हालसम्म नेपालभर कोभिड-१९ का कारण ९ सय ४ जनाको मृत्यु

हालसम्म नेपालभर कोभिड-१९ का कारण ९ सय ४ जनाको मृत्यु



देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज (१३ कात्तिक) २,३६४ जना सङ्क्रमित थपिँदा ३,०३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आजसम्म १,२४,८६२ सङ्क्रमणमुक्त भएको र १,२४,८६२ जना अर्थात् ७५ दशमलव आठ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८,९५२ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २३.६ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा आज १,६१५ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ९११ पुरुष र ७०४ महिला छन् । काठमाडौं उपत्यकाका काठमाडौंमा १६,५२१, ललितपुरमा २,४७० र भक्तपुरका १,०७० सक्रिय सङ्क्रमित छन् ।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या १,६४,७१८ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ८९८ होम आइसोलेशनमा छन् ।

बताइएअनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नौ हजार ७६९ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख १९ हजार ६४ नमूना परीक्षण भइसकेको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११.६ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या २,६८९ छ ।

प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा ६,१८३, प्रदेश नं २ मा १,००१, वाग्मती प्रदेशमा १८,०७६, गण्डकी प्रदेशमा १,३२६, लुम्बिनी प्रदेशमा ३,७४१, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ९९८ छ ।

देशभरमा आज ३०४ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा ३६, प्रदेश २ मा १३, वाग्मतीमा १८४, गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित सघन उपचार कक्षमा छन् । त्यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा दुई, वाग्मतीमा ५७, गण्डकीमा दुई र लुम्बिनीमा पाँच गरी जम्मा ७६ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

आजसम्म देशभरका ७७ मध्ये १४ जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मुस्ताङमा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही, दाङ र कैलाली छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १७ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९०४ पुगेको छ । सङ्क्रमणका कारण मृत्यु हुने शून्य दशमलव ६ प्रतिशत हो ।