‘रअ’प्रमुखको नेपाल-आगमन, नेकपा प्रवक्ताको टिप्पणी र प्रधानमन्त्री ओली

‘रअ’प्रमुखको नेपाल-आगमन, नेकपा प्रवक्ताको टिप्पणी र प्रधानमन्त्री ओली



■ सागर सुवेदी


युरोपमा यतिबेला घडी बदलिएको छ, ‘समर’बाट अब ‘विन्टर’ याम आरम्भ भएको छ । नेपालसँगको समय अन्तर ३ः४५ थियो भने अब ४ः४५ घण्टाको समयान्तर हुनेछ । तथापि, घडी परिवर्तन हुँदैमा मानव शरीरको नित्य-निरन्तरका क्रिया भने परिवर्तन नहुने रहेछ । सधैंझैँ आँखा खोल्ने समयमा आँखा खुल्यो । आजकल घडीको कामसमेत स्मार्ट फोनले नै गर्ने हुँदा त्यसतर्फ आँखा गयो । ६ बज्न लागेको रहेछ, आँखा खुले पनि झट्ट नउठ्ने बानीका कारण हात स्मार्ट फोनमा घुम्यो । हातले रोल गर्न मात्र के लागेको थिएँ, सत्तारुढ नेकपाका प्रवक्ता, जसलार्ई तुलनात्मक रूपमा शालिन एवम् सादगीयुक्त नेता मान्न सकिन्छ, नारायणकाजी श्रेष्ठको स्ट्याटस देखेँ । उनी भर्खरै गृहजिल्ला गोर्खाबाट काठमाडौं फर्केका रहेछन् । नेपाल कम्युनिस्ट पार्टी वैचारिक तथा ब्यवहारिक तवरले हेर्दा ‘नक्कली’ भन्ने प्रस्ट भएता पनि नारायणकाजी श्रेष्ठ अलिक सक्कली प्रतीत हुन्छन्, पङ्क्तिकारको बुझाई छ । त्यसमाथि उनी कम्युनिष्ट भइकन पनि अध्यात्ममा विश्वास राख्नेमध्येमा पर्दछन् भन्ने बुझिन्छ ।

नारायणकाजीको उक्त स्ट्याटस हेर्ने हो भने नेकपाभित्रको वर्तमान अन्तरिक झगडा छताछुल्ल देख्न सकिन्छ । नेकपाको विवाद बाहिर मिलेजस्तो देखिए पनि सहअध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी तथा पूर्वएमालेलार्ई सिध्याई सिङ्गो पार्टीको एक्लो शक्ति बन्ने लालसामा छन् भने प्रधानमन्त्री ओली पनि आफूलार्ई प्रतिरक्षा गर्दै कम्तिमा पनि राजकीय सत्ताका साथै पार्टी सञ्चालनको साँचो प्रचण्डको पासमा पर्न नदिनको लागि आफूले सकेको गरिरहेकै छन् । नेकपा विवादका थप अन्य विषय सबै समेट्न खोज्दा लेख लम्बेतान बन्न सक्छ । नेपालमा कम्युनिस्ट पार्टीको फुट र जुटको इतिहास छ । अबका केही समयमा फेरि नेपाली जनताले देख्ने नै छन् ।

यहाँ हर नेपाली नागरिकले गम्भीर बनेर सोच्नुपर्ने विषय भनेको ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटका विषयमा प्रवक्ता श्रेष्ठले टिप्पणी गरे, प्रक्रिया नपुगेको भनी सार्वजनिक असन्तुष्टि ब्यक्त त गरे, तर उसैले ल्याइदिएको गणतन्त्रबारे आजसम्म टिप्पणी गरेको सुनिएको छैन ।

नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठको ध्यानाकर्षण भारतीय जासुसी संस्था ‘रअ’का प्रमुखको नेपाल आगमनका साथै प्रधानमन्त्री ओलीसँगको एक्लाएक्लै भेटबारेमा थियो । भलै नेकपाका प्रभावशाली नेता नारायणकाजी यस विषयमा पूर्ण जानकार छैनन् भन्नेमा पङ्क्तिकार प्रस्ट छैन । जे होस्, नारायणकाजी कम्युनिस्टभित्रका राष्ट्रवादी नेता हुन् जस्तो महसुस हुन्छ । यो बुझाइ आजको नभएर उनले आजसम्म देखाउँदै आएको ब्यवहारको कारण नै हो । पार्टीभित्र अलिक समन्वयात्मक भूमिकामा देखिने पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी प्रधानमन्त्री ओली तथा पार्टी अध्यक्षको विषयलाई यसरी सामाजिक सञ्जालमै किन राखे भन्ने प्रश्न अहिले थोरै कुटनीति बुझ्ने आमनेपालीको मनमा झङ्क्रित भइरहेको होला । हुन सक्छ- नारायणकाजीले नेकपाका दुई अध्यक्षमध्ये सहअध्यक्ष प्रचण्डको प्रवक्ताको भूमिका निभाएका होलान् । यो विषय भोलिका दिनमा बाहिर आउने नै छ ।

रअ प्रमुखको नेपाल आगमनको कारण के हुन सक्छ ?

