ सुरु हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । हाम्रा राष्ट्रप्रमुखले दशैँमा सर्वसाधारणलाई टीका–जमरा लगाइ शुभकामना दिन्छन् । राष्ट्रप्रमुखले तलेजुभवानीमा गएर पूजा गरेपछि दशैँको कोजाग्रत सम्पन्न हुन्छ । भोटो देखाउने, कुमारीको दर्शनलगायत यस्ता धेरै कुरा राज्य स्तरबाट हुँदै आएका छन्, जुन अभ्यास अन्य मुलुकमा पनि आफ्नै तौरतरिकाले हुने गर्छ । बेलायतका राजा या महारानीको राज्याभिशेष चर्चले गर्छ । त्याहाँको संसद प्रार्थनाबाट सुरु हुन्छ । हामीकहाँ ८१.३ प्रतिशत नागरिक हिन्दु छन् । हिन्दु धर्म कुनै निश्चित भगवानको पूजापाठ मात्र नभएर हाम्रो जीवनपद्धति हो ।

तिहार आउँदैछ हामी कागको पूजा गर्छौं, कुकुर र गाईको पूजा गर्छौं । अकाश, भूमि र तुलसी, पिपल या भनौँ प्रकृतिको पूजा गर्नुको अर्थ तिनको संरक्षण, सम्बद्र्धन हो । हाम्रो गीता, बेद, महाभारत, रामायणमा सारा सृष्टिका कुरा छन् । एक पटक सरररर पढेर सकिने हाम्रा ग्रन्थ छैनन् । ‘धर्म’ शब्दको अर्थ न्यायसँग जोडिएको हुनाले कसैले म धर्मनिरपेक्ष हुँ भन्यो भने त्यो मान्छे न्यायनिरपेक्ष हो भनी बुझ्नुपर्ने हुन्छ । त्यसैले ‘धर्मनिरपेक्ष’ शब्दका विषयमा छलफल र बहस आवश्यक छ । संविधानमा उल्लेखित धार्मिक स्वतन्त्रताको अर्थ धर्मपरिवर्तन होइन, प्रत्येक ब्यक्तिलाई निर्धक्क आफ्नो धर्म मान्न पाउने स्वतन्त्रता हो । तर हामीकहाँ यसको गलत प्रयोग भइरहेको छ ।

हिन्दू राष्ट्र भएर सबै धर्मलाई समभावले हेर्ने नेपाल विश्वमै ‘युनिक’ देश थियो । अहिले भइरहेका अभ्यासका आधारमा हामी हिन्दू राष्ट्र नै हौँ भन्न मिल्छ । सरकारप्रमुखले ‘राम’का बारेमा राखेको चासो, कृष्णको सुदर्शन चक्रको चर्चालगायतलाई हेर्दा संविधान एउटा अभ्यासचाहिँ अर्को गर्नुभन्दा नेपालको संविधानमै ‘हिन्दु राष्ट्र’ शब्द राख्नु न्यायोचित हुन्छ ।