कोरोना-त्रासका साथ बेल्जियममा दशैँ !

कोरोना-त्रासका साथ बेल्जियममा दशैँ !



■ सनत आचार्य, बेल्जियम


कोरोना संक्रमणको उच्च जोखिमका बाबजुद बेल्जियममा रहेका नेपालीहरूले आफ्नो धर्म-संस्कृतिलाई निरन्तरता दिन बडा दशैँ मनाएका छन् । यो पटकको दशैँ भने अधिकांश परिवारलाई निरस भएको महसुस गरिएको छ ।

विगतमा कतिपय स्थानमा सामुहिक रुपमा दशैँ मनाइए पनि यसपटकको दशैँ भने घर परिवारमै सीमित रहेर मनाउनुपर्ने बाध्यता रहेको यहाँका नेपालीहरूको भनाई छ ।

विगतका वर्षहरूमा कतिपय सामाजिक संघ-संस्थाहरूले सामुहिक कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने र साँस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरी दशैँ मनाउने गरिएकोमा यो पटक भने हर्षोल्लासको वातावरण देखिएन ।

नेपाल पत्रकार महासङ्घ युरोप शाखाका सभापति केजिन राईका अनुसार वाह्य वातावरण राम्रो नभएकाले यसपालिको दशैँ परिवारमै सीमित रहेर सामान्य रूपमा मनाइएको बताउनुभयो । राई भन्छन्, ‘बेल्जियममा दैनिक रूपमा देखापरेको संक्रमणका कारण नजिक रहेका आफन्तहरूसग समेत सँगै बसेर दशैँ पर्व मनाउन नपाउँदा खल्लो महसुस भएको छ । यो वर्ष उहाँको दशैँ परिवारमै सीमित रहेर मनाइएको उहाँको भनाई छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीका अनुसार यसपालिको बडा दशैँ खासै विषेश नभएको र बन्दाबन्दीको अवस्थामा मनाउन पर्दा खल्लो रहेको बताउनुहुन्छ । अधिकांश नेपाली व्यवसायीमा काम र व्यवसायको समस्या रहेकोले पनि यो बर्षको दशैँ उल्लासमय नरहेको सुवेदी बताउनुहुन्छ ।

एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय समितिकी निवर्तमान सचिव जानकी गुरुङले पनि अहिलेको विषम परिस्थितिका कारण सिर्जित अवस्थामा यो पटकको दशैँ परिवारमै सीमित रहेर मनाएको बताउनुभयो । गुुरुङको परिवार ठुलो भए तापनि सीमित परिवारमा खुम्चिएर दशैँ मनाएको उहाँको अनुभव रह्यो ।

तमु समाज बेल्जियमकी अध्यक्ष दुर्गा गुरुङले पनि वर्ष दिनमा आउने दशैँ चाड आफ्न्तहरू बीच मनाउने रहर हुँदाहुँदै पनि कोरोना र पालना गर्नुपर्ने नियमले गर्दा यो पटकको दशैँ घरभित्रै सामान्य रूपले मनाएको बताउनुहुन्छ । गुरुङका अनुसार धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने क्रममा यो पटकको दशैँ परिवारमा मात्र सीमित रह्यो । यो वर्ष दशैँ खल्लो भएता पनि आगामी वर्ष भने यस्तो नहोस् भन्ने उहाँको कामना छ ।

युवा व्यवसायी शिव डाँगी पनि यो वर्षको दशैँ पनि त्रासमै बितेको बताउँछन् । डाँगी भन्छन्, एक दशक पहिले नेपालीहरूमा दशैँ मनाउने एउटा बेग्लै खाले माहोल थियो । यो माहोलले प्रवासमा रहे पनि आफ्नो मौलिक धर्म संस्कृतिको सामुहिक रुपले जगेर्ना गर्न सहयोग मिलेको थियो, तर जातीय अतिवादका कारण पछिल्लो समयमा सामुहिक रूपले यो महान पर्व मनाउन नसकिएको उनको बुझाई छ ।

विगतका वर्षहरूमा बडा दशैँदेखि कोजाग्रत पूर्णिमासम्म बेल्जियमका सडकमा जमरा र टीका लगाइएका प्रशस्त मानिसहरू भेटिने गरे पनि यस पटकको दशैँमा भने शुन्य रहेको रेभर्ली बस्दै आएका व्यवसायी अर्जुन गुरुङको अनुभव छ । उनी भन्छन्, ‘प्रायः आफन्त साथीभाइहरूसँग भेटघाट, रमाइलो गरी मनाउने गरेको दशैँ यो पटक त दशैँ जस्तै लागेन ।’

गुरुङको जस्तो अनुभव वीरेन्द्र मल्ल ठकुरीको पनि छ । उनको घरमा दशैँमा प्रायः रमझम भीडभाड हुने गर्दथ्यो । साथीभाइ, आफन्तहरूको आवतजावत बाक्लै हुन्थ्यो, तर यो पटक उनको दशैँ परिवारमै सीमित रह्यो । मल्ल भन्छन्, दशैँ हिन्दु संस्कार र परम्परालाई निरन्तरता दिने माध्यम भएको हुनाले यसलाई जे–जस्तो परिस्थितिमा पनि मनाउन जरुरी छ ।’

पछिल्लो समय बेल्जियममा युरोपका अन्य देशहरू भन्दा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । पन्ध्र दिनयता बेल्जियममा एक लाख भन्दा बढि मानिसमा कोरोना संक्रमण देखापरिसकेको छ । सरकारद्वारा एक परिवारबाहेक अर्को परिवारसँग भेटघाट बसउठमा प्रतिबन्ध लगाइएको छ । रेष्टुरेण्ट बारहरू एक महिनाका लागि मानिसको आवतजावत बन्द गरिएका छ । राति १२ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । चार जना भन्दा बढि मानिस भेला हुन रोक लगाइएको छ ।

यस्तो परिस्थितिमा बेल्जियममा रहेका नेपालीहरूले घरभित्र सीमित रही दशैँ मनाएका छन् । त्यस्तै कतिपयको लामो समयसम्म व्यवसाय बन्द हुँदा र व्यवसायले सिर्जना गरेको रोजगारीलाई समेत असर गरेको हुँदा यो पटकको दशैँ खर्चको दृष्टिकोणले पनि कम भएको देखिएको छ । त्यस्तै यो समयमा धेरै प्रवासी नेपालीहरू दशैँ मनाउन नेपाल घर जाने गरेकोमा बन्दाबन्दी तथा संक्रमणका कारण पनि बेल्जियममै दशैँ मनाउनु परेको देखिएको छ ।

परिस्थितिले यो पटकको दशैँ नितान्त परिवारमा सीमित रहेकोले आगामी दशैँ थप उल्लासमय र रमाइलो हुन सक्ने समाजसेवी रमेश कँडेल बताउँछन् ।

त्यस्तै युवा समाजसेवी सुमन बोगटीले दशैँ समस्त हिन्दु धर्मावलम्बीलगायत अन्य समुदाय समेतले हर्षोल्लासका साथ मनाउने र यो महान चाड घरभित्रै मनाइए तापनि यसको महत्व विशेष प्रकारको भएकोले अगाध आस्थाका साथ बडा दशैँ मनाएको बताउनुभयो । बोगटीले आफूहरू परदेशमा रहे पनि सञ्चारका माध्यमद्वारा पुजनीय आदरणीय मान्यजनहरूबाट आशीर्वाद लिई बडा दशैँलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।