यसपालिको बडा दशैं घरभित्रै !

यसपालिको बडा दशैं घरभित्रै !


विकास रौनियार, धादिङ

बडादशैँको महत्त्वपूर्ण दिन आज विजयादशमी । कोरोना संक्रमणका कारण यसपालि धादिङ जिल्लामा पनि दशैँको रौनक देखिएको छैन । सर्वसाधारण पनि घरमै बसेर सामान्य किसिमले दशैँ मनाउने बताउँछन् ।

विजयादशमी दिन पनि येसपाली पृथ्वीराजमार्गअन्तर्गत पर्ने विभिन्न बजार क्षेत्रमा बडादशैँको रौनक देखिएको छैन । कोरोना संक्रमणका कारण सर्वसाधारण त्रासमा रहेका कारण विगत वर्षजस्तो रौनक नदेखिएको हो । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर बडादशैँ मनाउन पटकपटक आग्रह गरिरहेको छ भने सर्वसाधारण पनि यसपालि अनावश्यक चमकधमक गर्ने पक्षमा छैनन् । स्वास्थ्य सचेतना अपनाएर सामान्य किसिमले चाड मनाउने धुनमा छन् उनीहरु ।

संक्रमणको त्रासका कारण कतिपय भने यसपटक आफन्तकहाँ नगई घरमै दशैँ मनाउने मनस्थितिमा छन् । संक्रमणका बेला अनावश्यक रूपमा ओहोरदोहोर गर्दा जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरूको भनाइ छ । संक्रमणको कहरबाट जोगिन सकिए दशैँ त अर्को वर्ष पनि आउने उनीहरूको तर्क छ ।

कोरोना संक्रमणको कहरका कारण सर्वत्र त्रास छ । त्यसैले यस्तो वेला अनावश्यक ओहोरदोहोर गर्नुको साटो घरमै बसेर चाडपर्व मनाउनु र परिवारमै रमाउनु बुद्धिमानी हुने देखिन्छ ।