चिकित्सक बीपी तिमल्सिनासँग पादरीहरू ग्यालिलियोसँग रिसाएको भन्दा बढी क्रुद्ध !

चिकित्सक बीपी तिमल्सिनासँग पादरीहरू ग्यालिलियोसँग रिसाएको भन्दा बढी क्रुद्ध !



पृथ्वीमा पछिल्लो पटक कोरोना सङ्क्रमण भएको वर्ष दिन बितिसक्दा पनि संसारका स्वास्थ्य तथा औषधि वैज्ञानिकहरू उक्त भाइरसविरुद्ध औषधी र खोप पत्ता लगाउन असमर्थ छन् । ‘कोभिड–१९’ नाम दिइएको भाइरस एउटा आतङ्कको रूपमा विश्वभर फैलिएको छ र, खासगरी ‘एलोपेथिक’ क्षेत्र नराम्रोसँग आतङ्कित छ । कोरोना सङ्क्रमणका कारण लाखौं मानिसको मृत्यु भइसकेको छ र, विश्वको अर्थतन्त्र तथा सामाजिक जीवनमा यसले गम्भीर असर पारेको छ । अस्पतालहरूमा स्वास्थ्यकर्मीहरू अनेकौँ पत्र सुरक्षा वस्त्रमा बेरिएर बिरामीको उपचारमा संलग्न भएको दृष्यले पनि आममानिसमा भय थप्ने काम गरेको छ ।

यसरी कोरोनाले संसारलाई नै अत्याइरहेका बेला पाथिभरा आयुर्वेदिक अस्पतालका सञ्चालक चिकित्सक बीपी तिमल्सिना भने विनामास्क कोरोनासङ्क्रमितहरूको उपचार गर्दै हुनुहुन्छ । सिनामङ्गलस्थित पाथिभरा आयुर्वेदिक अस्पतालमा दैनिक दशदेखि पैंतालिस जनासम्म कोरोनासङ्क्रमित बिरामीहरूको परीक्षण गरी उहाँ औषधि उपलब्ध गराउने गर्नुहुन्छ । बिरामीलाई समेत मास्क लगाउन उहाँ बाध्य तुल्याउनुहुन्न । चिकित्सक तिमल्सिनाले जुन औषधी उपलब्ध गराउने गर्नुहुन्छ त्यसबारे न कुनै औषधि व्यवसायीलाई जानकारी छ न त एलोपेथिक र अन्य आयुर्वेद चिकित्सकलाई नै ! त्यसैले बीपी तिमल्सिनाका सामु अन्य सबै खाले चिकित्सकहरू जनदृष्टिमा सन्देहको घेरामा परेका छन् ।

चिकित्सक बीपीले उपलब्ध गराउने औषधिको कम्पोजिसन बारे जानकारी पाउन स्वास्थ्य र औषधि व्यवसाय क्षेत्रमा व्यक्ति तथा संस्थाहरूले यस अवधिमा निकै प्रयास गरेको बताइन्छ । औषधिको कम्पोजिसनबारे जानकारी पाउन गरेको प्रयास असफल भएपछि औषधि व्यवस्था विभागका केही विवादास्पद एवम् शङ्कास्पद कर्मचारीहरू पाथिभरा आयुर्वेदिक अस्पतालमा छापा मार्न पुगेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली र सरकार नै आयुर्वेदिक औषधि प्रवर्धनको पक्षमा भएकोले बीपीलाई दुःख दिने उनीहरुको प्रयत्न सफल हुन सकेन । छापामार शैलीमा आफ्ना कर्मचारी पाथिभरामा पठाउने औषधी व्यवस्था विभागका तत्कालिक महानिर्देशकको सरुवा भइसकेको छ ।

यसैबीच टेलिभिजन सञ्चारकर्मी रवि लामिछाने कोरोनासङ्क्रमित भएपछि चिकित्सक बीपी तिमल्सिना उनलाई भेट्न गएको र त्यस क्रममा भएको संवाद तथा व्यवहारसमेत टेलिभिजनबाट प्रशारण भएपछि अन्य स्वास्थ्यकर्मीहरू ग्यालिलियोसँग पादरीहरू रिसाएको स्तरमा क्रुद्ध भएको पाइएको छ । एलोपेथिक चिकित्सकहरू मौन रहन बाध्य भएपछि आयुर्वेदिक चिकित्सकहरु नै तिमल्सिनाविरुद्ध उत्रिएका छन् ।

हालै ‘गैरसरकारी आयुर्वेद चिकित्सक सङ्घ’को नामा डा. मुक्तराज लामिछाने र डा. चन्द्रवली शाक नामक चिकित्सकहरूले एक विज्ञप्ती जारी गरी बीपी तिमल्सिनामाथि कारबाहीको माग गरेका छन् । निजहरूको वक्तव्यलाई कुण्ठा र इर्ष्याको एक ज्वलन्त दृष्टान्तका रूपमा लिइएको छ । तर प्रधानमन्त्री ओली र सिङ्गै सरकार तिमल्सिनाका पक्षमा नउभिएको भए मेडिकल माफियाहरूले तिमिल्सिना र पाथिभरा आयुर्वेदिक अस्पताललाई दुःख दिने निश्चित मानिएको छ ।