के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?



कोरोना भाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला कि नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइरहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यसबारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ ।

उक्त अमेरिकी निकायका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।

यदि तपाईं यात्रामा हुनुहुन्छ भने होटलमा बस्नुपर्ने बाध्यता हुन सक्छ भन्दै केन्द्रले भाडाको घरमा वा फ्ल्याटमा संयुक्त रुपमा बस्नुहुन्छ भने चाहिँ होटलमा बस्नु ठिक हुने जनाएको छ । तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् ।

सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सबैभन्दा असुरक्षित हुने उनीहरुको भनाई छ ।

होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका सङ्क्रमण विज्ञ डा. नतास्चा टुज्नीकलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

विज्ञले धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा सावुन पानी वा अन्य सावुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि सुझाव दिएका छन् । भाडामा बसिएका कोठामा पनि होटलका कोठा भन्दा धेरै सफा, सुरक्षित र हावा धेरे खेल्ने हुन सक्ने पनि डा. नतास्चाको भनाई छ ।

होटलमा बस्दा सबै सुरक्षाका उपायहरु के-कति अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दूरी कायम गरिएको छ कि छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ कि छैन जस्ता विषयमा पनि ख्याल गर्न आग्रह गरिएको छ ।

Representative Image, Credit: google