‘गणतन्त्रे गोलागानो’

‘गणतन्त्रे गोलागानो’



■ लामिछाने मातृका


गोलागानो भन्नाले भुँडीमा हाइड्रोक्लोरिक अम्लको उत्पादन र उपयोगितामा हुने असन्तुलनबाट आमासयको भित्तामा रहेका कोषहरूको सुजनलाई जनाउँदछ । अङ्ग्रेजीमा ग्यासट्राइटिस भनिने यो समस्या नहुने नेपालीजन बिरलै होलान् । एउटा प्रचलित कथन छ, कसैलाई नेपाली नागरिकता दिनुअघि ऊ नेपाली हो होइन भन्ने प्रमाणित गर्नु छ भने उसलाई गोलागानो छ कि छैन सोधे पुग्छ । अधिकांश नेपालीलाई पिराल्ने यो बिमार दीर्घकालिन रूपमा समाधान नगरिएमा त्यबाटै अल्सरदेखि क्यान्सर हुँदै मृत्युसम्मका जटिलताहरू ब्यहोर्नुपर्ने हुन्छ ।

हो, त्यस्तै अवस्था राज्य, राज्यप्रणाली र राज्यब्यवस्थामा पनि लागु हुन्छ । जब संसारमा विद्यमान शासन व्यवस्थामा असामयिक र असान्दर्भिक परिवर्तनहरू हुन्छन् तब गोला गानो जस्ता रोग हरूले गाँज्न थाल्दछ । नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्डित, अभिभाज्य अधिराज्य हो भन्ने कुरा दुनियाँलाई थाहा छ तथापि आजका दिनसम्म पनि हामीले एउटै कुरा संसारमा फलाक्दै हिँड्नु परेको छ कि ‘नेपाल विश्वमानचित्रमा सबैभन्दा पुरानो, कसैको अधीनस्थ नभएको सर्वदा स्वतन्त्र मुलुक हो ।’ यस्तो किन भैरहेको छ त ? प्रश्न विचरणीय छ । जवसम्म पात्र मात्र फेरिन्छ प्रवृत्ति उही रहन्छ, चित्र फेरिन्छ चरित्र उही रहन्छ, जबसम्म शासन ब्यवस्था बदलिए पनि अनुशासन बदलिएन भने, प्रशासन फेरिए पनि सुशासन फेरिएन भने जुनसुकै विधि र ब्यवस्था ल्याएता पनि देशको प्रगति र जनताको समुन्नतिमा खासै बदलाव आउँदैन भन्ने कुरा गत बाह्र वर्षमा घाम जत्तिकै छर्लङ्ग भएको छ ।

नीजिकरणका नाउँमा लठैतहरूलाई भर्ना गर्दै ट्रेड युनियनका बफादार सिपाहीहरूले देशभरका दर्जनौँ उद्योगधन्दा कलकारखानाहरू गणतन्त्रका हिमायती नाइकेहरूले पोली खाएको कुरा पत्याउन सायद यी सिपाहीहरू तयार छैनन् ।

न स्पष्ट विदेशनीति, न दर्बिलो अर्थतन्त्र, न त बेचि खाएका सरकारी उद्योगधन्दाको पुनरोत्थान । बाह्र वर्षमा देखिने र अनुभूत गरिने बाह्र वटा काम भएको भए माफ पाऊँ । जनकपुर जयनगर रेल कुदेको जमानामा हो । अहिले फेरि ल्याइन लागेको रेललाई वर्तमान सरकारको नीजि आविष्कार ठान्दै तिनका कार्यकर्ताहरू बुरुक-बुरुक भएका छन् । नीजिकरणका नाउँमा लठैतहरूलाई भर्ना गर्दै ट्रेड युनियनका बफादार सिपाहीहरूले देशभरका दर्जनौँ उद्योगधन्दा कलकारखानाहरू गणतन्त्रका हिमायती नाइकेहरूले पोली खाएको कुरा पत्याउन सायद यी सिपाहीहरू तयार छैनन् । नाम जुनसुकै होस्, चाहे कांग्रेस या नेकपाभित्रका भुपू माले, एमाले या माओवादी, मसाल । सवको काम त्यही नै हो ।

