यस्तो बन्यो दर्पणछाया-२ की नायिकाको भिडियो

यस्तो बन्यो दर्पणछाया-२ की नायिकाको भिडियो



■ राजन घिमिरे


चलचित्र दर्पणछाया-२ की नायिका सहारा कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सहाराले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो । गीतकार साबु गदाल कार्की (साबुरबी)को शब्द, अर्जुन पोख्रेलको संगीत र जिना रसाइलीको स्वर रहेको ‘अरुको पनि बन्न सकिनँ’ बोलको म्युजिक भिडियोमा सहारालाई साथ दिएका छन् चलचित्र दर्पणछाया-२ कै नायक फिरोज तिमल्सिनाले ।

अमेरिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई फिरोज तिमल्सिनाले निर्देशन र सम्पादन गरेका हुन् भने दर्पण उदासले छायाङ्कन गरेको उक्त म्युजिक भिडियोको निर्माण रवि कार्कीले गरेका हुन् ।

द डिभाइन म्युजिकको च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनय गरे पनि म्युजिक भिडियोमा भने सहाराको यो डेब्यु हो । प्रेम वियोगको भाव समेटिएको यस गीतका रचनाकार साबुरवि कुनै समयकी रेडियोकर्मी समेत हुन् भने उनी चलचित्रकर्मी पनि हुन् । उनले दर्पणछाया–२ चलचित्र निर्माण गरेकी थिइन् ।

इलाम फिक्कल घर भई हाल अमेरिकामा रहेकी गीतकार साबुरवि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् भने २०१७ देखि उनी कोलोराडो–अमेरिकाका लागि नेपाल पर्यटन बोर्डको सदभावना दूत रहँदै आएकी छिन् । अरुको बन्न सकिन.. बोलको गीतको बारेमा साबु भन्छिन्, ‘गीतका शब्दले अरुको बन्न सकिनँ भने पनि आशा छ सबै दर्शक र श्रोताको बन्न सक्ने छु ।’ भिडियो र गीत उत्कृष्ट बनेको प्रतिक्रिया पाइरहेको साबुको भनाई छ ।