सहाना प्रधान : यस्तो एउटा सम्झना

सहाना प्रधान : यस्तो एउटा सम्झना



■ बबिता बस्नेत


०४६ सालको प्रजातन्त्रपछि बनेको अन्तरिम मन्त्रिपरिषद्मा सहाना प्रधान उद्योग तथा बाणिज्य मन्त्री हुनुहुन्थ्यो । २०४७ सालको जेठमा म नेपालीपत्र दैनिक (पछि साप्ताहिक भयो) र नेपाली आवाज साप्ताहिकको रिपोर्टरका रूपमा पत्रकारिता क्षेत्रसँग आवद्ध भएकी थिएँ । अन्तरिम सरकारको प्रमुख काम संविधान निर्माण र संसदीय निर्वाचन थियो । म रिपोर्टर हुनुअघि नै सहाना प्रधानको नाम सुनेकी थिएँ । उहाँ ०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाको संयोजक हुनुहुन्थ्यो । सहाना प्रधान र शैलजा आचार्य जनआन्दोलनका चर्चित महिला नामहरू थिए । मुलुकमा प्रजातन्त्र आएपछि टेलिभिजनमा प्रायः उहाँलाई देखिन्थ्यो ।

अन्तरिम सरकारको प्रमुख काममध्येको एक संविधान निर्माण भएकाले काठमाडौमा संविधानका विषयमा श्रंखलाबद्ध कार्यक्रमहरू हुने गर्थे । प्रजातान्त्रिक संविधान कस्तो हुनुपर्छ ? भन्ने खाकादेखि विभिन्न मुद्दाका कुराहरू हुन्थे । ०४७ सालको असार महिनामा जस्तो लाग्छ, संविधानसम्बन्धी एउटा कार्यक्रमको रिपोर्टिङको क्रममा म थापाथलीस्थित ब्लुस्टार होटेल (अहिले त्यो होटेल भएको ठाउँमा सपिङ कम्प्लेक्स छ) पुगेकी थिएँ । सोही कार्यक्रममा मैले पहिलोपटक सहाना प्रधानलाई नजिकबाट देखेँ । रोचक त के भने चिया खाँदै गर्दा पहिलो भेटमै मैले उहाँसँग बोल्ने अवसर पाएँ । न्यायपरिषद्मा कार्यरत इन्दिरा राणाले ‘उहाँ पत्रकार हो’ भनेर मलाई चिनाउँदा ‘ए हो…एकदम राम्रो…’ भन्नुभएको थियो ।

त्यतिबेला महिलाहरू पत्रकारितामा ज्यादै थोरै थियौँ । त्यसैले पनि उहाँ खुशी भएको हुनुपर्छ । त्यसपछि उहाँसँग त पटक–पटक भेट भयो । सन् १९९५ मा बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा जाँदा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उहाँले नै गर्नुभएको थियो । म बेइजिङ गएकी थिइनँ तर तयारी बैठक तथा कार्यक्रमहरूमा उहाँसँग भेट भइरहन्थ्यो । उहाँ महिला तथा समाजकल्याण मन्त्री हुँदा कार्य कक्षमै बैठक र छलफलहरू हुन्थे । परराष्ट्र मन्त्री हुँदा पनि भेटघाट र कुराकानी भए । खै किन हो उहाँलाई भेटेदेखि नै मन्त्रीज्यु भन्नुभन्दा दिदी भन्न सहज लाग्थ्यो । मैले उहाँलाई सधैं दिदी नै भने । अहिले सम्झिँदा त्यो सम्बोधन ब्यवसायिक थिएन होला तर आत्मीय थियो । उहाँले बबिता भनेर तिमी सम्बोधन गर्नुहुन्थ्यो । शैलजा आचार्यलाई पनि मैले सधैं दिदी भनेँ । सहाना दिदीले ‘बबिता सुन न’ भनेको अहिले पनि कानमा गुञ्जिरहन्छ ।

