एमएनटिभीद्वारा अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिताको तयारी

एमएनटिभीद्वारा अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिताको तयारी



‘हल अफ फेम सिजन-२’ आयोजना गरिँदै


विश्व नै कोभिड-१९ को महामारीको चपेटामा परेको वर्तमान विषम परिस्थितिमा गायन प्रतिभा प्रोत्साहनका लागि अष्ट्रेलियाबाट सञ्चालित एमएनटिभी (माइ नेपाल टेलिभिजन) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन-२’ शुरु गर्न लागेको छ । नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना–कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत-संगीतको माध्यमबाट जोड्दै उनीहरूको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एमएनटिभीले जनाएको छ ।

पहिलो सिजनको सफलताका साथ समाप्तिपश्चात यसलाई अझ बृहद बनाउँदै लाखौं दर्शक–श्रोतामाझ लैजाने जमर्को गरिएको जानकारी दिँदै आयोजक पक्षले हल अफ फेमलाई एमएनटीभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना बनाइएको बताएको छ ।

आयोजक संस्थाले दिएको जानकारीअनुसार कार्यक्रम विशुद्ध सांगीतिक प्रतिस्पर्धा हुनेछ । यसमा निर्णायक मण्डलको चयन गर्ने कार्य सम्पन्न गरिएको छ । हल अफ फेम सिजन २ को निर्णायकको भूमिकामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहनेछन् भने कार्यक्रममा युवा पुस्तालाई जोड्दै जाने अभिप्रायले यसको सञ्चालन गर्ने जिम्मेवारी मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठलाई दिइएको छ ।

प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिने समय आगामी नोभेम्बर १५ सम्म राखिएको छ । निर्धारित समयसीमाभित्र प्राप्त प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिने छ । त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ । आमदर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुने बताइएको छ ।

‘हल अफ फेम सिजन–२’ उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ ।

ज्ञातव्य छ, एमएनटीभी अष्ट्रेलिया सन् २०१२ मा स्थापना भई निरन्तर सञ्चालनमा रहेको छ । यसको अध्यक्ष मेलबर्नका सफल व्यवसायी एवं सामाजिक अभियन्ता चन्द्र योञ्जन रहेका छन् भने सम्पादकीय नेतृत्व सञ्चारकर्मी चिरञ्जीवी देवकोटाले गरेका छन् । हल अफ फेम सिजन २ को संयोजन संस्थाका ब्रान्ड म्यानेजर रमन झा र चर्चित म्युजिक भिडियो निर्देशक जीवन रसाईलीले गर्नेछन् ।

बताइएअनुसार कार्यक्रमलाई मेट्स इन्टरनेशनल र क्वीन्सफोर्ड कलेजले मुख्य प्रायोजन गरेको छ भने आरजीआईटी अष्ट्रेलिया, अल्टिमेट इन्ष्टिच्युट अफ अष्ट्रेलिया युआईएले प्रायोजन गरेका छन् । यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन, काठमाडौं प्रोपर्टीजको साथ रहेको छ ।

हल अफ फेम सिजन २ को मिडिया पार्टनरको रुपमा सेतोपाटी, अनलाईन खबर, क्यानडा नेपाल, रातोपाटी, नेप्लीज भ्वाईस, नेपाल ट्युब, नेप्लीज अष्ट्रेलियन, क्ल्याप बोर्ड, लाहुरी टिभी, ईनेपाल, हिमालय कंगारु, दि नेपाली टाईम्स अष्ट्रेलिया, लन्डन नेपाल न्यूज, खसोखासले साथ दिएका छन् ।