अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरेकी नेपाली महिलाको बयान सार्वजनिक

अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरेकी नेपाली महिलाको बयान सार्वजनिक


■ सागर सुवेदी, अष्ट्रिया

अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको हत्या गरेर सनसनी मच्चाएकी ३१ वर्षीया नेपाली महिलाले अष्ट्रियन अपराध अनुसन्धानका प्रहरीलाई दिएको बयानको अंश बाहिरिएको छ । स्थानीय पत्रपत्रिकाहरुले अभियुक्त महिलाले दिएको वयानबारे समाचार प्रकाशित गरेका छन् ।

प्रहरीसमक्ष अभियुक्त महिलाले आफ्नो अपराध स्वीकार गरेकी छन् । आफ्ना नाबालक सन्तानहरुको हत्या किन गऱ्यौ भनी प्रहरीले गरेको प्रश्नको जवाफमा भट्टराई थरकी अभियुक्त महिलाले भनेकी छन्- ‘मेरो श्रीमानसँग धेरैजसो विषयमा झगडा भइरहन्थ्यो । केही समय पहिला पनि हाम्रो झगडा भएको थियो, जुन कारणले प्रहरीले श्रीमानलाई दुई हप्ता घरमा बस्न प्रतिबन्ध लगाएको थियो । तर, मैले नै प्रहरीसमक्ष थप प्रतिबन्ध नलगाउनु भनेको कारण श्रीमान घरमा आएका थिए । तथापि, घर आएपछि पुनः विवाद बढ्दै गयो । यसरी सधैं झगडा गरेर बसिरहनु भन्दा छोडपत्र गर्नु राम्रो हुन्छ भन्ने मेरो राय थियो, तर मेरा श्रीमानले यदि तैँले छोडेको खण्डमा तँलाई कुनै सम्पति दिन्न र नेपाल डिपोर्ट गरिदिन्छु भन्ने खालका धम्की हरदम दिने गर्दथे । श्रीमानले मलाई खानामा विष मिसाएर दिने गर्छन् भन्ने पनि मलाई लाग्थ्यो । श्रीमानको व्यवहार र धम्कीहरुबाट मलाई सधैं अत्याधिक डर उत्पन्न हुने गर्दथ्यो र मैले मेरा सन्तानहरुलाई सधैंको लागि गुमाउने छु भन्ने खालको कल्पनाले मलाई अत्यास लाग्दथ्यो । त्यही कारणले मैले मेरा सन्तानको हत्या गरेँ ।’

हत्या कसरि गऱ्यौ भन्ने प्रश्नमा अभुयुक्त भन्छिन्, ‘बेलुकीको खाना तयार गरेर छोराछोरीलाइ खुवाएँ । बच्चाहरु साँझको ९ बजे नै बेडमा गएर निदाए, म पनि सुतेँ । आठ महिनाको छोरा भोकका कारण राति उठ्यो र रुन थाल्यो । म पनि उठेँ र दुध तताएर बोतलमा राखी खुवाएँ । दुध पिएपछि सानो छोरा फेरि सुत्यो । गत फेब्रुअरीमा जन्मेको बच्चा जन्मिँदै मुटुको समस्या लिएर जन्मिएको थियो । आठ महिनाको छोरा सुतेपछि मलाई एक प्रकारको डर उत्पन्न भयो, जुन डरले मलाई अत्यधिक पीडा दियो, किनकि म मेरा बच्चाहरुदेखि अलग रहेर बाँच्न चाहन्नथेँ ।’

‘म हतास मनस्थितिमा थिएँ । के गरौँ भन्ने सोच्न सकेको थिइनँ ।’ बलिन्द्रधारा आँशु झार्दै अभियुक्तले भनिन्, ‘अचानक मैले सानो बाबु सुत्ने बेडको पहेलो रंगको सिरानी लिएँ । उक्त सिरानीले आठ महिनाको बाबुको अनुहार दबाएँ, कुनै ठुलो छटपटाहटबिना नै सानो छोरा हलचल नगर्ने बन्यो । सानो तीन वर्षीया छोरीलाई पनि सुतिरहेकै अवस्थामा सोही सिरानीले सानो छोरालाई जस्तै गरेर थिचेँ । सानो छोरी पनि निद्राकै अवस्थामा एकैछिनमा हलचल गर्न नसक्ने अवस्थामा पुगी । त्यसपछि मैले नौ वर्षीया छोरीलाई पनि सोही सिरानीले थिचेँ । तर उ निद्राबाट ब्युँझिइ र मेरो अनुहारमा कोतर्ने प्रयास गरी । नौ वर्षीया छोरीले आफ्नो शक्तिले भ्याएसम्म प्रतिकार गरिन् तर मैले पनि सकेको बल लगाएर थिचेँ जबसम्म उनी स्थिर बनिनन् ।’

अभियुक्तको बयानअनुसार त्यसपछि उनी आफ्नो भान्साकोठामा गइन् र आत्महत्याको मनसाय बनाइन् । तर उनलाई आत्महत्या गर्ने साहस भएन । त्यसपछि उनले छोरीको मोबाइल फोनबाट प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिइन् ।

यतिबेला भियनाको न्यायिक हिरासतमा रहेकी अभियुक्तले आफूलाई घात गर्न सक्ने अवस्था भएको कारण उनमाथि २४सै घण्टा प्रहरीको निगरानी रहेको बुझिएको छ ।