… तथापि, शुभकामना महान् चाड दशैँको !

… तथापि, शुभकामना महान् चाड दशैँको !



कोभिड-१९ को महामारी देखाउँदै जब सरकार दशैँ-तिहारजस्ता महत्वपूर्ण चाडपर्व नमनाउन जनताको नाममा कडा चेतावनी जारी गर्दै थियो, त्यति नै बेला मन्त्री, सांसद्, तिनका पिए, संसद्का कर्मचारीहरूका लागि दशैँ-भत्ता र कुनै नियम-कानुनमा हुँदै नभएका बोनस, सुविधा धमाधम उपलब्ध गराउँदै थियो । एकतिर विभिन्न मन्दिर तथा शक्तिपिठका ढोका बन्द गरेर नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा निर्वाह गर्दै चाडपर्व मान्न वा धान्न अवरोध गर्ने, अर्कोतर्फ शासकीय भूमिकामा रहेका सीमित वर्गविशेषका लागि राज्यको ढुकुटी लुटाउँदै मोजमस्तीका लागि उक्साउने अत्यन्त विरोधाभासपूर्ण तथा निर्लज्ज निर्णय क्रियान्वयन गर्न उद्यत् देखियो नेपाल सरकार । खाइपाइ आएको तलब कटौती गरेर वर्तमान प्रतिकुल अवस्थामा आमजनतालाई यथासक्य राहत प्रदान गर्नेतर्फ रत्तिभर सोच पुऱ्याउन नसक्ने कथित जनप्रतिनिधिहरू संविधान तथा ऐन-नियमले व्यवस्था नै नगरेको बोनस, भत्ता-सुविधा लिन आँखा चिम्लिएर जुर्मराए ।

कोरोना-महामारीको यो ६-७ महिना अवधिले आमनागरिकको दैनन्दिनी बेस्सरी खल्बल्याइदिएको छ । जर्जर बन्न पुगेको छ जनजीवन । देशको अर्थव्यवस्था तहसनहस तुल्याएको छ । रोजीरोटी खोसिएको छ, ठूलो सङ्ख्यामा नागरिक भोकभोकै परेका छन् । स्वास्थ्य क्षेत्रमा महाप्रलय निम्तिने खतरा सङ्घारमै उभिएको छ । यस्ता अति गम्भीर समस्याको समाधान के, तमाम नागरिकले ब्यहोरिरहेको समस्याको सम्बोधन कसरी गर्ने भनी सोच्ने कष्टसम्म गरेन सरकारले । जनप्रतिनिधि भनिएकाहरूले त्यो आवश्यकता नै देखेनन् । तर, दशैँभत्ता र आफ्नो सेवा-सुविधा, रङ्ग-रमाइलोको बेलैमा जोगाड गर्न भने उनीहरू पछि परेनन् ।

सरकार एवम् जनप्रतिनिधिहरूको यस्तो निकृष्ट कदमको जनस्तरबाट विरोध हुनु स्वभाविक थियो । त्यसमाथि यावत खालका चरम समस्याबाट गुज्रिरहेका नागरिक छिट्टै आक्रोशमा आउने नै भए । भेला भई सभा-सम्मेलन गर्न रोक लगाइएको भए पनि सामाजिक सञ्जालका माध्यमलाई ब्यापक प्रयोग गरे नागरिकले । सांसद् र सरकारको धज्जी उड्यो । लज्जा भन्ने कुरा बिर्सिसकेका कथित जनप्रतिनिधिहरू देखावटी तवरले नै भए पनि ‘लज्जित’ हुन पुगे । फलतः यतिबेला खातामा आएको भत्ता-रकम कोभिड व्यवस्थापन कोषमा जम्मा गर्ने ढोँग शुरु भएको छ । सांसद भनिएका कतिपयले व्यक्तिगत रूपमा घोषणा गर्नेदेखि दलगत रूपमा पनि ‘भत्ता नलिने’ निर्णय गरिएका समाचारहरू सार्वजनिक हुन थालेका छन् ।

