त्यति शक्तिशाली देवीहरू किन एक्लै ?

त्यति शक्तिशाली देवीहरू किन एक्लै ?



■ बबिता बस्नेत


भगवान् छन् कि छैनन् ? अहिलेसम्म कसैले देख्न, भेट्न सकेको छैन । ईश्वर एउटा परिकल्पना मात्रै हो कि अस्तित्व पनि छ ? सदियौँदेखि बहस जारी छ ।

इश्वरको अस्तित्व छैन भन्नेहरूको तुलनामा अस्तित्व छ भन्नेहरूको सङ्ख्या ठुलो छ । हिन्दूधर्ममा हामीले भगवान् मानेका शिव, पार्वती, राम, सीता, कृष्णलगायतको अस्तित्वको प्रमाण कुनै न कुनै रूपमा भेटिन्छ । महादेवले चौधपल्ट डमरु बजाउँदा निस्किएको ध्वनीबाट पाणिनीले संस्कृतका चौध सूत्र सिर्जना गरेको भन्ने छ, जसलाई ‘महेश्वर सूत्र’ भनिन्छ । यी चौध सूत्रको जगमा संस्कृत भाषा उभिएको छ । यस्तै कृष्ण थिएनन् भनौँ भने गीता छ । महाभारतका पात्रहरू घुमेका, पुगेका विभिन्न स्थानका खण्डहरहरू बाँकी छन् । गान्धारी शिवकी भक्त थिइन् । देव-देवीसँगै राक्षसहरू पनि छन् । पौराणिक कालमा परिकल्पना गरिएका या अस्तित्वमा रहेका चरित्रहरू अहिले पनि समाजमा छन् ।

मानवका रूपमा इश्वरीय शक्तिप्राप्त ब्यक्तिहरू पृथ्वीमा यदाकदा देखिन्छन् । साइबाबालाई यस्तै प्रतीकका रूपमा लिन सकिन्छ । हरेक देवी-देवताका आ-आफ्ना कथा छन्, मानिसका पनि आफ्नै कथा-ब्यथाहरू हुन्छन् । अनकण्टार डाँडामा बसेकी देवीको बारेमा किम्बदन्तीहरू सुनिन्छ । आफ्नै इतिहास र कथाबिनाका देवी-देवता भेटिँदैनन् । गौतम बुद्धदेखि स्वामी रामकृष्ण परमहंस, स्वामी विवेकानन्द हुँदै ओशो, सद्गुरुसम्मले कुनै न कुनै रूपमा इश्वरको अस्तित्वको खोजी गरेका छन् ।

हिन्दूधर्ममा शक्तिको श्रोत देवीलाई मान्ने गरिएको छ । नवरात्रीमा देवीहरूको उपासना र आरधनाको अर्थ शक्तिको पूजा-आराधना हो । पितृसत्तात्मक समाजमा स्त्री-शक्तिको उपासना अहिले आफैमा रोचक संयोजन लाग्छ । तर नवरात्री तथा अन्य समयमा देवीहरूको उपासना गरेबाट पूर्वीय संस्कृति महिलाको सम्मानसँग जोडिएको थियो भन्न सकिन्छ, जसलाई क्रमिक रूपले भत्काएर अपमानतर्फ धकेलियो । महादेवले पनि शक्तिस्वरूपा दुर्गालाई मान्नुहुन्थ्यो भन्ने कुरा दुःखका बेला शैलपुत्रीको प्रार्थना गरेबाट स्पष्ट हुन्छ । सप्तऋषिमध्येका एक भृगु ऋषिले शिवजीलाई परिक्रमा गर्न खोज्दा पार्वतीलाई अलग गर्न खोजेपछि पार्वतीबिनाको परिक्रमा अपूरो हुन्छ भनेको प्रसङ्गदेखि पार्वतीबिनाको म केही पनि होइन, मेरो शक्ति त उनै हुन् भन्ने कुरासम्म यी सबैले महिला भगवान्हरूको शक्ति पुरुष भगवान्हरू भन्दा बढि रहेको पुष्टि गरेका छन् । कुनै पनि पुरुष भगवान्को उपासना लगातार गर्ने नवरात्री जस्ता पर्व या उत्सव छैनन् ।

महिला महिला भएका कारणले नभई शक्ति नभएका कारणले हेपिएका हुन् । शक्तिहीन भएपछि राजा नै भए पनि के काम ? ‘शक्तिराष्ट्र’बाट ‘शक्तिहीन राष्ट्र’मा परिणत भयो भने अमेरिकाको के महत्व ?

