नेपालमा भएको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै सुजाता

नेपालमा भएको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै सुजाता



पद नपाए छिट्टै बेलायत बसाइँ सर्ने तयारी


गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ । विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नुभएको थियो । सुजाताले ‘आफ्नो मेहनतबाट आर्जन गरेको’ साठी आना जग्गासहितको आफू बस्दै आएको मण्डिखाटारस्थित घर बिक्रीका निम्ति हालै बैना लिनुभएको छ ।

प्राप्त जानकारीअनुसार उहाँले उक्त घर जग्गा करिब रु. बाइस करोडमा बिक्री गर्न लाग्नु भएको र बैनावापत तीन करोड रूपैयाँ बुझिलिनुभएको छ । यसअघि उक्त घरजग्गा बिक्री गर्न विराटनगरस्थित नोवल मेडिकल कलेजका सुनिल शर्मासँग सुजाताले दुई करोड बैनावापत बुझ्नुभएको थियो । विराटनगरकै एक बिस्कुट उद्योगको समेत मालिक रहेका मारवाडी ब्यापारीसँग तीन करोड रूपैयाँ बैनावापत बुझेर सुनिलसँग बुझेको रकम फिर्ता गरिदिएको समाचारसुत्रहरूले जनाएका छन् ।

गत वर्ष सुनिल शर्माले एक्काइस करोडमा उक्त जमिन खरिद गर्न बैना दिएका थिए । सो सम्पत्तिमा कुनै पनि किसिमले दाबी गर्ने छैन भनी छोराले समेत कागज गरिदिनुपर्ने शर्त सुनिलले सुजातासमक्ष राखेका, तर सुजाताले छोराको दस्तखत गराउन नसकेपछि सुनिल बैना फिर्ता लिन बाध्य भएका थिए ।

विदेशी नागरिक आफ्ना एक छोरा र छोरीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा ‘एनआरएन’को विशेष परिचयपत्र बनाइदिनुभएको थियो । आमा सुजातासँग मनमुटाव भएपछि छोरा आफ्नो परिवारसहित बुढानिलकण्ठमा बस्दै आएका छन् । छोराको दस्तखतबिना जग्गा खरिद गर्न सुनिल राजि नभएपछि सुजाताले सहयोगीहरू केशव दुलाल र अनिल आचार्यमार्फत नयाँ ग्राहक फेला पार्नुभएको थियो । अब तीन महिनाभित्र सुजाताले उक्त घर खालि गराइ रजिष्टे«सन पास गरिदिनुपर्ने छ ।

गिरिजाप्रसाद कोइराला सत्ता र शक्तिमा रहँदै ‘निकै दुःख गरेर’ सुजाताले आर्जन गर्नुभएको सो घरजग्गा विनोद अग्रवाल नामक एक मारवाडी व्यापारीकी पत्नीको नाममा राखिएको थियो । करिव चार वर्षअघि मात्र उहाँले आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनुभएको थियो । त्यसअघि सुजाता (अहिले प्रचण्डले झैँँ) विनोदको घर भाडामा लिएर बसेको बताउने गर्नुहुन्थ्यो । आफ्नो नाममा जमिन ल्याउँदा ५७ आना मात्र रहेको र तीन आना जमिन अरु कसैको नाममा भएको फेला परेपछि नापी विभागका तत्कालिक कर्मचारी नारायणप्रसाद चौधरीको विशेष सहयोगमा ‘मिलाएर’ तीन आना थपिएको थियो ।

सुजाता कोइराला नेपालमा रहेको आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गरेर बेलायत बसाई सर्ने योजनामा रहनुभएको छ । सबै सम्पत्ति बिक्री भए पनि उहाँ काङ्ग्रेसको आगामी महाधिवेशनमा उच्च पदीय जिम्मेवारी पाए नेपालमै अरु केही समय बस्नुहुने र भनेजस्तो पद नमिले महाधिवेशनलगत्तै देश छोड्ने तयारीमा रहनुभएको बुझिएको छ ।

ज्ञातव्य छ, सुजाताको विवादास्पद बङ्लादेशी ज्वाइँ रुवेल चौधरी आफ्नी पत्नी मेलानीसहित बेलायतमा बस्दै आएका छन् । नेपालमा सम्पत्ति बेचेको नगद लिएर सुजाता आफ्नी छोरी-ज्वाइँसँगै बेलायत बस्न जान लाग्नुभएको हो । छोरासँग कुरा नमिले पनि सुजाताको छोरी र ज्वाइँसँग निकै राम्रो सम्बन्ध रहिआएको छ ।

स्मरण रहोस्, सुजाता पहिले पनि विवाह गरेर विदेशिनुभएको र २०४८ सालमा आफ्ना पिता प्रधानमन्त्री बनेपछि मात्र नेपाल फर्कनुभएको थियो । जीवनको अन्तिम क्षणमा गिरिजाले सुजातालाई उपप्रधानमन्त्रीको दर्जासहित परराष्ट्रमन्त्री बनाइदिनुभएको थियो । यतिबेला सुजाता शेरबहादुर देउवासँग बार्गेनिङ गर्दै हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक र काङ्ग्रेसको आगामी महाधिवेशनमा उपसभापति बनाइनुपर्ने शर्त देउवासमक्ष राख्नुभएको बुझिएको छ । देउवासँग कुरा मिलाएर अघि बढ्नकै निम्ति सुजाताले केही साताअघि रामचन्द्र पौडेलहरूले पार्टीमा देउवाविरुद्ध दिएको सामूहिक उजुरीमा पहिले दस्तखत गरेर पनि पछि फिर्ता लिनुभएको थियो । सुजाता यतिबेला रामचन्द्र पौडेलविरुद्ध वातावरण बनाउन सक्रिय रहनुभएको छ । यसो गर्दा देउवा र आफ्ना दाजुभाइ कोइरालाहरू खुशी हुने भएकोले पनि सुजाताले पौडेलविरुद्ध अभिव्यक्ति दिनुभएको बताइन्छ ।

जे होस्, सुजाता कोइराला काङ्ग्रेसको आगामी महाधिवेशनसम्म नेपाल बस्नुभए पनि कुनै पद हात नलागे सधैंका निम्ति देश छोड्ने अब निश्चित भएको छ ।