मोही र घिउ !!

मोही र घिउ !!



■ मोहन लामा रुम्बा

सर्वोच्च धर्मगुरु दलाइ लामा भन्नुहुन्छ-

‘हिन्दू र बौद्ध दुई धर्म अवश्य हुन् । दुवैका उपासना पद्धति फरक-फरक छन् । तर, बौद्धहरूले वैदिक सनातनी हिन्दूत्व नै आफ्नो स्रोत रहेको इतिहास र सत्य यथार्थलाई बुझ्न सके भने हाम्रो सौहाद्र्धता अझै गाढा र सम्बन्ध अझै बलियो हुन्छ !’

दलाइ लामाको यो सारगर्भित अभिव्यक्ति आएपछि जाबो मोहन लामाको के काम ? म पनि बारम्बार यही कुरा भन्दै आइरहेको छु, मैले यही कुरा भन्दा बाहुनवादी हिन्दुवादी भन्दै उफ्रिनेहरूले दलाइ लामालाई के भन्दा हुन् ?

अँ… साँच्ची बौद्ध शास्त्र नपढ्ने, नबुझ्ने जीवनमा लामाले ढ्याङ्गङ्ग्रो मात्रै बजाएको देखेकाहरूले त बाहुनवादी हिन्दुवादी भन्छन्, त्यसलाई म स्वभाविकै रूपमा लिँदैछु, लिन्छु अनि बौद्धशास्त्र पढेर पारंगत भएका लामाहरूले दलाइ लामालाई चाहिँ के भन्छन् होला कुन्नी ?

लामाहरूले त गुम्बामा दलाइ लामाको तस्बिर राखेर साँझ-बिहान ढोग्ने पनि गर्छन् नि, होइन र ? अनि त्यही दलाइ लामाले वैदिक सनातन हिन्दु धर्म हाम्रो श्रोत हो भनेर बोल्दा के उनले त्यो शास्त्रीय प्रमाणबेगर बोलेका हुन् ?

लौ मानौँ दलाई लामाले बिनाप्रमाण बोलेछन्, तर यही कुरा स्वयम् सिद्धार्थ गौतम बुद्ध भगवानले बोल्नुभएको कुरालाई चाहिँ के भन्ने ?

पढ्नुस्-
‘विद्वा च सो वेदगु नरो इध, भवाभवे संगं इमं विसज्जा । सो वीततण्हो अनिघो निरासो अतारि सो जाति जारान्ति ब्रुमीति ।’ (सुत्तनिपात–१०६०)
अर्थात्, वेदलाई जान्नेवाला विद्वान् यस संसारमा, जन्म या मृत्युमा आशक्तिलाई परित्याग गरेर र तृष्णा तथा पापरहित भएर जन्म र जरादेखि पार हुन्छन्, म यही भन्छु ।

विद्वा च वेदेहि समेच्च धम्मं । न उच्चावयं गच्छति भूरिपञ्जो । (सुत्तनिपात–७९२)
अर्थात्, जुन विद्वानले वेदद्वारा धर्मको ज्ञान प्राप्त गर्दछ, त्यसले उँच-निच अवस्था प्राप्त गर्दैन, अर्थात् उसको डावाँडोल स्थिति हुँदैन ।

‘वेदानि विचेग्य केवलानि समणानं यानि पर अत्थि ब्रह्मणानं । सब्बा वेदनासु वीतरागो सब्बमं वेदमनिच्च वेदगू सों ।’ (सुत्तनिपात–५२९)
अर्थात्, सच्चा वेदज्ञ त्यो हो जसले श्रमण र ब्राह्मणहरूको वेदलाई जानेर सब देवताहरूको बिषयमा वीतराग भइ सबलाई अनित्य जान्दछ, त्यहि सच्चा वेदको ज्ञाता हो ।

अब भन्नुहोस् दलाइ लामाले बिना प्रमाण बिना आधार बोलेका हुन् ? बुद्ध स्वयम् भन्नुहुन्छ- ‘श्रमण (बौद्ध)ले वेदलाई जानेर सबै देवताहरूको विषयमा ‘सच्चा वेदको ज्ञाता बन्नु’ । त्यही कुरा दलाई लामाले वैदिक सनातन धर्म हाम्रो मुख्य श्रोत हुन् भनेर भन्नुभएको हो ।

बौद्ध ग्रन्थ चाहे धम्म पद पढुँ चाहे जातक कथा सुत्तनिपात होस् वा लंकाअवतार शुत्र जुनसुकै ग्रन्थ हेर्नु पाइला-पाइलामा वैदिक सनातन धर्मको छाप छरपस्ट भेटिन्छ भने फेरि नेपालमा तँ हिन्दु तँ बौद्ध तेरो पर्व मेरो पर्व तेरो मन्दिर मेरो मन्दिर भन्दै तँ तँ र मँ मँ किन गर्दै छ ? केही वर्षदेखि नेपालमा यी सब षड्यन्त्र कसले गराउँदै छ ? किन गराउँदै छ ? किन फाट्दै छ किन फटाउँदै छ ?

भित्र-भित्र पत्र केलाउँदै सोधखोज गर्दै हिन्दु बौद्ध लडाइँ लडाउन को-को ‘क्रिप्टो’ (https://ghatanarabichar.com/202842) हरू गुम्बामा घुसपैठ गरेर माकुरी जाल फाल्दै छ ? आदिवासी जनजातिका नाउँमा संस्था खोलेर को-को ‘क्रिप्टो’ नेताहरूलाई प्रयोग गर्दै धर्मको नाउँमा लडाउन खोज्दै छ ?

अब बेला आयो हिजोको दिनमा यिनिहरूले जे-जे भन्दै हिँडायो हाम्रै लागि बोलेका होलान् हाम्रै हित चिताएका होलान् भनेर लुखुर-लुखुर यिनको पछि लाग्दै गयौँ, अब त्यो युग छैन ! अब यिनिहरू कोबाट परिचालित रहेछ कहाँबाट आर्थिक श्रोत जुट्ने रहेछ, गोप्य रूपमा विदेशीले आर्थिक सहयोग दिनुको उद्देश्य के रहेछ भन्ने बुझ्ने युवा जमातहरू अब निक्लिँदै छ !

त्यसैले बेलैमा सतर्क होऔँ, अन्यथा कुनै दिन नेपालमा पनि हिन्दु र बौद्ध धर्म मान्ने जमात थियो नि भनेर इतिहासमा मात्रै पढ्न पर्ने दिन आउला होस् गरौँ !

अन्तमाः एकजना प्रसिद्ध लामा कर्म तेन्पाई ग्याल्तसेनलाई पत्रकार कमलराज कास्यपले हिन्दु बौद्ध के हो ? भनेर सोधेको प्रश्नमा उत्तर यसरी दिनुभएको थियो- ‘हिन्दु धर्म भनेको मोही हो भने त्यही मोहीभित्रको नौनी घिउ बौद्ध हो !!’

जय सनातन !