बेल्जियममा युरोपभरिकै सर्वाधिक संक्रमण

बेल्जियममा युरोपभरिकै सर्वाधिक संक्रमण



सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना

सनत आचार्य, बेल्जियम

पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको दृष्टिकोणले युरोपका अन्य मुलुक भन्दा बेल्जियम अग्र स्थानमा देखिएको छ । यो अवधिमा २१ हजार भन्दा बढि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १३२ जनाको मृत्यु भएको छ ।

यसरी कोरोना संक्रमण बढ्दै गएपछि अधिकारीहरूले पहिलेको र वर्तमान अवस्थालाई तुलनात्मक अध्ययन गर्न थालेका छन् । उनीहरूले यो अवस्थालाई अध्ययन गर्दै हरेक दृष्टिकोणले दाश्रो चरणमा फैलिएको कोभिड डरलाग्दो र दर्दनाक भन्दै टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री अलेक्स आन्दर डे क्रोले कोरोनाका विरुद्धमा लड्न सबै संगठित हुन आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्– ‘बेल्जियमको वर्तमान अवस्था अत्यन्त नाजुक छ । अहिलेको मुख्य प्राथमिकता भनेको स्वास्थ्य सेवा प्रदान गर्नेहरू र अस्पतालका लागि सहयोग गर्ने हो ।’

प्रधानमन्त्री क्रोले अहिलेको अवस्थालाई दर्दनाक र स्वतन्त्रताको लागि गम्भीर अवरोध भनी चित्रण समेत गरेका छन् ।

त्यस्तै स्वास्थ्यमन्त्री फ्र्याङ्क भेन्डेनब्रेकेले हालै गरिएको चार हप्ताको कडाइ कोभिडसँग जुध्न पर्याप्त समय नभएको बताएका छन् । उनकाअनुसार कोभिडसँग जुध्न कम्तीमा पनि एक महिनाको कडाइ आवश्यक रहेको देखिएको छ । एक अन्तर्वार्तामा स्वास्थ्यमन्त्री भेन्डेनब्रुकेले भनेका छन्- ‘कोभिडसँग जुध्न मुख्य चार नियम छन् ती सबै फरक छन्, तर साझा निष्कर्ष भनेको चार हप्ताको कडाइ यसका लागि सम्भव र पर्याप्त छैन ।’

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको भनाइलाई हेर्ने हो भने बेल्जियम सरकारले अबको केही दिनभित्र कोभिडसँग जुध्नका लागि देशभर कडाइ गर्न सक्ने यहाँका बुद्धिजीवीहरूको आँकलन छ । त्यसैले बेल्जियम अबको केही दिनमा पूर्ण रूपले पुनः बन्दाबन्दीको अवस्थामा नजाला भन्न सकिँदैन ।

बेल्जियममा हालै मात्र कोभिडका ६ हजार बिरामी अस्पताल भर्ना भएका छन्, जुन गत अप्रिल महिनाको भन्दा निकै बढि छ ।

तीमध्ये ९९३ जनालाई सघन उपचार कक्षमा भर्ना गरिएको छ, जुन एक दिनअगाडिको तुलनामा ८१ जना बढि छन् । त्यस्तै हिजो मात्र ५४१ जनालाई भेन्टिलेटरमा राखिएको छ, यो पनि अस्तिको तुलनामा ५७ जना बढि हो ।

बेल्जियममा हालसम्म कुल ३ लाख ६८ हजार ३३७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ११ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

बर्तमान अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित विज्ञहरुले यदि यस्तै अवस्था रहिरहेमा होटल, सैनिक परिचालन र मृत्युदरलाई कम गर्न वैदेशिक सहयोग आवश्यक पर्न सक्ने पनि बताएका छन् । त्यस्तै विज्ञहरूले बेल्जियमलाई तत्काल पूर्ण रूपले लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । सम्भवतः शुक्रबार (३० अक्टोबर) बस्ने परामर्श समितिले यसबारे निर्णय गर्न सक्ने कतिपयले अनुमान गरेका छन् ।