नेपालको राजनीतिक आन्दोलनमा मात्र नभएर महिला आन्दोलनमा सहाना प्रधानको ऐतिहासिक योगदान छ । वि.सं. २००४ सालदेखि आन्दोलनमा होमिनुभएकी उहाँले जीवनभर समानताको वकालत मात्र नगरी नीति, कानून बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । महिला हित र उत्थानका लागि सडकदेखि सदनसम्म आवाज बुलन्द गर्नुभयो । उहाँको जिन्दगीलाई हेर्दा सङ्घर्षको लामो कथा जोडिएको छ । अहिले त बुझाउन गाह्रो छ, त्यतिबेलाको जमानामा समानताको आवाज उठाउनु सानोतिनो कुरा थिएन । राजनीतिमा महिलाको नगण्य सहभागिता भएका बेला, त्यो पनि राणाकालमा कसरी हिम्मत गर्नुभयो होला ? के उत्साहले साहस बढायो होला जस्तो लाग्छ । सहाना प्रधान यो देशको महिला आन्दोलनको मात्रै नभएर महिलाहरूले ब्यक्तिगत जीवन र घर–परिवार सम्हाल्दै ब्यवसायिक भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुराको उदाहरणीय जग पनि हो । छोरीले स्कुल पढ्नु आफैंमा सङ्घर्ष थियो । ट्युशन पढाउँदै उहाँले कलेज पढ्नुभयो । कलेज पढेपछि जागिर खानुभयो, कलेज पढाउनुभयो । अङ्ग्रेजी भाषा राम्रो थियो । म त अनुवादको काम पनि गर्थें भनेर एकपल्ट सुनाउनु भएको थियो ।

उहाँ पूरा समय राजनीति मात्र गरेर अघि बढ्नुभएको महिला होइन । कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक भूमिका निभाउनुभएका नेता पुष्पलालसँग विवाह भएपछि उहाँले कामकाजी महिलाको रूपमा घर सम्हाल्दै ब्यवसायिक जीवनलाई अघि बढाउनुभयो । राजनीतिको क्रममा पति सधैं बाहिर हुँदा दुई सन्तानकी आमा उहाँले बच्चा हुर्काउँदै पढाउँदै बढाउँदै सङ्घर्षको मोर्चामा हिँडिरहनुभयो । महिलाको दोहोरो जिम्मेवारीका विषयमा प्रायः सहाना दिदी कुरा गर्ने गर्नुहुन्थ्यो । महिलासम्बन्धी कार्यक्रममा बोल्दा उहाँले सधैं यो कुरा उठाउनुभयो । उहाँ भन्ने गर्नुहुन्थ्यो- ‘पुरुषहरूलाई सजिलो हुन्छ, खाना खाएर निस्किएपछि घर जति बेला आए पनि भयो, नआए पनि भयो तर महिलालाई समयमा घर आउनै पऱ्यो । आएर मात्रै भएर घर धन्दा पनि धान्नै पऱ्यो ।’ उहाँको पालादेखिको कामकाजी महिलाको दोहोरो तेहेरो जिम्मेवारी अहिलेसम्म कायम छ ।

सहाना दिदीलाई ओहदा, ‘हाइऱ्यारकी’ जस्ता कुरामा खासै मतलब थिएन । मुद्दाको गम्भीरता हेरेर उहाँले काम गर्नुहुन्थ्यो । मनले खाएको मान्छेले बोलायो भने उहाँ जानुहुन्थ्यो । सन् २००७ मा जस्तो लाग्छ, वैदेशिक रोजगारीमा महिलाको सन्दर्भमा युनिफेम (अहिले युएनवुमन) ले थापाथलीस्थित आफ्नै कार्यालयमा एउटा बैठक गरेको थियो । त्यतिबेला विभिन्न मुलुकमा नियुक्त गर्ने श्रम सहचरीलाई लिएर परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच एक प्रकारको द्वन्द्व चलेको थियो । परराष्ट्रको भनाई कुटनैतिक तौरतरिका, अङ्ग्रेजी भाषा सबैमा दखल भएको श्रम सहचरी चाहिन्छ त्यसैले परराष्ट्रकै कर्मचारी हुनुपर्छ भन्ने र यता श्रम मन्त्रालयले मान्छे नहुँदा श्रमको मुद्दा ओझेलमा पऱ्याो, श्रम मन्त्रालयको हुनुपर्छ भन्ने । वैदेशिक रोजगारीलाई लिएर अरु पनि मुद्दाहरू थिए जो परराष्ट्रले प्रत्यक्ष निगरानी गर्नु आवश्यक थियो । त्यसमा हाम्रा कुटनीतिक निकायका भूमिकालगायतका कुराहरू पर्थे ।

सहाना प्रधान यो देशको महिला आन्दोलनको मात्रै नभएर महिलाहरूले ब्यक्तिगत जीवन र घर-परिवार सम्हाल्दै ब्यवसायिक भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुराको उदाहरणीय जग पनि हो ।

