सम्झनामा रामबाबु !

सम्झनामा रामबाबु !



■ ज्ञानमणि भुर्तेल


रामबाबु काङ्ग्रेस सभापति ! कृष्ण दाइ उपसभापति !! हामी नेवि संघका फुच्चेहरुलाई सगरमाथा चोक (झापा)मा पुस्तकालय खोल्ने धुन सवार भो । सभापतिसँग भन्दा बढी हिमखिम र नजिकैसमेत रहेकोले टोली उपसभापतिको घर पुगेर योजना बतायो । पाँच हजार जतिको आर्थिक विवरण पेस गरियो । उपसभापतिजीले रामबाबुका नाममा रकम उपलब्धतासम्बन्धी पत्र लेखिदिएपछि राजन दाहाल, सुरेन्द्र प्रसाईं, विश्वप्रकाश शर्मा र मसहितको टोली बिर्तामोड प्रस्थान गर्‍यो ।

सभापतिज्युलाई पत्र हस्तान्तरण गरियो । सभापतिज्युले पत्र पढिसकेपछि- ए.. ! अब म कृष्णजीको कारिन्दा भएछु ? भन्दै धुजा-धुजा पारेर पत्रको अन्त्यष्टि गर्दिनुभो १ रकमको आशमा पुगेको टोलीको बैरङ्ग वापसी भो !!

रामबाबुप्रतिको हामीमा जागेको नकारात्मक सोचलाई केही मलजल गरेपछि तानतुन गरेर तीन सय जति दिनुभो उपसभापतिज्युले । पाँच हजारको अगाडि तीन सय- हात्तीको मुखमा जिराझैँ ! हाम्रो योजनाले वीरगति प्राप्त गर्ने प्रवल सम्भावना भो । दाजु भरतलाई घटना सविस्तार बतायौँ !

रामबाबुको स्वभावका बारेमा बताउँदै उहाँ कसैको आदेश र दबाब नमान्ने तर उहाँ स्वयमलाई आग्रह गर्दा निराश नपार्ने जानकारी दिँदै केही दिनपछि फेरि गएर आग्रह गर्ने सल्लाह दिनुभो । सोहीअनुसार १५-२० दिनपछि टोली पुगेर योजना बतायो ।

इस्टिमेट खै ? दाहिने हात हामीतिर पसार्दै सोध्नुभो ।

लौ बित्यो ! इस्टिमेट त छैन । मुखामुख गऱ्यौँ । बोल्ती बन्द भो !

कहाँबाट लिने फर्निचर ? कुन आइटमलाई कति-कति पर्छ ? विस्तृत विवरण खै त ?

सुरेन्द्रले स्थिति सम्हाल्न खोज्यो- बिर्तामोडबाट फर्निचर लिने । अरु विविध कुराको मौखिक विवरणलाई रामबाबुले लिखित इस्टिमेट ल्याउने आदेश दिँदै खारेज गर्दिनुभो । बिर्तामोड चोक आएर इस्टिमेटको खेस्रा बनाइयो । फर्निचरसाहु पनि तयार पारियो । सबै कुरो रटाएर रामबाबुसामु उपस्थित गराएपछि रामबाबुले परीक्षा सुरु गर्नुभो ! कतिपय कुरा हामीले सिकाएको भरमा त कतिपय कुरा हाम्रो आँखा सन्काईको भरमा र कतिपय उत्तर हामीबाटै पाएपछि फर्निचरवाला पास भयो या भनौँ हाम्रो टोली पास भो । रामबाबुले हाम्रो मागबमोजिमको रकम उपलब्ध गराइदिनु भो । हामी खुशी हुँदै फर्कियौँ । रामबाबुप्रतिको हाम्रो अघिल्लो धारणा मेटियो । दाजुको सल्लाहले काम गर्‍यो । पछि रामबाबुकै हातबाट उद्घाटन समेत गराएर केही समय चलाइयो पनि । अलि पछि पुस्तकालयमा काङ्ग्रेस पस्यो ! भनिरहनु नपर्ला- पुस्तकालय बन्द भो !!

