अवैध रुपमा भारतीय नागरिक नेपाल प्रवेश गराउने भारती पक्राउ

अवैध रुपमा भारतीय नागरिक नेपाल प्रवेश गराउने भारती पक्राउ



विशेष प्रतिनिधि, रुपन्देही

रुपन्देहीको बेलहिया नाकाबाट अवैध रुपमा मानिस प्रवेश गराउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चाडपर्वलाई लक्षित गरी सरकारले सिमानाकाबाट हुने आवागमनलाई कात्तिक मसान्तसम्म बन्द गरेको बेला रकम लिई रुपन्देहीको बेलहिया नाकाबाट भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने भारतीय नागरिकलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोख्रेलले जानकारी दिनुभयो ।

भारतसँग सिमा जोडिएको रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नं. १ बेलहियास्थित कोटहीमाई गल्ली हुँदै भारतीय नागरिकलाई प्रवेश गराएको भन्दै भारतको उत्तरप्रदेश महाराजगज जिल्ला मदरा बस्ने वर्ष २० का अजय भारतीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनभयो ।

प्रहरी नायव उपरिक्षक खत्रीका अनुसार भारतीले रु. एक हजार लिई भारतीय नागरिकलाई अवैध रुपमा नेपाल भित्र्याउने गरेका थिए । सिमानाकामा हुने अवैध गतिविधिलाई रोक्न प्रहरीले विशेष सुरक्षा ब्यवस्था परिचालन गरेको बताउँदै स्वास्थ्य मापदण्डविपरीत कोही पनि नेपाल भित्रिन नपाउने प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

कोरोना कहरको बेला चाडपर्वलाई मध्यनजर गर्दै सरकारले देशभरिकै सिमानाका कात्तिक मसान्तसम्म बन्द गरेको छ । रुपन्देहीको बेलहिया नाका भने स्वास्थ्य मापदण्ड अपनाएर आवागमनका गतिविधि भइरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।