एक्शनसहितको म्यूजिक भिडियोमा पल, वर्षा र शिशिर

एक्शनसहितको म्यूजिक भिडियोमा पल, वर्षा र शिशिर



राजन घिमिरे


दीपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ रिलिज भएको छ ।

बुधवार इन्टरनेटमा रिलिज भएको यस गीतमा नायक पल शाह, नायिका वर्षा राउत र अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन् ।

गम्भीर बिष्टले निर्देशन गरेको यस भिडियोमा एक्शनसहितको रोमान्टिक, डान्सिङ प्रेमकथा देख्न सकिन्छ । म्यूजिक भिडियोमा एक्शन राख्नु नौलो प्रचलन हो । भिडियो निर्देशक बिष्टले चलचित्र हेरेको जस्तै महशुस गराउने आफ्नो प्रयास रहेको बताए । ‘हामीले नयाँ चलचित्र हेर्न नपाएको लामो समय भइसक्यो । अब कहिले पाइन्छ त्यो पनि टुङ्गो छैन । नायक पल शाह, नायिका वर्षा राउतलाई पनि हामीले चलचित्रमा हेरेजसरी नै हेरौँ र देखाऔँ भन्ने इच्छाले नै मैले यो गीतको भिडियोमा नै एक्शन राखेको हुँ’, बिष्टले बताए ।

संगीतकार एवम् रचनाकार सिलवालले गीतले बैँशालु उमेरमा युवक युवतीको प्रेमभाव प्रस्तुत गर्ने बताए । उनले गायनमा निरुषा र शिवलाई नै रोज्नुको कारण बताउँदै भने, ‘मैले केही गीतहरु शर्ट लिष्ट गरेको थिएँ । शिव र निरुषाजीलाई नै सुहाउने गीत नै मैले बनाउने कोशिस गरिरहेको थिएँ । निरुषाजीले पनि मसँग काम गर्ने इच्छा राख्नुभएको थियो । त्यहिअनुसार नै मैले गीत बानएको हुँ ।’

भिडियोमा गरिएको मेहनत र उच्च लगानिको प्रतिफल के त ? सिलवाल भन्छन्, ‘हामीले गीतअनुसार भिडियोलाई न्याय गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीले दुई दिन लगाएर एक्शन दृश्यसहित छायाङ्कन गरेका छौँ । हामीले गीतलाई न्याय दिने हो भने दर्शकको मन जितिन्छ । प्रतिफल पनि त्यहि नै हो ।’

गीतको बारेमा बोल्दै गायक परियार भन्छन्, ‘संगीतकार दीपक सिलवाल अत्यन्तै उर्जाशील साधक संगीतकार भएको हुँदा पनि मैले यो गीत गाएको हुँ । यो गीतका शब्द र संगीत सुन्दा मलाई नयाँपन महशुस भएकोले पनि मैले यो गीत रोजेको हुँ ।’

भिडियोको बारेमा शिवको विचार छ, ‘मोडलिङको हिसाबले नायक पल शाहले करियरकै बढि काम गरेका छन् होला । काम गरेता पनि उनले यति धेरै भिडियोमा उस्तै उस्तै काम गरेका छन्, तर यो गीतमा केहि न केही फरक छ । यो भिडियोमा पल, वर्षा र शिशिरको उत्कृष्ट काम देखिन्छ ।’

बेलायतमा रहेकी यस गीतकी गायिका भट्टराईले संगीतकार सिलवालले आफुले भनेबमोजिमको गीत तयार गरेपछि आफुले गाएको बताइन् । उनी भन्छिन्, ‘मेरो नशा नशामा संगीत बगेको छ । मैले लामो समयदेखि राम्रो गीत गाउने कोशिस गरिरहेकी थिएँ । थोरै भए पनि फरक प्रकारको गीत गाउने इच्छा थियो । मैले दीपकजीलाई आफुले गाउने इच्छा रहेको गीतको बारेमा बताएकी थिएँ र सोहीअनुरुप गीत तयार भएपछि रिलिज गरेका हौँ । अत्यन्तै मिठो गीतमा प्रेम र रंगका कुरा गरिएका छन् । नेपाली मौलिक पञ्चेबाजा प्रयोग गरिेएको छ ।’

भिडियोमा संजय थापा र शुक्रराज शाहको एक्शन निर्देशन रहेको छ । नवराज उप्रेतीको छायाङ्कन तथा नवीन निरौलाको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ ।