विद्युत् प्राधिकरणको नि. कार्यकारी निर्देशकमा हितेन्द्रदेवको नियुक्ति

विद्युत् प्राधिकरणको नि. कार्यकारी निर्देशकमा हितेन्द्रदेवको नियुक्ति



सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिएका हुन् ।

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक र शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।

निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका शाक्यले आजै प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो पदबहाली गरेका छन् । उनी तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए ।

गत भदौ २९ गतेदेखि घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।