सिरानीले थिचेर तीन सन्तानको हत्या गरेकी नेपाली महिलाले राजदूतसँग भेट गर्न मानिनन्

सिरानीले थिचेर तीन सन्तानको हत्या गरेकी नेपाली महिलाले राजदूतसँग भेट गर्न मानिनन्


सागर सुवेदी, अष्ट्रिया

गत शनिबार बिहान ५ः२० बजे राजधानी भियनाको प्रहरी हटलाइन १३३ मा कल आयो, जुन कलमा अत्यासिएको आवाजमा जिकिर गरिएको थियो कि मैले मेरा तीन सन्तानको हत्या गरिसकेँ, अब म आत्महत्या गर्दैछु ।

उक्त कलबाट प्रहरी कन्ट्रोल रुमका कर्मचारी नै अचम्मित भए । तत्काल उक्त कल कहाँबाट आएको भन्ने लोकेसन पत्ता लगाइ कल आएको १५ मिनेटभित्र प्रहरी घटनास्थल पुग्यो । घटनास्थलमा उक्त महिलाले हटलाइनमा बताएजस्तै देखियो । प्रहरी प्रवक्ताले जानकारी दिएअनुसार फरक के भने महिलाले भनेजस्तै आफ्ना सन्तानको हत्या गरिसकेको तर आफूले आफूलाई चाहिँ केही गरेकी थिइनन् । ती महिला यतिबेला न्यायिक हिरासतमा रहेकी छिन् ।

यसरी जघन्य अपराधको कसुरमा एक नेपाली महिला हिरासतमा रहेको जानकारी पाएर नेपालका लागि अष्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदीले शुक्रबार (२३ अक्टोबर) स्टेटआल्वाल्ट (सरकारी वकिल)मार्फत अभियुक्तलाई भेटेर उनको अवस्थाको बारेमा जानकारी लिन खोजेका थिए । सो प्रयोजनले शुक्रबार दिउँसो स्टेट आन्वाल्ट कार्यालयमा पुगेर पनि राजदूत सुवेदी त्यत्तिकै फर्किनु परेको बुझिएको छ । किनकि, अभियुक्त महिला नेपाली राजदूत सुवेदीसँग भेट गर्न अस्वीकार गरी खबर पठाएकी थिएन् । यसरी राजदूतसँग अभियुक्त महिलाले भेट गर्न नमानेको र राजदूत सरकारी वकिलको कार्यालयबाट त्यत्तिकै फिर्ता भएको कुरा भियनास्थित दूतावासका द्वित्तिय सचिव धनन्जय मेहेताले पुष्टि गरेका छन् ।

घटना र विचार सम्वाददाताले बिहीबार नै सरकारी वकिललाइ पत्र लेख्दै अभियुक्त महिलासँग भेटका लागि प्रबन्ध मिलाइदिनका लागि आग्रह गरेकोमा आज दिउँसो सरकारी वकिल कार्यालयले घटना र विचारलाई पत्र लेख्दै राजदूतलाई समेत भेट नगर्ने अभियुक्तले सञ्चारकर्मीसँग भेट गर्न सक्दिनन् कि भन्ने आशय प्रकट गरेको छ । उक्त पत्रमार्फत् सरकारी वकिलको कार्यालयले अभियुक्तले प्रस्ट बोल्न सक्ने अवस्था तथा उनले भेट गर्न चाहेको खण्डमा न्यायिक प्रक्रियापछि भेट्न सकिने आशययुक्त जानकारी दिएको छ ।

सो कार्यालयबाट जानकारी पाएअनुशार अभियुक्त महिलाले केही दिनदेखि कुनै पनि वकिल राखेर आफ्नो मुद्दाको पक्षमा लड्न आवश्यक छैन भने तापनि आज उनले एक वकिल अनुबन्ध गर्न चाहेको र बाँकी मुद्दा सोही वकिलको रोहबरमा अघि बढ्ने छ।

अभियुक्त महिलामा चरम डिप्रेसनको आशंका गरिएको बुझिएको छ । बिहीबार न्यायिक प्रक्रियासँग सम्बन्धित प्रहरीको रोहबरमा सरकारी वकिलले प्रश्न गर्दा अभियुक्तको एकोहोरो भनाइ थियो- ‘मेरा बच्चाहरु कहाँ छन् ? म कहाँ छु ? साथै अब म कति समय यहाँ बस्नुपर्छ ?’ यस प्रकारका बेहोसीपूर्ण प्रतिप्रश्न अभियुक्तबाट आएका बताइएको छ । भलै अदालती प्रक्रियाको अन्त्यमा अभियुक्त दोषी देखिएको खण्डमा उनले पूरा जीवन जेलमै काट्नुपर्ने हुन सक्छ । अष्ट्रियन कानुनमा यस्तो घटनामा यही हदको सजाय दिइने उल्लेख छ।

पछिल्ला अनुसन्धान तथा अभियुक्तको बानी व्यहोरालाई नियाल्दा उनी लामो समयदेखि मानसिक तनावमा रहेको, तनाव बढ्दै जाँदा चरम अवसाद (डिप्रेसन) देखिएको र सोही कारण अभियुक्त महिलाले आफ्ना बच्चाको हत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ । उक्त प्रकारको डिप्रेसनको कारण किन र यतिको अवस्था हुँदा पनि अभियुक्तका श्रीमानले श्रीमतीलार्इ उपचार गराउने वातावरण तयार गर्नुको साट्टो घर छोडेर किन हिँडे भन्ने सार्वजनिक चासोको प्रश्न भियनामा बसोबास गरिरहेका आमनेपालीले गरिरहेका बुझिएको छ ।

यो पनि हेर्नुहोस्-