०००

यस्तै–यस्तै रोचक प्रसङ्गका भन्डार ! आदर्शवादी ब्यक्तित्व सत्यवादी नेता रामबाबुले गत असोज २३ गते देहत्याग गरी महाप्रस्थान रोज्नुभो । काङ्ग्रेसले संवैधानिक राजतन्त्र त्यागेपछि उहाँले पनि काङ्ग्रेस त्याग्नुभो । गणेशमानजी, किसुनजी समेत नअटाएको र घिरौँले काङ्ग्रेस हाबी भएको काङ्ग्रेसमा रामबाबु किन चाहिन्थ्यो र ? चाहिएन, वास्ता पनि भएन !!

तर उहाँ बितेपछि गत शनिवार झापा काङ्ग्रेसले उहाँको सम्झनामा शोकसभा गर्‍यो । जम्माजम्मी ४१ जनाको उपस्थिति रहेको शोकसभामा चार बजेसम्म हाजिर जनाउनेको संख्या ६५ पुगेछ । एकाध पत्रकारसहित । रामबाबुका बारेमा भाषणभुषण भो ! सबैले रामबाबुको शालिन चरित्रको अनुशरण गर्नुपर्ने अर्ति उपदेश छाँटे ! उहाँको महानताको चर्चा भो । ०४५/४६ तिर रामबाबुलाई ढुङ्गा चढाउनेले समेत उहाँको तस्बिरमा फुल चढाए । गुणगान गाए । भावुक भए ।

शोकसभा बाट फर्कंदा बाटोमा एक काङ्ग्रेसी भेटिए, ‘कार्यक्रमको बारेमा थाहा त थियो तर कोरोनाका कारण उपस्थित हुन सकिनँ’- स्पष्टीकरण दिए । उनी तिनै काङ्ग्रेस हुन् जो केही दिनअघि मेची क्राउनको उद्घाटनमा कोरोनाको डरत्रास नमानी बहादुरीपूर्वक मदिरा सेवनमा सामेल थिए । अर्का पत्रकार भेटिए, उनी पनि त्यस्तै- कोरोना त्रास ! उनलाई पनि मेची क्राउनको मदिरा सेवन र खाम ग्रहण कार्यक्रममा बाङ्गा खुट्टा पारेर चिकन चिल्लीमा चिप्लेर लड्न चैँ रोकेन तर शोकसभामा सामेल हुन भने रोक्यो !!

सायद त्यो शोकसभामा खानपिनको राम्रै बन्दोबस्त हुन्थ्यो या आर्थिक राजनैतिक उन्नति प्रगतिको सम्भावना रहन्थ्यो भने सैकडौँ बहादुर काङ्ग्रेसीको सामेली हुन्थ्यो होला ! कोरोना-सोरोनाले रोक्ने थिएन !! खानपिनपछि खाम वितरणको कार्यक्रम रहन्थ्यो भने पाँच बोलाएको ठाँउमा पचास पत्रकारको उपस्थिति हुन्थ्यो होला । फुल चढाउन र खबर लेख्न तँछाडमछाड हुन्थ्यो होला !!

तर त्यहाँ त रामबाबुको तस्बिरमा अर्पण गर्न राखिएको फुल र विवेक प्रसाईंले राखिदिएको सादा पानी मात्र थियो । अनि किन र केका लागि हाजिरी बजाउनु ? केका लागि उपस्थित हुनु ?

जे होस्…, मृत्युपर्यन्त ६५ जनाको झापाली काङ्ग्रेसको ‘विशाल समुह’ले रामबाबुलाई सम्झेकोमा कृतज्ञता जाहेर गर्नैपर्छ ! रामबाबु जस्तै हुनुपर्ने भाषण गर्ने काङ्ग्रेसजनमा उहाँजस्तो हुन नसके पनि उहाँको सद्गुणको केही अंशले मात्र भए पनि बास गरोस् ! भावपुर्ण श्रद्धाञ्जली रामबाबुप्रति !!