रक्षाबाट किन पन्छाइए ईश्वर ?

रक्षाबाट किन पन्छाइए ईश्वर ?



को बन्दैछन् रक्षामन्त्री ?


प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता मन्त्रिमण्डलमा केही व्यक्ति र थप र केहीको जिम्मेवारी बदलेर सामान्य पुनर्गठन गर्नुभए पनि ईश्वर पोखरेलको स्थान परिवर्तनलाई लिएर असामान्य चर्चा भयो । आफ्नो स्थान परिवर्तनबारे ईश्वर आफैं पनि अनभिज्ञ रहेको उहाँद्वारा सोही रात (असोज २८ गते बुधबार) गरिएको ट्वीटले स्पष्ट गरेको छ ।

स्मरणीय छ, २०७४ फागुनमा केपी शर्मा ओली नेतृत्वमा सरकार गठन हुँदा ईश्वर पोखरेलले अर्थ मन्त्रालयको जिम्मेवारी लिने इच्छा प्रकट गर्नुभएको थियो र, उहाँले मानसिकता पनि सोहीबमोजिम बनाउनुभएको थियो । तर रहस्यमयी मानिएका पात्र युवराज खतिवडाले अर्थ मन्त्रालय हात पारेपछि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मा लगाइएको थियो । त्यतिबेलै पनि ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी मन्त्री बनाउन केपीलाई उहाँकै टिमका सदस्यहरूले सुझाव दिएका थिए । केपीले नै त्यसबेला ‘उपप्रधानमन्त्री’को हैसियतभन्दा तल राखेर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

उहाँको कार्यकालमा सेनाका उच्चाधिकारीसँग मनमुटावको स्थिति उत्पन्न भएर सेनापति स्वयम्ले प्रधानमन्त्रीसमक्ष पोखरेलप्रति गुनासो गरेका थिए । उपप्रधानमन्त्री पोखरेल रक्षामा रहँदा उहाँका विषयमा प्रधानमन्त्रीसमक्ष अनेकौँ टीकाटिप्पणी हुने गर्दथे र, नेकपाको पनि ओलीकै टिमबाट कतिपय नेता-कार्यकर्ता ईश्वरविरुद्ध सक्रिय भएका थिए । प्रधानमन्त्रीमाथि पोखरेललाई मन्त्रीमण्डलबाटै हटाउन पनि दबाब परेको थियो । तर नेकपा एमालेको निर्माण र विकासमा ठूलो योगदान पुऱ्याएका ‘चाणक्य स्वभावका’ ईश्वर पोखरेललाई प्रधानमन्त्रीले आफैंसँग राख्न चाहनुभयो ।

बालुवाटारमा बसेर केही सल्लाहकारहरूले ‘कार्यकारी भूमिका’ निर्वाह गर्न थालेकोले त्यसको नेकपाभित्र र बाहिर ब्यापक विरोध हुँदै आएको थियो र, उच्च राजनीतिक सुझबुझका व्यक्तिलाई प्रधानमन्त्रीको कार्यालय हेर्ने जिम्मेवारी दिइनुपर्छ भन्ने सुझाव र दबाब पनि प्रधानमन्त्रीमाथि पर्दै आएको थियो । अब उपप्रधानमन्त्रीको हैसियतमा ईश्वर पोखरेलले प्रधानमन्त्रीको सल्लाहकार तथा कार्यकारी दुवै भूमिका निर्वाह गर्नुहुने देखिएको छ । यस अर्थमा ईश्वरको भूमिका पहिलेभन्दा बढेको मान्नुपर्ने हुन्छ, तर पोखरेलका विरोधीहरूले चाहिँ यो प्रकरणमा ईश्वरको ‘घटुवा’ भएको भन्दै सन्तुष्टि लिएका छन् ।

तत्कालका लागि रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुभएको भए पनि उक्त मन्त्रालयको जिम्मेवारी अबको पुनर्गठनमा कसलाई मिल्न सक्ला भन्ने जिज्ञाशा धेरैको छ । विशेष प्रयोजनका निम्ति प्रधानमन्त्री स्वयमले नै रक्षाको जिम्मेवारी आफैंले लिनुहुने अनुमान केहीले गरेका छन् । कसैलाई मन्त्री बनाउनु परेमा उपप्रधानमन्त्रीको हैसियतसहित टोपबहादुर रायमाझीलाई उक्त जिम्मेवारी मिल्ने विश्वास गरिएको छ ।

रायमाझीलाई तत्काल उक्त मन्त्रालय सुम्पिने सोच बनेको भए पनि अब मन्त्रिमण्डल पुनर्गठन भएका बेला रक्षामन्त्रालयको कार्यभार तोक्नु उपयुक्त हुने केहीको राय भएको बताइएको छ । तर अहिले या जहिले भए पनि केपीले छोड्नुहुँदा रक्षाको जिम्मेवारी रायमाझीलाई नै मिल्ने अधिक सम्भावना छ । यद्यपि उक्त मन्त्रालयका निम्ति भीम रावलको नाम पनि बालुवाटार परिसरमा चर्चामा छ ।