यी सवव राजनीतिक दल र यसका हाँगाबिँगा भ्रातृ, भगिनी, संगिनी संगठन लगायतका रसायनहरू देशको स्वास्थ्यका लागि हानिकारक छन् । किनकि देशलाई राजनीतिले, राजनीतिलाई नेताले, नेतालाई आसेपासे, भान्से, अरौटे, भरौटे र धुपौरेले अनि तिनले विधि र पद्दतिलाई खेलाएर ध्वस्त पार्दिन्छन् । किनकि आजकल राजनीति पेशा भएको छ, ब्यवसाय भएको छ ।

संसारमा राजनीति नामको पेशाको हालीमुहाली छ । यो यस्तो पेशा हो जसमा कर लाग्दैन, कसैलाई कसैको डर लाग्दैन । आहा ! क्या सुपथ पेशा, सुपर पेशा । यो पेशा न त भर न भरोसाको पेशा ! योे भन्दा ठूलो सुपरपावरको पेशा संसारमा कहिं कतै होला र ? संसारमा ब्याप्त सबै पेशाहरू यही पेशाको नियन्त्रण र नियमनमा रहने हुनाले यो पेशालाई ‘सुपर पेशा’ भनिएको हो । यो पेशामा तीन कुरा महत्वपूर्ण हुन्छन् । १. पावर २. पैसा ३. पहुँच । यी तीन कुराको सम्मिलनबाट ‘पद’ नामक लाभ प्राप्त हुन्छ । अपवादमा बाहेक लाभ (पद) ले पावर, पैसा र पहुँचको आपूर्ति गर्दछ । ‘पद’ नै यो पेशाको अनिवार्य सर्त हो । यो पेशामा ग्राहक (जनता) ले केही लिँदैनन्, दिने मात्र गर्छन् । मत दिन्छन्, मन दिन्छन्, धन दिन्छन्, ध्यान दिन्छन्, दिलोज्यान दिन्छन् । त्यो पेशामा संलग्न ‘दल’ नामका अनगिन्ती पसल छन् । कुनै सपिङ मल जस्ता, कुनै घुम्तीजस्ता कुनै बिहिबारे हटियाजस्ता । थरिथरिका यी पसलले परिपरिका परिकार बेच्छन् । सबैले एउटै नारामा विज्ञापन गर्छन् । ति रेडिमेड परिकारमा नुनदेखि सुनसम्म, तेलदेखि रेलसम्मका कुरा बेच्छन्, तर जे बेच्छन् सब उधारोमा बेच्छन् अनि ग्राहक (जनता) को कमलो मन फ्रीमा किन्छन् । बेच्नेले खोलानाला बेच्छन्, राष्ट्रिय अस्मिता, स्वाभिमान बेच्छन्, आत्मसम्मान, सिमाना बेच्छन् । देशका उद्योग-धन्दा, कलकारखाना बेच्छन् । मंहगोमा किनेका गाडी, घोडा, पंजेरो, हवाइजहाज कौडीका भाउमा बेच्छन् ।

त्यो एकादेश कुन होला, जहाँ जनता छैनन् कार्यकर्ता मात्र छन्, । जनता भएको भए देशको माया लाग्थ्यो होला, कार्यकर्ता भएकाले नेताको माया लाग्छ पार्टीको पीर लाग्छ । पेशा भन्नाले त्यस्तो कार्य, सेवा वा ब्यवसाय हो जुन, जीविकोपार्जनका लागि एक साधन हो । एउटा हिन्दी डिक्सनरीले दिएको पाँचवटा अर्थमध्ये एक अर्थले पेशाको सिधा शाब्दिक अर्थ बेश्यावृत्ति पनि हो । हुन त देहब्यापार पनि आवश्यक्ता, वाध्यता वा परिबन्दका कारण सम्बन्धितका लागि जीविकोपार्जन समेतको कार्य भएकाले परिभाषा अनुसार उक्त अर्थले खास फरक पार्दैन । राजनीति र बेश्यावृत्तिमा के समभिन्नता छ त्यो तत्काल खोजीको विषय भएन । तर राजनीति र पेशामा केही भिन्नता छ कि छैन खोजी हेर्दा भिन्नता भन्दा समरुपता बढि देखिन्छ ।

जनकपुर जयनगर रेल कुदेको जमानामा हो । अहिले फेरि ल्याइन लागेको रेललाई वर्तमान सरकारको नीजि आविष्कार ठान्दै तिनका कार्यकर्ताहरू बुरुक-बुरुक भएका छन् ।

