देहरादून घटनाप्रति सरकार गम्भीर रहेको परराष्ट्र मन्त्रालयको प्रष्टोक्ति

देहरादून घटनाप्रति सरकार गम्भीर रहेको परराष्ट्र मन्त्रालयको प्रष्टोक्ति



भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति सरकार गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत सरकारले घटनाको सत्यतथ्य जानकारी लिएको परराष्ट्रको भनाइ छ ।

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० जना नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिइन् ।

उत्तराखण्ड बालअधिकार आयोग (भारत)का अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता लम्सालको भनाइ छ ।

नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमै रहेकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग आफूले छलफल गरेकोे जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनाअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताइन् । सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको लम्सालले जानकारी दिइन् ।