भारतमा पछिल्लो २४ घण्टामा ७१७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या घट्दो

भारतमा पछिल्लो २४ घण्टामा ७१७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या घट्दो



भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ ।

कोरोना भाइरसको महामारी शुरु भएदेखि वृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो ।

दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको देखिएको बताइएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार (२१ अक्टोबर) दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७६ लाख ५१ हजार १०८ पुगेको र सङ्क्रमितमध्ये सात लाख ४० हजार ९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि जनाइएको छ ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस सङ्क्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो ।

सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको कुल सङ्ख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या १,१५,९१४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७५५ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।