सूर्यले ७२ घण्टामै बनाए ‘श्री’

सूर्यले ७२ घण्टामै बनाए ‘श्री’



■ राजन घिमिरे

नेपाली चलचित्र उद्योगका पुराना चलचित्रकर्मी हुन् सूर्य बोहरा । केही वर्ष स्वदेशबाट बाहिरिँदा पनि उनले प्रवासमासमेत चलचित्रकर्मलाई छोडेनन् । पछिल्लो समय उनी नेपालमै रहेर चलचित्र निर्माणलाई निरन्तरता दिइरहेका छन् ।

निर्देशक बोहराले हालै बनाएको चलचित्र ‘श्री’ले यतिबेला चर्चा पाएको छ । ७२ घण्टा निरन्तर क्यामेरा ‘अन’ गरेर एउटै लोकेशनमा उक्त चलचित्रको छायांकन सकाएका कारण यो चलचित्र चर्चामा आएको हो ।

जम्मा ७२ घण्टा मात्र क्यामेरा प्रयोग गरी सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘श्री’ तयार भएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प भएका बेला निर्देशक बोहराले चलचित्र निर्माणमा नयाँ शैली प्रयोग गरेका हुन् ।

यतिबेला चलचित्रको छायांकन सकिएको छ भने चलचित्र सम्पादन एवम् स्वरांकन कार्यसमेत सकिएको छ । चलचित्रमा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ तथा बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

एभरेष्ट सूर्य बोहरा फिल्म्सको ब्यानर र महारानी इन्टरटेन्मेन्ट युकेको सहकार्यमा निर्माण भएको ‘श्री’को निर्माता श्री पराजुली र सविता गुरुङ हुन् भने यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्माता हुन् ।

‘चलचित्र विधामा केही नयाँ सोच र विषय भित्र्याउने उद्देश्यले हाम्रो समूहले यो चलचित्रको निर्माण गरेको हो । हामीलाई लाग्छ कि हामी केही नयाँ दिने छौँ’- निर्देशक बोहोराले भने ।