हिन्दूराष्ट्रका पक्षधरहरूद्वारा ‘सभापति’ बन्न डा. खड्कामाथि दबाब

हिन्दूराष्ट्रका पक्षधरहरूद्वारा ‘सभापति’ बन्न डा. खड्कामाथि दबाब



सन्त नेता कृष्णप्रसाद भट्टराईका खास हिमायतीमध्येका एक नेता, पूर्व मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कामाथि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न दबाब पर्न थालेको छ । नेता खड्कालाई किशुनजीका हितैषी तथा हिन्दूराष्ट्रका पक्षधरहरूबाट सभापतिको उम्मेदवार बन्न दबाब परेको हो ।

काङ्ग्रेसमा मन्त्री भएर पनि कहिल्यै कुनै विवाद र झमेलामा नपरेका सीमित नेताहरूमध्ये डा. खड्काको नाम लिइन्छ । बीपी कोइराला र कृष्णप्रसाद भट्टराईका हिमायतीहरूको सङ्ख्या काङ्ग्रेसमा सीमित हुँदै गएको छ ।

विचारका दृष्टिले महामन्त्री पूर्णबहादुर खड्का तथा नेताहरू तारानाथ रानाभाट, कुलबहादुर गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, डा. रामशरण महत, डा. नारायण खड्का, अर्जुन नरसिंह केसी, लक्ष्मणप्रसाद घिमिरे, डा. प्रकाशशरण महत, शङ्कर भण्डारी, विपिन कोइराला, लोकेश ढकाल, एनपी साउद, चन्द्र भण्डारी र अर्का महामन्त्री डा. शशाङ्क कोइराला बीपी र किशुनजीका अनुयायी मानिनुहुन्छ । उल्लिखित नेताहरूमध्ये कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, डा. नारायण खड्का, लक्ष्मणप्रसाद घिमिरे, विपिन कोइराला, शङ्कर भण्डारी र लोकेश ढकाल हिन्दूराष्ट्रका पक्षमा दृढतापूर्वक खुलेरै सक्रिय रहँदै आउनुभएको छ ।

बीपी कोइरालाले हिन्दूराष्ट्रको पहिचान मेट्ने पक्षमा कहिल्यै मन्तव्य दिनुभएको थिएन भने कृष्णप्रसाद भट्टराईले २०४७ सालको संविधान निर्माणका क्रममा विदेशी शक्तिराष्ट्रहरूको चर्को दबाबका बाबजुद हिन्दूराष्ट्रका पक्षमा आफू र संविधानलाई दृढतापूर्वक उभ्याउनुभएको थियो । कुनै समय हिन्दूराष्ट्रको अवधारणालाई राजा–महाराजाको मात्र इच्छा मानिएको भए पनि २०४७ सालको संविधान निर्माणसँगै हिन्दूराष्ट्रको स्वामित्व काङ्ग्रेसले ग्रहण गरेको थियो । हिन्दूराष्ट्रमा पूर्ण धार्मिक स्वतन्त्रता रहने हुनाले हिन्दूराष्ट्र भन्नेबित्तिकै धार्मिक स्वतन्त्रता हुने स्वतः बुझिन्छ ।

काङ्ग्रेसको आगामी महाधिवेशनमा राष्ट्रवादी एवम् मौलिक धर्म–संस्कृतिको पक्षमा रहेको मत प्राप्त गर्नका लागि मात्र हिन्दूराष्ट्रको नारा जो–कोहीले दिन सक्छन् । तर अहिलेसम्म इमानदारी र दृढताका साथ हिन्दूराष्ट्रका पक्षमा उभिने नेताहरूको सङ्ख्या सीमित देखिएको छ । यही एजेण्डालाई लिएर नेताहरू कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, विपिन कोइराला, शङ्कर भण्डारी र लोकेश ढकालले सभापतिमा उम्मेदवारी दिनेबारे कुनै सन्देश प्राप्त भएको छैन । तर डा. नारायण खड्कामाथि भने पार्टीभित्रको एकथरी नेता–कार्यकर्ताले एजेण्डा स्थापित गर्नकै लागि भए पनि सभापति पदमा उम्मेदवारी दिन दबाब दिएका छन् ।

किशुनजीको निकट रही लामो समय काम गरेको र उहाँ प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको, मन्त्री रहँदा कुनै किसिमको विवादमा नपरेको, किशुनजीका मूल्य–मान्यतालाई जस्ताको त्यस्तै अनुशरण गर्ने गरेको र उहाँको अन्तर्राष्ट्रिय सम्बन्ध पनि ब्यापक एवम् सुमधुर भएकोले उहाँमाथि सभापति पदको उम्मेदवार बन्न अलिक बढी दबाब परेको बुझिन्छ । मित्र तथा हितैषीहरूको दबाबपछि डा. खड्काले हिन्दूराष्ट्रको एजेण्डासहित सभापति पदमा उम्मेदवारी दिने मानसिकता बनाउनुभएको बुझिएको छ ।

ज्ञातव्य छ, काङ्ग्रेसमा रामचन्द्र पौडेल, गगन थापा, विमलेन्द्र निधि, कृष्ण सिटौला र आरजु राणालाई हिन्दूराष्ट्रको सबैभन्दा घातक विरोधीका रूपमा लिइन्छ भने हिन्दूराष्ट्रप्रति सकारात्मक भएर पनि यसैलाई एजेण्डा बनाएर अघि बढ्न तत्काल नसक्ने नेताका रूपमा महामन्त्री पूर्णबहादुर खड्का तथा नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, डा. रामशरण महत र एनपी साउदलगायत हुनुहुन्छ ।

काङ्ग्रेसमा सभापतिका सम्भावित उम्मेदवारहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, कुलबहादुर गुरुङ, डा. शेखर कोइराला, गोपालमान श्रेष्ठ, डा. शशाङ्क कोइराला, डा. रामशरण महत, विपिन कोइराला, प्रकाशमान सिंहदेखि युवा नेता कल्याण गुरुङसम्म सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका छन् । तर, अन्त्यमा यो सङ्ख्या घटेर बढीमा चार या पाँचमा सीमित हुने सम्भावना छ ।