चार भाषामा बुद्धको इतिहास बताउने बालक सम्पर्कविहीन

चार भाषामा बुद्धको इतिहास बताउने बालक सम्पर्कविहीन



विशेष प्रतिनिधि, कपिलवस्तु


गौतम बुद्धको इतिहास बताएर भाइरल बनेका कपिलवस्तु नगरपालिका ६ तिलौराकोट बस्ने १३ वर्षीय बालक राहुल सहनी सम्पर्कविहीन भएका छन् ।

सोमबार बिहान ९ बजे घरबाट विद्यालय हिँडेका सहनी घर नफर्किए मङ्गलबारबाट प्रहरीले खोजतलास सुरु गरेको छ । तौलिहवास्थित सिद्धार्थ बोर्डिङ स्कुलमा पढ्न जाने भनी हिँडेका सहनी विद्यालयसम्म नपुगेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार हराएका बालक तौलिहवा भिक्षुचोकसम्म साइकलमा आएको देखिए पनि त्यसपछि कहाँ गए थाहा नभएको बताएका छन् । प्रहरीमा सूचना आएपछि खोजतलासका जारी गरेको छ ।

बालकको भारतमा रहेका आफन्तसँग सोधपुछ गर्दा फेला नपरेपछि परिवार चिन्तित भएका छन् । हराएका बालकले गौतम बुद्धको राजधानी तिलौराकोट आएका पर्यटकलाई गाइडको रूपमा काम गर्ने गरेका थिए । उनले नेपाली, अङ्ग्रेजी, चाइनिज, हिन्दी भाषामा बुद्धको इतिहास बताउन सक्दथे । विद्यालय सकेपछि उनले तिलौराकोट आउने पर्यटकलाई गाइड गरी आय आर्जन गर्दथे ।