नवरात्री नौ रातसम्म लगातार दुर्गामाताका विविध स्वरूपको आराधना गरेर मनाइन्छ । बडादशैँवाला नवरात्रीलाई हामीकहाँ बढि महत्व दिइए पनि चैत्र र असोज (प्रायः असोजमा) गरी वर्षको दुइपल्ट नवरात्री मनाइन्छ । पौराणिक कालमा महिसासुर राक्षसको अत्याचारको सिमा नाघेपछि उक्त अत्याचारको अन्त्य गर्न दुर्गा-शक्तिको प्रयोग गरिएको थियो । शक्ति सञ्चयको हिसाबले हेर्दा गर्मी लाग्नुअघि र जाडो लाग्नुअघि नवरात्रीमा शक्तिको उपासना गरी मानव शरीरलाई गर्मी, जाडो सहन सक्ने बनाउनका लागि यसप्रकारको आराधना महत्वपूर्ण मान्न सकिन्छ ।

दशैँको सबैभन्दा सशक्त पक्ष महिला-शक्तिको पूजा-अर्चना नै हो । देवीको पूजा गर्नुको अर्थ स्त्री–शक्तिको सम्मान हो । नारी-शक्तिको महिमा सबै शक्तिशाली पुरुष भगवान्हरूले गरेका छन् । भागवत गीतामा कृष्णले अर्जुनसँग श्रृष्टीको बिज मै हो तर मैले पनि प्रकृतिको सहयोग लिनुपर्छ भनेका छन् । शिवपुराणमा शिवको महिमा छ, भागवत गीतामा कृष्णको तर यी दुवैमा शक्तिको चर्चा भने प्रकृति अर्थात् महिलासँग जोडेर गरिएको छ । दुर्गाको हातमा त्रिशुल छ । यसको अर्थ उहाँसँग सत्व, तमस र रजश तीनै गुण थिए । प्रकृतिका तीन गुण सत्व, तमस र रजसका बारेमा गीताको चौधौँ अध्यायमा उल्लेख गरिएको छ । महाभारतमा युद्धमा जानुअघि कृष्णले अर्जुनलाई देवीको दर्शन गरी शक्ति र आशीर्वाद लिन लगाएका थिए । शक्ति प्राप्त गर्नका लागि हनुमानजी बाहेक कुनै पनि पुरुष भगवानको दर्शन गरिँदैन । हनुमानजी एकल पुरुष भगवान् हुन जसको साथमा पत्नी या प्रेमिका छैनन् । ब्रम्हाण्ड नै शक्तिमा आधारित छ । जुन शक्ति महिलाको नामले चिनिएको छ ।

पृथ्वीलाई माता भनिन्छ, पिता भनिँदैन । श्रृष्टी गर्ने भएकाले पृथ्वीलाई माता भनिएको हो । यसरी हेर्दा शक्तिको मुख्य आधार महिलालाई मानिएको छ । पौराणिक कालका महिला शक्तिस्वरूपा थिए, पूजा हुन्थ्यो । अहिलेका महिला शक्तिहीन छन् त्यसैले उनीहरूमाथि अन्याय हुँदै आएको छ । महिला महिला भएका कारणले नभई शक्ति नभएका कारणले हेपिएका हुन् । शक्तिहीन भएपछि राजा नै भए पनि के काम ? ‘शक्तिराष्ट्र’बाट ‘शक्तिहीन राष्ट्र’मा परिणत भयो भने अमेरिकाको के महत्व ?