हर नेपाली जानकार भएको विषय भनेको भारतीय जासुसी संथा रिसर्च एण्ड अनलाईसिस विङ्ग (रअ) कै डिजाइन तथा पश्चिमा शक्तिको सहयोगका कारण नेपालमा गणतन्त्र ल्याइएको थियो । भलै अझै पनि नेपालका केही मै हुँ भन्ने नेताहरू पनि ०६२/६३ को जनआन्दोलनको उपलब्धि नै गणतन्त्र हो भनिरहन्छन्, पङ्क्तिकार यस कुरासँग असहमति राख्दछ । कुनै समय टेलिभिजन अन्तरवार्तामार्फत् वर्तमान प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिए कि १२बुँदेको रफ लेख्ने मै हुँ । केपी ओलीले जे भने पनि कसको १२बुँदे सम्झौता कसको डिजाइनमा लेखिएको विषय थियो भन्ने आज प्रस्ट भएको छ । सुर्य जस्तो प्रस्ट भएको विषयमा बहस गर्न आवश्यक पनि छैन । हामीले बुझ्नुपर्ने विषय भनेको आजसम्म जे–जति हस्तक्षेप भए भारतीय पूर्व संस्थापन पक्षको नेपाललाई क्रिश्चियन राज्य तथा पश्चिमाको प्रभाव तथा बिदेशी सेना उतारेर देश रणभूमि बनाइ छिमेकी मित्रराष्ट्र चीनलक्षित षडयन्त्रका लागि हो भन्ने विषय पनि लुकेको छैन । पश्चिमा हिजो पञ्चायतकालदेखि नै नेपालमा सक्रिय रहिरहेको छ । मुस्ताङ तथा मनाङमा केही दशक अगाडिको खम्पा काण्ड रचेबाट पश्चिमाको षडयन्त्र उजागर हुन पुगेको थियो । त्यसबेलादेखि नै नेपालमा राजसंस्था पश्चिमा तथा क्रिश्चियनकरणको बाधक मानिएको थियो ।

हामीले सिक्किम घटनामा जासुसी संस्था ‘रअ’ले कसरी काम गऱ्यो भन्ने विषयलाई पढिरहेकै थियौँ । तत्कालिक भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले उक्त बेलाका रअ प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर सिक्किमलाई भारतमा गाभ्न नसकेको खण्डमा सिक्किम देश नै भोलिको भारतको खतरा हुन सक्छ भन्ने आशयको निर्देशन दिन नपाइसक्दै रअ प्रमुखले गान्धीलाई भनेछन्- तपाईंले २४ घण्टामा यसको परिणाम देख्नुहुनेछ । हुन पनि २४ घण्टामा नै लेन्डुप दोर्जेका कारण सिक्किम देश नरहेर भारतको राज्य बन्न पुग्यो भन्ने इतिहासबाट देखिन्छ कि यसका एजेन्ट कस्ता हुन्छन् तथा यो संस्थाले कसरी काम गर्छ ! नेपाली आज पनि प्रस्ट छन् नेपाली लेण्डुप को हुन् भन्ने विषयमा ।

हामी प्रस्ट छौँ, हिजो माओवादी भन्ने हिंसात्मक राजनीति नाममा व्यक्ति हत्या गरेको समूहलाई इन्दिरा गान्धीकै उत्तराधिकारी सोनिया गान्धीले कसरी संरक्षण गरेकी थिइन् । ‘रअ’कै योजनामा आतंककारीको समुहलाई भारतीय सैनिक क्याम्पमा दिइएको तालिम, प्रचण्ड दिल्लीमा भारतीय सुरक्षामा रहेर नेपालका बैंकहरू लुटिँदै थिए भने निर्दोष नेपाली आमाका छोराछोरीहरू मारिँदै थिए भन्ने विषय पनि कतै लुकेको विषय भएन । त्यो बेला यो सम्पूर्ण काम रिसर्च एण्ड एनालाइसिस विङ्गकै नेतृत्व तथा निर्देशनमा भएको थियो भन्ने आम नेपाली प्रष्ट छन् ।

