कोभिड महामारीबीच दुई चिकित्सकको ‘लभ लाइफ’ : मनिष र रेश्माले गरे जीवन्त अभिनय

कोभिड महामारीबीच दुई चिकित्सकको ‘लभ लाइफ’ : मनिष र रेश्माले गरे जीवन्त अभिनय


राजन घिमिरे

कोरोना महामारीबीच फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ‘निदाउँके सपनीमा’ सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक गरिएको भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको छ भने रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ ।

भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोले फ्रन्टलाइनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आफैं संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाएको छ । भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टीका लगाएको दृश्य तथा उपचारको क्रममा शिशाबाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्यहरु कारुणिक रहेका छन् ।

भिडियोको निर्देशन चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका छन् । सन्तोष भन्छन्, ‘म्यूजिकल लभ स्टोरीमा दुई डाक्टरको लभ लाइफलाई देखाउन खोजेको छु । यो गीत कोरोना महामारी बीचमा फ्रन्ट लाइनमा रहेर काम गर्ने सबैलाई सम्मानस्वरुप समर्पण गरेका हौँ । गीतमा नागरिकको सेवा गर्दै गर्दा कोभिड १९ को संक्रमण भएपश्चातको कथा देख्न सकिन्छ ।’

बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुर्व्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाडपर्वको समयमा कोभिड-१९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यसमाथि कोरोना संक्रमणपछि समाजले छिःछि दुरदुर गर्ने, हेला भावले हेर्ने गरेको पाइयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाइनमा बसेर बिरामीको उपचार गरिरहनुभएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौँ ।’

अभिनेता मनिष राउतले फ्रन्टलाइनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सांगीतिक रुपमा देखाउन खोजेको बताए । ‘आँशुसेन फिल्मससँग म एकदमै नजिक छु, जसको कारण पनि म यो भिडियोमा जोडिने अवसर पाएको हुँ । आत्मैबाट राम्रो बनाउने कोशिस गरेका छौँ । यो भिडियोले फ्रन्टलाइनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सम्मान गर्छ ।’

आँशुसेन फिल्मसको प्रस्तुतिमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको छ भने भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।