महिला भगवान् र पुरुष भगवान्लाई तुलना गरेर हेर्दा पुरुषभन्दा महिला निडर लाग्छन् । देवीहरू प्रायः टाढा-टाढा अनकण्टार जङ्गलमा एक्लै छन् । तर पुरुष भगवानहरू सहज स्थानमा पत्नीसँग छन् । बाग्लुङ कालिका, दक्षिणकाली, पाथीभरा, बिन्दबासिनी, उग्रतारा, पञ्चधुरा, त्रिपुरासुन्दरी, बडीमालिका, शैलेश्वरी, मनकामना प्रायः सबै नै सुदूर डाँडामा छन् र एक्लै छन् । यता पुरुष देवताहरू शिवसँग पार्वती, बिष्णुसँग लक्ष्मी, राममन्दिरमा सीता, राधासँग कृष्ण, हनुमानजी बाहेक सबै जोडा-जोडी छन् । राधा कृष्णकी पत्नी होइनन्, प्रेमिका हुन् । राधासँग कृष्णको विवाह भएन तर दुवैलाई सँगै पूजा गरिन्छ । अहिलेको भाषामा राधा र कृष्णलाई ‘लिभिङ टुगेदर’को सम्बन्ध पनि भन्न सकिन्छ । पश्चिमा मुलुकमा अहिले चलेको यो सम्बन्ध पूर्वीय संस्कृतिमा भगवानकै पालामा थियो ।

यस्तै, देवीहरू मन्दिरमा एक्लै रहेबाट महिलाको एकल जीवन त्यतिबेलादेखि नै थियो भन्न सकिन्छ । अहिले हामी एकलमहिलाको आत्मसम्मानको कुरा गरिरहेका छौँ, भगवान्को पालामा एकलमहिलाहरू सशक्त र सम्मानित थिए । उनीहरूको आफ्नै स्वतन्त्र अस्तित्व थियो । महिलाको सार्वजनिक जीवन पनि देवताकै पालादेखि थियो । शक्तिका लागि पूजा गर्न लामबद्ध हुनुबाट उनीहरूको सबैले मान्ने गज्जबको सार्वजनिक जीवन थियो भन्न सकिन्छ ।

देवी–देवताको सन्दर्भमा यो पङ्क्तिकारले नबुझेको कुराचाहिँ देवीहरूले मात्र किन भोग खान्छन् ? या देवीहरूलाई किन बली चढाइन्छ ? पुरुष भगवान्ले किन भोग खाँदैनन् ? भन्ने हो ।

अहिलेको परिदृष्य हेर्दा महिलाहरू कसैको साथलाई लिएर असुरक्षित भएको देखिन्छ । प्रेमीले छोडिदिने हो कि, पतिले बेवास्ता गर्ने हो कि ? म एक्लै हुने हुँ कि ? यो असुरक्षाको भावनाले धेरै महिलाको आत्मविश्वासलाई खस्काएको छ । भगवान्का पालामा त्यति शक्तिशाली महिलाहरू अहिले पुरुषको साथ भएन भने बाँच्नै नसक्ने जस्तो गरी रुवाबासी गरेका देखिन्छन् । सुरक्षित हुनका लागि महिलाहरू शक्तिशाली हुन जरुरी छ । शक्तिशाली हुनका लागि आत्मनिर्भरता आवश्यक छ । युवा अवस्था टेक्नासाथ विवाहको परिकल्पना गर्ने र ‘जे-जस्तो भएपनि एकपल्ट विवाह गर्नैपर्छ ठिकै छ नि’ भनेर हामफाल्ने परिपाटीको अन्त्य नहुञ्जेलसम्म महिलाको सशक्तीकरण टाढाको लक्ष्य बनिरहने छ ।

राधा कृष्णकी पत्नी होइनन्, प्रेमिका हुन् । राधासँग कृष्णको विवाह भएन तर दुवैलाई सँगै पूजा गरिन्छ । अहिलेको भाषामा राधा र कृष्णलाई ‘लिभिङ टुगेदर’को सम्बन्ध पनि भन्न सकिन्छ । पश्चिमा मुलुकमा अहिले चलेको यो सम्बन्ध पूर्वीय संस्कृतिमा भगवानकै पालामा थियो ।

