पुनः लकडाउन गर्ने या नगर्ने मन्थनमा अष्ट्रिया

पुनः लकडाउन गर्ने या नगर्ने मन्थनमा अष्ट्रिया


प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया

कोरोना संक्रमणको दोश्रो लहरले युरोपलाई थिल्थिलो पारिरहेको अवस्थामा केही युरोपियन मुलुकले लकडाउन सुरु गरेसँगै अष्ट्रियाले पनि गर्ने या नगर्ने भन्ने विषयमा चान्सलर सिवास्टियान कुर्जले आफ्नो मन्त्रिपरिषद सदस्यका साथ बिहीबार (२९ अक्टोबर) एक प्रेस कन्फरेन्सको आयोजना गरेका छन् ।

अष्ट्रियामा संक्रमणको गति अत्यधिक बढेसँगै लकडाउन विधिमै लगेर संक्रमण नियन्न्रण गर्ने विषयमा बितेका दुई दिन चर्को छलफलका साथै यहाँ अवस्थित मेडियाहरुले पनि लकडाउन हुन सक्ने आशयका समाचारहरु प्रकाशित गरिरहेकै अवस्थामा कुर्ज सरकारले आज (बिहिबार) नै लकडाउनसम्बन्धी कुनै निर्णय नगरिने, विभिन्न विज्ञहरु साथै संसदका प्रपिपक्षी दलहरुसँगको छलफल तथा सुझावपछि आउँदो शनिबार कस्तो लकडाउन मोडेल अवलम्बन गरिने भन्ने बारेमा जानाकारी दिइने बताए ।

अष्ट्रियाले संक्रमणको पहिलो लहरबाट मुक्त भएसँगै ट्राफिक लाइट प्रविधिमा कोरोना संक्रमणलाई ब्यवस्थापन गर्दै आइरहेको थियो, जसमा रातो, सुन्तला, पहेँलो र हरियो चार प्रकारका बत्तीहरु प्रयोगमा ल्याइएको थियो । जसमा हरियो भएको खण्डमा संक्रमणको खतरा नहुने तथा रातो भएको खण्डमा पुनः एक पटक लकडाउन गर्नु पर्ने बाध्यता हुनेछ भनिएको थियो । आजको दिनसम्म आइपुग्दा सम्पुर्ण अष्ट्रिया रातो घेराभित्र परिसकेको देखिएको छ ।

अष्ट्रियाको स्वास्थ्य संरचनाको क्र्यास हुनुभन्दा आगाडि नै लकडाउन गरेर संरचनालाई बचाउँदै सन्तुलित बनेर कोरोना संक्रमणसँग जुध्नुपर्छ भन्ने केहीको राय थियो भने केही नागरिक समूहचाहिँ माक्स पनि आवश्यक छैन तथा लकडाउन पनि आवश्यक नभएको तर्क गरिरहेको भेटिएको छ।

पछिल्लो जानकारीअनुसार अष्ट्रियाको कुल जनसंख्या ८३ लाख लगभग भएको भनिएकोमा लगभग २२ लाख पिसिआर टेस्टमा ९६ हजार नागरिक संक्रमित रहेकोमा ५५ हजारको संख्यामा कोरोनामुक्त भएका छन् भने लगभग ४० हजारको संख्यामा एक्टिभ संक्रमित रहेको जनाइएको छ ।

ज्ञातव्य छ, कोरोनाको कारण आजका दिनसम्म अष्ट्रियामा १०६४ जनाको मृत्यु भैसकेको छ भने १४४४ जना संक्रमितहरु अस्पतालको साधारण स्याहारतर्फ भर्ना भएर उपचार गराइरहेका छन् भने सघन कक्षतर्फ २४८ जना बिरामी भर्ना भइ उपचाररत छन् ।

(तस्बिर अष्ट्रियाका स्वास्थमन्त्रीको पेजबाट)