मेयरसहित १८ जना संक्रमित भएपछि कात्तिक १५ सम्म नगरपालिका बन्द

मेयरसहित १८ जना संक्रमित भएपछि कात्तिक १५ सम्म नगरपालिका बन्द


कपिलवस्तुका मेयरलाई कोरोना संक्रमण


कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएअनुसार एक साताअघि मेयर सिंहसहित नगरपालिकाका १८ जना कर्मचारीहरुको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । जसमा सबै जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिए ।

मेयर सिंहकी श्रीमती र छोरा कोरोनासंक्रमित भएपछि उनको पनि स्वाब संकलन गरिएको थियो । मेयर सिंहले आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा आई काम गर्ने क्रममा कोरोना संक्रमित भएको बताए । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।

नगरपालिकाका लेखाअधिकृत, सहायक लेखाअधिकृत, स्वास्थ्य संयोजक, कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का वडासचिव समेत कोरोना संक्रमित बनेका छन् ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित निग्लीहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् । कपिलवस्तु नगरपालिकाका मेयरसहित १८ जना नै कोरोना संक्रमित भएपछि नगरपालिका बुधबार दिउँसोदेखि कार्तिक १५ गतेसम्मका लागि बन्द गरिएको छ।

यस्तै निग्लिहवा स्वास्थ्यचौकी समेत बन्द गरिएका मेयर सिंहले बताए । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत योगेन्द्र भगतअनुसार बुधबार कपिलवस्तुमा ३६ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा १५ सय ३६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये अहिले डेढ सय बढी सकृय संक्रमित छन् भने १३ जनाको मृत्यु भएको छ।