कर्णाली प्रदेशको विवादबारे ओली र प्रचण्डबीच भएको छलफल नै विवादास्पद !

कर्णाली प्रदेशको विवादबारे ओली र प्रचण्डबीच भएको छलफल नै विवादास्पद !



कर्णाली प्रदेशमा देखिएको सत्तारुढ दलभित्रको विवादबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशको समस्या समाधानका सम्बन्धमा छलफल भएको र चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै जानकारी दिएका छन् ।

थापाको प्रेस नोटमा उल्लेख भएअनुसार कर्णाली प्रदेशसभाको संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेको निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रुपमा सचेतकका रूपमा कायम गर्ने, मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव फिर्ता लिने तथा अन्य विषय सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले चाहिँ मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने तथा प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको जनाएका छन् ।

प्रचण्डका प्रेस संयोजक सापकोटाले ‘थप भ्रममा नपर्न’ आग्रह गरेबाट दुई अध्यक्षबीच सहमति भएको भन्ने सन्दर्भ नै विवादास्पद बन्न पुगेको छ ।