■ प्रमिला पान्डे
दशैँले छपक्कै छोप्योको थियो गाउँलाई । जमरा राखिसकियो । केही दिनमै फूलपाती, अष्टमी, नवमी, दशमी गन्दागन्दै पूर्णिमा आउँछ अनि सकिन्छ दशैँ । हरेक वर्ष उसैगरी दशैँ आउँछ, जान्छ झै लाग्थो तर यसपालि दशैँ आएर पनि नआएझै भयो मन खिन्न खिन्न ।
कलिलो उमेरमा जिम्मेवारीको भारी दाजुले बोक्नुभएको दशैँ थियो त्यो । आफ्नै रहरको पखेटा भर्खर हाल्न थालेका दाजुका काधमा सिंगो परिवारको जिम्मेवारीले थिचेर पखेटा उम्रन नपाइ कर्याक कुरुक्क पारि भाचिदिएको थियो समयले ।
दशैँ न हो गाउँघर वरपर चहलपहल निकै बढ्दै थियो । विदेश गएका मेरा साथीका बुवा आउने रे यो दशैँमा स्कुलमा हुँदा उनीहरू सुनाउँथे ।
शहर गएका छिमेकी काकाका छोराछोरी नि घर आउने रे ।
को आए को आएन्न सोधखोज सबैले गर्छन गाउँमा, जसले गाउँ जति रमाइलो कतै हुँदैनथ्यो ।
बुवा बित्नु भएपछिको दशै स्विकार्न निकै गाह्रो पऱ्यो सबैलाई । दाजु आफूलाई अभिभावक भएको भान गर्दै जबर्जस्ती ओठमा हासो ल्याउँदै हुनुहुन्थ्यो तर अनुहारले भने प्रष्ट देखाइरहको थियो भावविह्वलता ।
दिदिआमालाई घर सिगार्ने र भान्सा सम्हाल्दै गर्दा बुबाको झल्को नआएझैँ गरिरहनुहुन्थ्यो ।
टीकाको दिन बिहानै दाजुले भन्नू भो- ‘साइतमै टीका लाउनु पर्छ , सिंगारपटार चाडै सक्नु ।’
त्यो वाक्य सधैं बुबाले भन्नुहुन्थ्यो म झस्किएँ ।
‘यसपालि देखि हाम्रामा बुबाको ठाउँमा दाजु ? अहो ! कस्तो नसुहाएको मेरो मुखबाट फुत्कियो ।’
सानै भएकाले कसैले केहि भन्नुभएन त्यतीबेला सायद दशै भनेर पनि होला ।
मेरो भने आँखा अघि बुबाको आकृती झल्किदै थियो । हुन त दाजुले पनि दशैको ठिक पार्नु पर्ने सबै सामान बुवाले जस्तै ठिक पार्नु भएको थियो नै तैपनि उहाँ हुदाको दशै झलझल सम्झिए ।
दाजुले सबै बहिनीहरु र आमालाई दशैमा नयाँ लुगा ल्यादिनुभएको रहेछ । दिदिहरुले पर्दैन भन्नुभएको थियो तर लुगा सबैलाई आएको थियो ।
आमालाई रंगिन लुगामा पनि रातो रङ्ग नमिसिएको लुगा मनपर्दैथ्यो तर यसपटक पुर्णतया फिक्का फिक्का देखिदै हुनुहुन्थ्यो र पनि सहर्ष स्विकार्दै गरेको देखेर सोधेछु, ‘आमा कस्तो नसुहाएको अर्को लुगा लाउनुस न, अब टीका लाउन हुने भएपछि त किन फिक्का लाउनु हुन्छ ?’
यसपटक भने मैले नराम्रोसंग गाली खाए त्यो नि सबैभन्दा प्यारो दाजुको मुखबाट ‘किन धेर जान्नी हुनपर्यो तलाई ।’
दाजुले यति के बोल्नु भो मेरो आँखा टिल्पिल टिल्पिल हुँदै आँसु छल्कीयो ।
जसले जीवन धेरै माया गर्छ , उसले अलिकति ठूलो स्वर गर्यो भने पनि आँखामा आँसु आइहाल्ने बानी अझै गएको छैन मेरो । आफ्ना आँखा टिल्पिल पार्दै दाजुले मलाई अंगालो हालेर भन्नू भो- ‘सानी अब देखि यस्तो कुरा नगर है । तिमीहरूलाई बुवाले दिने हरेक माया , प्रेम, स्नेह र संस्कार र बुबाको कमि महसुस हुन नदिने जिम्मा मेरो भो ।’
हामी एकछिन अंगालोमा सुक्सुकायौ तर यसपटक आमा पनि रुनु भयो मलाई देखेर होइन फेरि बुवालाई सम्झिएर रुनु भयो उहाँसंग गएका सारा सपना सम्झेर झरे आँशु सायद आमाको । एकैछिनमा दशै घर मसानघाट जस्तो सब रुन लागे ।
दाजुले सबैलाई सम्झाउदै भन्नू भो मैले घरको पुर्ण जिम्मेवारी लिएको छु । बुवा नै त हुन सक्दिन तर बुबाको कमी महसुस हुन, न आमालाई दिनेछु न त बहिनीहरुलाई ।
तिमीहरूले पनि त मलाई जिम्मेवारी पूरा गर्न सघाउन पर्छ ।
हाँसो खुशीले परिवारलाई उज्यालो पार्नु र उर्जा
बन्नु पर्छ हाम्रा लागि ।
उमेरले आलोकाचो मेरो दाजुमा जुन परिपक्वता थियो नि होस म आज पनि सम्झन्छु । तिनै परिपक्वता जीवन अघि बढाउन मार्गदर्शक बनेको छ मेरो ।
जीवनमा बुबाको वास्तविक माया पुर्णरुपमा बुझ्न नपाएकी मैले एउटा जिम्मेवार दाजु, बुवा भएर जीवन सहज बनाइदिनु भएको भने मज्जाले बुझेको र माया पाएको छु ।
उहाँको त्याग,निष्ठाको प्रती सदा शिर झुकिरहन्छ ।
त्यसैले होला जीवनमा बुवा मात्र बुवा होइन्न, दाजु स्वंयम पनि शाश्वत बुवा नै लाग्छ मलाई । आफ्ना सपनाहरू माया मारेर , अप्ठ्याराहरुसंग लडेर हार नखानेलाई नै होइन वीर भन्ने ? यसैले हाम्रा दाजु पनि हाम्रा लागि ठूलो योद्धा नै हुन् ।
हाम्रा सपना पूरा गर्ने अठोट नगरिदिएको भए म पनि अरु छोरी मान्छे जस्तै घरधन्दा र चुलो चौकोमा मात्र सिमित हुनु पर्थ्यो । बुवा समानका दाजु थिए र त आज जीवन खुशी खुशी आफ्नो इच्छा अनुसार चलिरहेको छ ।
जस्ले आज पनि हामीसंग फिस्स नक्कली हासो हास्दै भन्नुहुन्छ- ‘तिमीहरूको लागि मैले कहिले केही नाई र हुन्न भनेको छु र ?’
कति सरल,शालीन । कोहि कसरी यस्तो हुन सक्छ होला जस्तो लागिरहन्छ उहाँलाई देखुन्जेल ।
भगवान तिमी साच्चै छौ र पुकार सुन्छौ भने हरघरमा मेरो जस्तै दाजु देऊन है
प्रतिक्रिया