महान् चाड दशैँं र आशीर्वाद !

महान् चाड दशैँं र आशीर्वाद !



■ सुन्दर शर्मा


शरद रितुमा मनाइने नेपालीको महान चाड दशैँं । लिपपोत गरेर रंगाइएको घर, आँगनवरिपरि ढकमक्क फुलेका रङ्गीचङ्गी फुलहरू, खेतमा झुलेका धानका बालाहरू, सिरिरी… मन्द गतिले चल्ने हावा, सफा खुलेको नीलो आकाश, रेडियो टिभीमा गुन्जने मीठो मालश्री धुन, नयाँ लुगा, बाबियोको पिङ, घरदेखि टाढा बसेका छोरा–छोरी वा परिवारजनको घर पुग्न आतुरिएका मन । यस्तै–यस्तै परिदृश्यले दशैँ नजिकै आएको आभाष हुन्छ मलाई । यस्ता दृश्यले मलाई पनि मेरो जन्मघर, हुर्केको त्यो आँगनको औधी याद आउँछ ।

दशैँमा घर लिपपोत गर्ने चटारो, घरवरपरका झारपात खुर्केर सफा गर्ने, बाटो वरिपरि सरसफाइ गर्ने जस्ता कामका कारण कम्ती रमाइलो हुँदैनथ्यो । अहिले ती कुराको सम्झना सिनेमाको सिनझैँ आँखा वरिपरि घुमिरहन्छ । यस्तो यादले अहिले नै उडेर जाउँ कि गुडेर गैहालौँ त्यो जन्मेको घर र बालापन बिताएको त्यो आँगनीमा टेक्न जस्तो लाग्छ ।

तर यसो भन्दैमा माइती जान कहाँ सजिलो छ र विवाहित भएपछि ? बिहे गरेदेखि पहिलो प्राथमिकता घरलाई दिनुपर्छ छोरी भनी आमाले सिकाएको संस्कार भुल्नु पनि त भएन । त्यही संस्कारअनुसार दशैँंमा कर्मघरमै रमाउने गरेकी छु आजसम्म ।

दशैँमा घर जान मलाई औधी रमाइलो लाग्छ । मेरो कर्मघर स्याङ्जा जिल्लाको बिर्घा गाउँ । बाक्लो गाउँ । प्रायः सबै घर पाण्डेका भने पनि हुन्छ । गाउँघरको ब्यावहारिक निकटता अति नै मनपर्छ मलाई । ओइ ! बुहारी चिया खान तल झर भन्ने तल्लो घरकी सासुआमा । पल्तिरकी माइली आमा ‘ओइ ! सुन्दर, चामलको रोटी पकाएकी छु आउ खान, तलाइ मनपर्छ’ भन्ने । अर्को घरको देवर भन्छन्, ‘ढाकनि खान मन भए दूध लिन पठाउनु भाउजू’ । पल्तिरकी मीना दिदी घरमा न’भाको तरकारी टिपेर लैजानु भन्छिन् । आहा ! कति मीठो आत्मियता छ यो गाउँमा । सबैले आत्मियता र राम्रो व्यबहार दर्शाएको पाउँछु म बिर्घामा । शहरिया जनजीवनमा यस्तो आफ्नोपन कहाँ पाउनु । काठमाडौंबाट गाउँ गएको भोलिपल्टै भेट्न गइएन भने सासू, ससुरा, जेठाजु, जेठानी नातापर्ने मान्यजनहरू टुप्लुक्क आइहानुहुन्छ घरमा । मलाई यही आत्मियताले सधैं गाउँ जान उत्साह भर्छ ।