सर्वोच्च अदालतबाट नागरिकलाई स्वास्थ्यसेवा उपलब्ध गराउन जारी भएको आदेशसमेतलाई आँखा चिम्लिएर उल्लङ्घन गर्न पछि परेन यो ‘जनताको सरकार’ । निचोरेर कर असुल गर्ने तर आवश्यक सेवा प्रदान गर्ने बेला पिठ्युँ फर्काउने रवैयाको उत्कर्ष रूप प्रदर्शन गर्दै सरकारले ‘जसरी बाँच्नुपर्छ बाँच, नसके मर’ भन्ने सन्देश प्रवाह हुने शैलीमा हात उठाएको छ, नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा ।

यी कस्ता ‘जनप्रतिनिधि’ हुन् जो यति पनि आँकलन वा अनुमान गर्न सक्दैनन् कि महामारीको विकराल परिवेशमा ‘बोनस’ बुझ्दा जनता आक्रोशित हुन्छन् र चर्को विरोध हुन्छ भनेर ! जब जनताको असन्तुष्टि विभिन्न माध्यमबाट पोखिन थाल्छ, यी सांसदहरू भत्ता फर्काउने नौटङ्की गरिरहेका छन् । ‘यो वर्षचाहिँ यसोे नगरौँ है’ भनेर पहिले नै एउटा मात्र सांसद्ले कुरा उठाइदिएको भए पनि विषयले चर्चा पाउँथ्यो, सकारात्मक आवाज बुलन्द हुन्थ्यो र अतिरिक्त भत्ता-सुविधा बुझेको विषयका कारण यसरी जनप्रतिनिधिहरू बदनाम हुनु पर्दैनथ्यो । फोहोर गरिसकेपछि दैलो देखेर के गर्नु !?

सांसदहरूको हाल यस्तो छ, सरकारको चाल त झन् उदेकपूर्ण छ । जनतालाई निःशुल्क स्वास्थ्यसेवा उपलब्ध गराउने जस्ता चुनावी घोषणापत्रका कुरा त उप्काइरहनै परेन, सर्वोच्च अदालतबाट नागरिकलाई स्वास्थ्यसेवा उपलब्ध गराउन जारी भएको आदेशसमेतलाई आँखा चिम्लिएर उल्लङ्घन गर्न पछि परेन यो ‘जनताको सरकार’ । निचोरेर कर असुल गर्ने तर आवश्यक सेवा प्रदान गर्ने बेला पिठ्युँ फर्काउने रवैयाको उत्कर्ष रूप प्रदर्शन गर्दै सरकारले ‘जसरी बाँच्नुपर्छ बाँच, नसके मर’ भन्ने सन्देश प्रवाह हुने शैलीमा हात उठाएको छ, नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा । अब नेपाली जनताका लागि मुलुकमा कुनै सरकार छैन भनियो भने अन्यथा ठहरिने छैन, किनकि, नागरिकको अभिभावकीय दायित्वमा रहेको सरकारले घोर सङ्कटकै बेला चरम अनुत्तरदायी व्यवहार गरेको छ ।

यसरी कोभिड-महामारी र नेपाल सरकारको उदास क्रियाकलापकै क्रममा महान् चाड बडा दशैँ नेपाली घर-आँगनमा प्रवेश गरिसकेको छ । जस्तै कठिन परिस्थितिमा पनि आफ्नो रीतिथिति, धर्म-संस्कार र संस्कृति मान्ने-मनाउने सवालमा उल्लसित वा उत्साहित रहनु नेपालीजनको विशिष्ट विशेषता नै हो । यही वैशिष्ट्य प्रदर्शन गर्दै दशैँ मनाउने चटारोमा छन् आमनेपाली । कोरोना भाइरसको प्रकोप र आफ्नै सरकारका कतिपय अव्यवहारिक एवम् असहिष्णु आदेश-निर्देशका बाबजुद उल्लासमय रूपले दशैँ मनाउने शक्ति-सामर्थ्य सबैलाई प्राप्त होस् ! हाम्रा पाठक, विज्ञापनदाताका साथै समस्त नेपाली दाजुभाइ-दिदीबहिनीप्रति दशैँको मंगलमय शुभकामना !!