बितेको दशकबाट आजसम्म गङ्गामा धेरै पानी बगिसकेको छ । हिजो देशलाई इसाइकरणका गर्न लागिपरेको भारतीय सत्तापक्ष आज शक्तिमा छैन । नेपालप्रति थोरै स्नेही तथा एक अलग मुलुक भनेर मान्यता दिने व्यक्ति नरेन्द्र मोदी प्रधानमन्त्री छन् । भनिन्छ- प्रधानमन्त्री परिवर्तन हुँदैमा ठूला शक्तिराष्ट्रका सामरिक स्वार्थ तथा परराष्ट्र नीति झट्ट परिवर्तन हुँदैनन्, तथापि मोदीले नेपालप्रति अगाध स्नेह देखाएकै हुन् । डेढ घण्टामा उडेर आउन सकिने काठमाडौंसम्म हिजोका दशक भारतीय सत्ता नेतृत्व आउन चाहेन, छिमेकी नेपाललाई उसले हेर्ने दृष्टिकोण राजा तथा रैतीको जस्तो थियो । यो तहको सम्बन्धलाई प्रधानमन्त्री मोदीले तोडि दिए । दशकौँ हुन नसकेको उच्च तहको भ्रमण मोदीबाटै सुरु भयो । प्रधानमन्त्री मोदी, नाकाबन्दी, नाकाबन्दीका कारण के जस्ता विषयमा अल्झेर विषयवस्तु बङ्ग्याउन र आलेख लम्ब्याउन पङ्क्तिकार चाहँदैन । तर मोदीको पछिल्लो संयमतापूर्ण ब्यवहार एवम् मौनताभित्र कारण पक्कै छ । प्रधानमन्त्री मोदीले सङ्घीय गणतन्त्र त्यसमा पनि सङ्घीयतासमेतको धर्मनिरपेक्षता चाहेका हैनन् । मोदी निर्वाचित बनेर भारतको सत्ताको लगाम समाउन नपाउँदै नेपालमा हतार संविधान निर्माण गरियो । मोदीले नेपाललार्ई एक अलग सार्वभौम राष्ट्रको हैसियतमा व्यवहार साथै हिजोका गल्तीलाई सुधार्नका लागि केहि गर्नुपर्छ भन्ने समयमा विदेशी हण्डी खाएका खेताला लेखकहरूले मोदीको यसरी बदनाम गरे कि आज मोदी नेपालको एक मात्र शत्रु हुन् भन्ने जस्तो दुर्भाव पैदा गराउन खोजिएको छ । मोदीका पछिल्ला ब्यवहारले पुस्टि गरिरहेका छन् कि हिजोका सत्तापक्षले गरेका गल्तीलाई सुधार्ने र नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने उनको ध्येय छ । भारत आफै सामरिक शक्ति चीनसँगको ब्यापार तथा सैनिक होडमा प्रतिष्पर्धा गरिरहेको छ, यस्तो अवस्थामा मोदीले नेपालसँगको आफ्नो कुटनीतिलाई सन्तुलित अवस्थामा ल्याउन चाहेका देखिन्छ । सोही प्रयोजनका लागि रअ प्रमुख गोयललाई आफ्नो दूत बनाएर प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष कुराकानी गराई प्रधानमन्त्री मोदीले आफ्नो सन्देश सुनाउन चाहेका होलान् । भलै यस्तो भेटमा कुटनीतिक प्रोटोकललाई प्रधानमन्त्री ओलीले मिचेकै हुन् । तथापि, गोयल-भ्रमणको विरोध गर्नेहरूले हिजो एक भारतीय सहसचिव (कर्मचारी)को निर्देशनलाई आशीर्वाद ठान्नेहरूले मनन गरुन् ।

केपी ओलीले नबोलेका तर चाहेका के हुन सक्ला ?

प्रस्ट छ कि बाहिर जे बोले पनि प्रधानमन्त्री ओली वर्तमान सामरिक सत्ताका समर्थक हुँदै होइनन्, हिजोदेखि आजसम्मका केपीका काम गराइले यही प्रस्ट गरिरहेको छ । कथित नै सही हिजोको जनआन्दोलन तथा ब्यवस्था परिवर्तनको बहसमा केपीका भनाइ सधैँ उल्टो रहने गर्दथे । तर खराबहरूमा कम खराब खोज्ने हो भने वर्तमान प्रधानमन्त्री अहिले जीवित रहेका सत्ता तथा प्रतिपक्षका नेताहरू भन्दा कयौँ बढी देशप्रेमी हुन् । नेपालीले आजको नेपाल देख्न पाएको कारण केपी नै हुन्, गणतन्त्रका प्रारम्भिक दिनमा तत्कालिन ‘आतङ्ककारी’हरूसँग एक्लै प्रतिरोधको हिम्मत गर्ने पनि केपी नै हुन्, आज नेपालमा रहेको वाक स्वतनत्रता तथा स्वतन्त्र प्रेसको कारण पनि केपी नै हुन् । केपीले देशको पक्षमा गरेको कर्मप्रति जश दिनै पर्दछ ।

देशले नयाँ एवम् उत्साहवर्द्धक नयाँ नेता निर्माण गरिनसकेको अवस्था, प्रचण्डद्वारा सम्पूर्ण सत्ताको मालिक बनेर आधिनायकी शासन चलाउने उपयुक्त मौका खोजिइरहेको अवस्था, साथै भारतीय वर्तमान सत्तापक्षले पनि केपीबाहेक अर्को पात्र नभेटेको कारण केपीमार्फत नै सम्पूर्ण गल्ती–कमजोरी सुधारी नेपालसँगको सम्बन्धलाई अगाडी लैजाने उद्देश्य राखेको बुझिन्छ । यसको लाक्षणिक अर्थ हुन्छ– नेपालको राजनीतिक परिवर्तन, ब्यवस्था परिवर्तन !

हेरौँ ! त्यो दिन कति टाढा छ !?