प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बीच गीति एल्बम विमोचन गर्नुभएको छ । प्रधानमन्त्रीले गीतकार तथा गायक प्रेमनाथ अधिकारीको ‘फर्किन् मेरी आमा’ नामक गीति एल्बम विमोचन गर्नुभएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मंगलबार आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सांस्कृतिक संस्थानका अध्यक्षसमेत रहनुभएका गीतकार तथा गायक अधिकारीको गीति एल्बम ‘फर्किन् मेरी आमा’ विमोचन गर्नुभएको थियो ।
विमोचन पश्चात सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्जक अधिकारीको कलायात्राको निरन्तरताको कामना गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रेमजी, कलाको बाटो भएर सत्यको पछि लागिरहनु होस्, कहिलेकाहीँ सत्यको यात्रामा एक्लै भएजस्तो लाग्छ तर तपाईं एक्लै हुनुहुन्न ।’ प्रधानमन्त्रीले कृति प्रकाशित गर्नु ठुलो कुरा भएको भन्दै एल्बमका सृजनाहरूको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा साहित्यकार डा. विजय सुब्बा र प्रा. केशव सुवेदीले अधिकारीको साङ्गीतिक यात्रा र उहाँको गीति एल्बम ‘फर्किन् मेरी आमा’को समीक्षा गर्नुभएको थियो । उहाँहरूले तीसको दशकदेखि नै संगीत यात्रामा क्रियाशील अधिकारीको विमोचित एल्बमका गीतहरूले नेपाली मौलिक लोकभाकालाई समृद्ध बनाउने विचार व्यक्त गर्नुभएको थियो ।
एल्बमभित्र फर्किन् मेरी आमा, गाईलाई चरन, साँगुरी ओरालो, घमाइलो बगान, चरीको रङ्ग र ढङ्ढङ कक्ल्याक कक बोलका ६ ओटा सुमधुर गीत समाविष्ट छन् । अन्य सबै गीतको संगीत संयोजन प्राज्ञ राईले नै गरेका छन् । शीर्ष गीतमा संगीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईको संगीत रहेको छ । अन्य सबै गीतमा गीतकार तथा गायक अधिकारी स्वयंको लय सङ्कलन रहेको छ ।
गायक अधिकारीलाई शीर्ष गीतमा गायिका दुर्गा परियार र गाईलाई चरन बोलको गीतमा बिना भट्टराईको साथ रहेको छ । एल्बमकी निर्माता कमला अधिकारी रहनुभएको छ भने गीतको म्युजिक भिडियो प्रेमनाथ अधिकारी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
प्रतिक्रिया