विवाह मानिसको जीवनमा एउटा पाटो मात्रै हो सम्पूर्णता होइन । छोरी जन्मिएको दिनदेखि हाम्रो मानसिकता नै ‘कस्तो केटा पर्ने हो…’ भन्नेमा केन्द्रित हुन्छ न कि पढाइलाई कति ध्यान दिने हो, कस्तो काम गर्ने हो, करियर कस्तो रोज्ने हो स्वयममा उ कस्तो हुने हो । हामीले पूजा गर्ने दुर्गा, भगवती, देवीहरू आत्मनिर्भर थिए, कसैसँग कुनै अपेक्षा थिएन । बाघलाई आफ्नो बाहन बनाउने ताकत राख्थे । अहिलेको सन्दर्भमा यसको अर्थ जतिसुकै चुनौतीपूर्ण भए पनि सवारी साधन आफै चलाउ भन्ने सन्देश हुन सक्छ कि जस्तो पनि लाग्छ । प्राविधिक ज्ञानले मानिसलाई हिम्मत दिन्छ । अरुको भर पर्नु पर्दैन । अरुको गाडी र मोटरसाइकलमा ‘लिफ्ट’ लिनु पर्दा कति महिलाहरू परनिर्भर मात्र होइन हिंसामा पनि परेका छन् ।

देवीहरू प्रतिकारका लागि त्रिशुलदेखि विभिन्न हतियारहरू साथमा राख्थे । यसको अर्थ केही पर्दा शारीरिक रूपमा पनि ‘फाइट’ गर्न तयार होउ भन्ने हो । विद्या (सरस्वती) र धन (लक्ष्मी) उनीहरूसँग थियो । सबै कुरामा आत्मनिर्भर भएपछि कसैसँग ‘मलाई राम्रो गर न’ भनी आँशु बगाउँदै जिन्दगीको भिख माग्नु पर्दैनथ्यो, जुन अहिले हाम्रा महिलाहरूले गर्नु परिरहेको छ । आफ्नो सासले कतिबेला छोड्ने हो थाहा छैन मलाई पतिले छोड्ने हो कि, प्रेमीसँग विवाह नहुने हो कि ? भन्ने असुरक्षित भावनाले ग्रसित भएर धेरैले जीवन धानिरहेका छन् ।

महिलाको सशक्तीकरणको कुरा पश्चिमा संस्कृति होइन । छोरीहरूको आत्मविश्वास बढाउनका लागि हाम्रा पूर्वीय दर्शन र तात्कालीन अभ्यासहरू नै काफी छन् । हाम्रा धर्म-संस्कृतिले दिन खोजेको सन्देशलाई जस्ताको तस्तै लागु गर्ने हो भने महिलाहरूलाई ‘बिचरा..!’ बन्ने अवस्था कहिल्यै पनि आउँदैन । हाम्रा सन्तानलाई हामीले स्वधर्मका बारेमा जानकारी दिन आवश्यक छ । स्वधर्मको अर्थ आफूले आफैलाई बाँध्ने संहिता हो । महाभारतमा कृष्णले अर्जुनलाई लामै समय लिएर स्वधर्मको बारेमा बताउनुभएको छ । हाम्रा छोरीहरूलाई आफूले के गर्ने के नगर्ने भन्दा पनि अरुलाई के गर्ने के नगर्ने भन्ने पाठ पढाउने गरिएको छ । आफू सशक्त भएपछि अरुलाई कस्तो ब्यवहार गर्ने स्वयममा विकास हुन्छ । असुरक्षित मानसिकताले अरुलाई सुरक्षा दिन सक्दैन । सुरक्षित मानसिकताले मात्रै परिवारको सदस्य वा अरुलाई राम्रो गर्न सक्छ, सुरक्षित बनाउन सक्छ । नवरात्रीमा छोरीहरूलाई सशक्त बनाउन अविभावक र छोरीहरू स्वयमले शक्ति प्राप्त गरुन् ।