छोरीहरुसँग म्युजिक भिडियोमा संजिव लामाको जूनतारा

छोरीहरुसँग म्युजिक भिडियोमा संजिव लामाको जूनतारा



धरानका पुरानो ब्याण्ड मिक्स मेलोडीका गायक संजिब लामा अहिले प्रवासमै रहे पनि नेपाली गीतसंगीत क्षेत्रलाई छोड्न सकेका छैनन् । उनि विदेशमा रहँदा होस् या स्वदेशमा रहँदा, आफ्नो केही न केही सृजना स्रोतामाझ पस्केका नै हुन्छन् । योपालि भने आफ्नो गृहनगर धरान आएको समयमा उनी कोरोना महामारीका कारण धरानमै लकडाउनमा परे ।

यही लकडाउनको सदुपयोग गर्दै यसपालि धरानका सङ्गीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा, मनोज मोतेसँग विभिन्न गीत रेकर्ड गर्नुको साथै सन्देशमुलक भिडियोसमेत निकाले । योसँगै उनले आफ्ना अधुरा थुप्रै गीतहरु रेकर्ड गरे भने दुई गीतहरु रेकर्ड गरि भिडियो समेत तयार गरेका छन् ।

जब घाम डुब्छ म हुन्छु खुशी
के तिम्रो साथमा छ
मेरो जूनतारा, जूनतारा

सिल्भर इन्टरटेनमेन्ट को युट्युब च्यानलमार्फत भर्खरै रिलिज गरिएको यस गीतमा उनले आफ्ना दुई छोरीहरु कृस्टी र कृस्मा लामा लाई समेत अभिनय गराएका छन् । छोरीहरुकै सम्झनामा गीतकार हांगयुग अज्ञातसँग मिलेर लेखेको गीतमा मनोज मोतेसँग मिलेर उनले संगीत तयार गरेका छन् ।

लकडाउनको समयमा छोरीहरु पनि धरानमा सँगै रहेकोले छोरीहरुकै लागि लेखिएको गीतमा किन उनीहरुलाई नै नखेलाउने भनेर अभिनय गराएको गायक लामा बताउँछन् ।

प्रशान्त तामाङको छायांकन र सम्पादन रहेको गीतको भिडियो गायक लामा स्वयमको निर्देशन रहेको छ । उनले आफ्नो पुरानो गीत लौ है माया नमार घुम्न जाउँ धरानको समेत रिरेकर्ड गरेर भिडियो तयार गरेका छन् । उक्त भिडियोचाहिँ दशैँ-तिहारपछि रिलिज गर्ने तयारीमा छन् ।