पर्वत र बाग्लुङ जोड्ने पुलमाथि बञ्जीजम्पको औपाचरिक शुरुआत

पर्वत र बाग्लुङ जोड्ने पुलमाथि बञ्जीजम्पको औपाचरिक शुरुआत



कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन् । शनिवार द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले आफैं हामफालेर बञ्जी जम्पको औपचरिक शुरुआत गरेका हुन् ।

पुलसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ । अन्य साहसिक खेलहरु पनि आजैदेखि शुरु भएको कार्कीले जानकारी दिए । ५२५ मिटर लामो झोलुङ्गे पुलबीचमा कालीगण्डकी नदीको ठिकमाथि बञ्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो बञ्जीका रुपमा दर्ज गर्नेछ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए ।

बञ्जी र स्वीङ दुवैको शुल्क सात हजार तोकिएको छ । औपाचरिक शुरुआतसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउने छन् । रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटन प्रवर्द्धनमा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।