सप्तमीको दिन क्षेत्रपालको बलीसहितको सामुहिक पुजा । त्यो दिन बेग्लै रौनक र चहलपहल हुन्छ । अष्टमीको दिन प्रायः आलम देवी माताको दर्शनको लागि जाने गरेकी छु म पनि । मलाई हिँडेर आलमदेवी पुग्न ३–४ घन्टा नै लाग्छ । नवमीका दिन सेल पकाउने ब्यस्तता । म जन्मदेखि शाकाहारी । तर पनि मासु पकाउन र भाँडा माझ्न कहिल्यै पछि पर्दिनँ । कहिलेकाहीँ गाउँ जादा बेग्लै आनन्द आउछ मलाई ।

दशैँंको दिन बिहान ४ बजे उठेर काम गर्दा पनि अल्छीपन आउँदैन । हाम्रो घरको परिवार अलि ठूलो छ । ससुरा, दुई सासू, ८ भाइ छोरा, सात बुहारी, ६ भाइ नाती, पाँच बहिनी नातिनी । पारिवारिक टीका सकाउन नै अलि समय लाग्छ । टीका लगाउँदा ससुरा बाले उच्चारण गर्ने मन्त्रले घर नै गुन्जायमान हुन्छ र रमाइलो माहोल बन्न पुग्छ ।

दशैँंको दिन मात्र टीका थाप्ने चलनको कारण राति १०-११ बजेसम्म पनि चहलपहल हुन्छ घरमा ।

म हिजोआज संस्कारका नाममा गरिने ब्यवहारलाई अलि केलाउन थालेकी छु । दशैँंमा ९ दिनसम्म दुर्गा भवानी अर्थात् देवीको पूजा-आराधना गरिन्छ । नवरात्रीका ९ रातसम्म दुर्गा माताका विभिन्न रूपको आराधना गरिन्छ । नवरात्री अर्थात नवदुर्गा माताको पूजा अर्थात् स्त्री-शक्तिको पूजा अर्चना गरिन्छ । तर टीका लगाइदिँदा मान्यजनले दिने आशीर्वाद चाहिँ छोरालाई –
आयु द्रोणसुते श्रीयम् दशरथे शत्रु क्षयम राघबे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानम् च दुर्याेधने ।।
सौर्य सान्तन्वे बलम् हलधरे सत्यम् च कुन्तिसुते ।
बिज्ञानम् बिदुरे भवतु भवतम् कृतिश्च नारायणे ।।

छोरी-बुहारीलाई चाहिँ घर-परिवारको मर्यादामा बस्नु, इज्जत नफाल्नु, आफूखुशी नगर्नु, सबैको मान राख्नु …!

यो कस्तो भिन्नता ? भाइ, छोरा, ज्वाइँ, भतिजा, नातिलाई पनि त अर्काकी छोरी बुहारीलाई आँखा नलाउनु, घरपरिवारको इज्जत नफाल्नु, अरुकी चेलीको इज्जत नलुट्नु, मर्यादामा बस्नु, ठुलालाई आदर र सानालाइ प्रेम गर्नु, कुलको इज्जत नफाल्नु… भन्ने आशीर्वाद दिनुपर्ने होइन र ? के घर परिवारको इज्जत धान्ने ठेक्का छोरी बुहारीको मात्र हो ? यो भिन्नता किन?

छोरी–बुहारीलाई पनि धेरै पढ्नु, असल र ठुलो मानिस बन्नु, अन्याय नसहनु, अत्याचारको विरुद्धमा आवाज उठाउनु असहायलाई सक्दो सहयोग गर्नु, आत्मविश्वासका साथ अगाडि बढ्नु जस्ता आशीर्वाद दिँदा के बिग्रन्छ र ?

९ दिनसम्म भक्तिका साथ दुर्गा भवानीको आराधना गर्ने अनि आशीर्वाद दिँदा छोरा र छोरीलाई भिन्नता गर्ने ? यो कस्तो विभेदपूर्ण संस्कारमा बाँचेका छौँ हामी ।

आशा गरौँ अर्को दशैँं २०७८ मा छोरा र छोरीको आशीर्वादमा भिन्नता हुनेछैन, ब्यवहारमा भिन्नता देखिने छैन ।