राजनीति भन्न्नाले राज्यको मूलनीति वा राज्य संचालनको आधारभूत सिद्धान्त हो । अर्थनीति, विदेशनीति, सुरक्षानीति, सामाजिक विकास, समाजकल्याण, शान्ति-सुब्यवस्था, अनुसासन र सुसासन राजनीतिको मूलभूत र अनिवार्य विशेषता हुन् । तर आजको विश्वमा यसलाई राज्यसंचालनको मूख्यनीति भन्दा पनि पार्टी, सांसद, चुनाव, भाषण, पद, प्रतिष्ठा, ओहोदा, गरिमा, चाकडी, चाप्लुसी, तिकडम, कोपभाजन, आशिर्वाद, षड्यन्त्र, हत्या, आतंक, चरित्रहत्या, बिनास र बितण्डा राजनीतिका मूल अंग बनेका छन् ।

राजनीतिलाई ब्यवसाय बनाई नीजि स्वार्थ र नीहित उद्देश्य पूरा गर्ने रोडम्यापको रुपमा दुरुपयोग गरि यसको खास परिचयलाई फोहोरी खेलको रुपमा चित्रित गरिएको छ । हाम्रो देशमा पनि यसलाई पेशा बनाई गरिखाने भाँडोको रुपमा उपयोग गर्ने गरिएको छ । राजनीतिलाई हतियार बनाई जनताको ढाडमा बाद र सिद्धान्तको लाठी बर्साउने गरिन्छ । विवेकविहीन विचार, विधिविहीन राजनीति, अनुसासनबिनाको शासन, पद्दतिविहीन प्रकृया, निर्क्यौलबिनाको नियम, लगामबिनाको बडाहाकिमले देश हाँकिरहेछन्, केही वर्षदेखि ।

सबैभन्दा धेरै मजदुर (१२०२ जना) ले बनाएको गणतान्त्रिक संविधान नामको राजमार्गमा गुडाउने प्रयत्न गरिएको यो देश कसरी गुडेर समृद्धि नामक स्टेसनमा पुग्ला ? हुन त राजमार्गका निर्माता मजदुर मात्रै हाम्रा हुन्, यसका डिजाइनर, सर्भेयर, इञ्जिनियर, ओभरसियर सवै दक्षिणी मोहडाबाट छिरेका पश्चिमाहरू हुन् । हाम्रा मजदुरलाई यो राजमार्गको लम्बाइर्, चौडाई, यसको क्षमता, टिकाउपन, गुणस्तर केहि थाहा छैन । बालुवामा सिमेन्ट मिसाउने र पानी हालेर चलाउने बाहेक बिचराहरू लाई केहि थाहा छैन ।

अनियमित राजमार्गमा हालसम्म सवारीको चाल कछुवाको गतिमा देख्दा जो-कोहिले पनि अनुमान लाउन सकिन्छ कि घटस्थापनामा राखेको जमरा चैतेदशैँमा काम लाग्दैन भनेर । किनकि स्वर्गद्वारी र खप्तड जाने बाटो बरु सय गुणा राम्रो होला यो देश गुडाउने राजमार्ग भन्दा । यसलाई हाँक्ने लाइसेन्स पाएका ड्राइभरको योग्यता, क्षमता अनुभवले मात्र सवारी ठाउँमा पुग्दैन त्यसका लागि सवारीको इञ्जिन राम्रो र राजमार्ग पनि स्तरीय हुनुपर्दछ । अलिअलि भएका राजमार्ग लाई ध्वस्त गरेर त्यहि ध्वस्त राजमार्गमाथि सवारी गुडाउन तल्लीन छन् वर्तमान चालकहरू । जसरी सवारीमा इञ्जिन, इन्धन, सडक र चालक चार कुरा महत्वपूर्ण हुन्छन् त्यसरी नै देशमा राजनीति गर्ने र त्यसको आडमा राज्य हाँक्ने कार्य पनि चार कुरामा निर्भर गर्दछ । १.राज्यको संरचना २. राज्यको श्रोत र साधन ३. राज्यको सामाजिक सांस्कृतिक सम्वन्ध र ४.कानुन र प्रसासन, न्याय र सुसासन । हामी कहाँ अवलम्वन गरिएको संविधानले अलिअलि भएका यी चारै कुरालाई ध्वस्त पार्ने कुरा यसको प्रयोगले देखिँदैछ ।