महिलाको वैदेशिक रोजगारीसम्बन्धी कार्यक्रम त्यतिबेला युनिफेममा सरु जोशी श्रेष्ठले हेर्थिन् । म सञ्चारिका समूहको महासचिव हुँदादेखि नै हामीले यो विषयमा काम गरेका थियौँ । सरुले यो विषयमा एउटा रणनीतिक बैठक गर्नुपर्ने भन्दै परराष्ट्रमन्त्री नै बोलाउन पाए हुन्थ्यो भनिन् । सहाना दिदीले सरुलाई विषयगत ज्ञान भएको आफूनिकट मान्छेको रूपमा हेर्नुहुन्थ्यो । सरुलाई मैले तिमीले भनेपछि सहाना दिदी आउनुहुन्छ होला नत्र समय मिलाएर हामी नै परराष्ट्र मन्त्रालय जाउँ न त भनेँ । उनले मिटिङको एजेण्डा र गम्भीरता बुझाएपछि उहाँले यस्तो कुरामा छलफल गर्न ढिलो गर्न हुँदैन भन्नुभयो । कहाँ भेट्ने भन्ने सन्दर्भमा तपाईंहरूले बोलाएको ठाउँमा म आइहाल्छु नि भन्नुभयो । योजना आयोगका तात्कालीन उपाध्यक्ष दीपेन्द्र क्षेत्री, पूर्वउपाध्यक्ष मोहनमान सैंजुलगायतको सानो समूहमा हामीले छलफल गऱ्याौँ । सहाना दिदीले त्यतिबेला वैदेशिक रोजगारीमा परराष्ट्रको भूमिकालाई महत्वपूर्ण पाटोका रूपमा लिनुभएको थियो । उक्त बैठकपछि सहाना दिदी, सरु र म धेरै बेरसम्म अनौपचारिक कुरा गरेर बसेका थियौँ । उहाँले मिठो गरी बिस्कुट र चिया खाएको अहिले पनि बेला–बेलामा सम्झिन्छु । उहाँ त हामीलाई मन्त्री भन्दा पनि अविभावक जस्तो लाग्थ्यो ।

सञ्चारिका समूहको महासचिव र अध्यक्ष हुँदा मैले निमन्त्रणा गरेका कार्यक्रममा मन्तब्य राख्ने क्रममा ‘बबिताले बोलाएपछि नाइँ भन्न मन नलाग्ने…’ भनेर हौसला दिने गर्नुहुन्थ्यो । आफूले बोलेको कुरा पूरा हुनुपर्छ भन्ने कुरामा अडिग हुनुहुन्थ्यो । धेरै बोल्नुहुन्नथ्यो, बोलेपछि पूरा गर्ने कोशिस गर्नुहुन्थ्यो । बोलाइ र गराइको बीचमा फरक भएपछि पार्टीमा नेताहरूसँग उहाँका मतभिन्नता बढेका कति उदाहरणहरू छन् ।

अहिलेको पुस्ताले सहाना प्रधानबाट सिक्नुपर्ने कुरा धेरै छन्, त्यसमध्येको एक विनम्रता हो । मैले उहाँ मन्त्री हुँदा र नहुँदामा केही फरक देखिनँ । निश्चय नै मन्त्री हुँदा उहाँको भूमिका परिवर्तन भएको थियो, उत्तरदायित्व बढि हुन्थ्यो तर बोलीचाली र ब्यवहार सधैं उस्तै पाएँ । औपचारिक कार्यक्रमहरूमा सधैं सारी लगाउने सहाना दिदी प्रायः सिल्क सारी लाउनुहुन्थ्यो । आफूभन्दा सानालाई माया गर्ने र आत्मीय ब्यवहार गर्ने बानी थियो । उहाँसँग कुरा गर्दा त्यति ठुलो मान्छेसँग होइन नजिकको मान्छेसँग कुरा गरिरहेको छु जस्तो लाग्थ्यो । म सहाना दिदीलाई आत्मसम्मानले भरिपूर्ण आत्मीय ब्यवहार गर्ने असल अग्रजको रूपमा सम्झने गर्छु । उहाँप्रतिको सम्मान जिन्दगीभर कायम रहनेछ ।


(‘सहाना प्रधान’ पुस्तकमा प्रकाशित)