राज्यले धान्न नसक्ने संरचना, छोटे–बडे सरकार, आयोग, मन्त्री, सांसद, सचिवालय, विभाग, परिषद् इत्यादि । यिनको उपादेयता र दीर्घकालिन अस्तित्व कति हदसम्म सर्वस्वीकार्य होला ? जस्तो नौ राज्य प्रमुख, आठ मुख्यमन्त्रि, मनग्ये मन्त्री र अनगिन्ती सांसदले कुनै ढुकुटीको एकभरी धान अठार सय पच्चिस दिनमा अघाउँजी खाँदा र आसेपासे लोभीपापी खेताला भान्सेलाई समेत खुवाउँदा ढुकुटी रित्तिनबाट कति प्रतिशतले बचाउन सकिएला ? यस्तै छ हाम्रो संघीयता । अर्थात् नमिलेको हिसाब । न सुत्र न जवाफ । अल्जेब्रा जस्तो अल्झिरहने, त्रिकोणमिती जस्तो तन्किरहने, न त म्याट्रिक्स न डेरिभेटिभ । यसलाई धान्न ऐकिक नियम लगाएर हिसाब निकाल्दा समेत क्याकुलेटरमा इनफिनीटिभ आउँछ । यस्तै सुत्र अर्थात् राष्ट्रविघटनको सूक्ष्म भ्रुणलाई मलजल गर्न गरिब जनताले कसरी सक्ने ?

सरकार छ तर सरोकार छैन, सरकार स्ट्रङ्ग छ तर स्ट्रिक्ट छैन, सरकार रमिते छ तर रमितलाग्दो छैन, गन्तव्य छ गतिलो छैन, ज्ञान छ तर ध्यान छैन, विचार छ तर विवेक छैन, बोली छ तर व्यवहार छैन ।

भन्छन् कोही यो अनिच्छित गर्भ हो । बेलैमा गर्भपात नगरेपछि धारण गर्नु परेजस्तो । न पाल्न सकिने न त फाल्न । काउछो मात्र हुँदै गयो । अकारण धारण र अवैज्ञानिक वितरण हो यो । पाँच विकासक्षेत्रले विकास र समृद्धि रोकेको कहीँ पनि देखिएन, न त त्यसबेलाको नीति र नियम नै विकास र समृद्धिको बिरुद्ध थियो । २०४७ को संविधानको कुनै धाराले बाटो, विजुली, उधोग–धन्दा, पाठशाला बनाउन खोल्न छेकेको थिएन । सब यी नै त थिए डाडु–पन्यु लिई बसेका । कोहि पैले तरबार भएर काट्थे । कोहि खुुकुरी भएर काट्थे । अहिले खुर्पा भएर काट्छन् । हामी कोहि कुखुरा भएर त कोहि खसी भएर कोहि काउली भएर लौका भएर काटिन्छौं । जसले काटे पनि हामी काटिन्छौँ र बारम्बार काटिईरहन्छ अदना अचानो, अर्थात् यहि बिचरो देश नेपाल ।

सरकार छ तर सरोकार छैन, सरकार स्ट्रङ्ग छ तर स्ट्रिक्ट छैन, सरकार रमिते छ तर रमितलाग्दो छैन, गन्तव्य छ गतिलो छैन, ज्ञान छ तर ध्यान छैन, विचार छ तर विवेक छैन, बोली छ तर व्यवहार छैन । सरकारको सय वटा आँखा छ तर देख्दैन, कान छ तर सुन्दैन, सुने पनि मनमा गुन्दैन, गुने पनि राम्रो योजना बुन्दैन, दुई तिहाईको सिरानी लगाएर कुम्भकर्ण झैँ पाँचवर्षे निद्रामा लीन छ । मन्त्री छन् तर मस्त छन्, ब्यूरोक्रेट्स छन् तर ब्यस्त छन्, कार्यक्रममा छन् तर कार्यालयमा छैनन्, कार्यालयमा छन् तर काममा छैनन् । हरिबजोक छ हजुर कन्तबिजोक छ । न आशा न भरोषा, सबैतिर ब्याप्त छ निराशा । के यो सबै गणतन्त्रे गोलागानोको लक्षण त होइन ? बेलैमा निदान र उपचार नगरे अल्सर र क्यान्सरबाट बचाउन सकिएला र ? हामी सबैमा चेतना भया । जय मातृभूमि !