अमेरिकाको आगामी चुनाव र विश्वको भविष्य

अमेरिकाको आगामी चुनाव र विश्वको भविष्य



■ दामोदर पौडेल


अमेरिकाको चुनाव नजिकिँदै गएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जोए विडेनबीच प्रतिस्पर्धा हुँदैछ, किनभने अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवारबाहेक अरुले चुनाव जित्ने गरेका छैनन् । केही पहिलको चुनावमा रस् पेरोले स्वतन्त्र उम्मेदवारको रूपमा राम्रो मत ल्याए पनि विजयबाट उनी धेरै नै टाढा थिए । यस हिसाबमा अमेरिकी राष्ट्रपतिका सम्भावित विजेता निःसन्देह ट्रम्प र विडेन नै हुन् ।

सामान्यतः रिपब्लिकन पार्टी अपेक्षाकृत रुढिवादी र बाँकी विश्वमा अनुदार, आप्रवासीविरोधी, रंगभेदी नीतिलाई अवलम्बन गर्ने किसिमको तथा सैन्यबलमा विश्वास राख्ने दलको रूपमा हेर्ने गरिन्छ । डेमोटक्रेटिक पार्टी उदार र सबै रंगका एवम् विदेशी मूलका मानिसहरूलाई पनि अपेक्षाकृत सम्मान गर्ने तथा मानवअधिकारको पक्षधर र गरिव जनताको पक्षमा बढि साथमा रहेको भन्ने सामान्य सोच रहने गर्दछ । आप्रवासीहरू र नयाँ, विशेषतः युरोपवाहेक अरु देशबाट गएकाहरूमध्ये धेरैले डेमोक्रेट उम्मेदवारलाई मत दिने गरेको भन्ने पनि छ । यी भनाइहरूमा आंशिक सत्यता हुन सक्ला तर त्यहाँको चुनावमा उम्मेदवारको हैसियतले पनि उत्तिकै भूमिका खेलेको हुन्छ । तथा, रिपब्लिकनमाथिका भनाइहरू चुनावपछिका ब्यवहारले प्रतिशतमा समेत गन्न र भन्न नसकिने किसिमका छन् । देशभित्र दुवै दलका ब्यवहारहरू असामान्य रुपमा भिन्न छैनन् ।

हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतिको पछिल्लो चुनावमा पनि ट्रम्पले हार्छन् भन्ने ब्यापक हल्ला थियो । तर उनले जिते र त्यो अचानक जस्तो नै भयो । किन यसरी उनले चुनाव जिते ? प्रतिष्पर्धी पनि अहिलेका भन्दा पहिलेका आकर्षक ब्यक्तित्ववाला थिए भनिन्छ । मूलभुत रूपमा अमेरिकी जनता र विशेषतः त्यहाँका पुराना वासिन्दहरू शान्तिको पक्षमा रहन्छन् । उनीहरू अमेरिकाले विश्वमा लोकतन्त्र, शान्ति र नागरिकहरूको हितमा नेतृत्व गरोस् र देशमा कुनै पनि प्रकारको आशान्तिको सामना नहोस् भन्ने चाहन्छन् ।

अमेरिकीहरूको उक्त चाहनामा समय–समयमा चुनौती पैदा भएको थियो । उदाहरणको लागि शाह रेज पहल्वीलाई इरानमा राजाबाट हटाइयो, उनको पक्षमा अमेरिका थियो, साथै त्यही कारणले अमेरिकी राजदूतावासका कर्मचारीहरूलाई इरानको नयाँ सरकारले बन्दी बनायो । अमेरिकाले उनीहरूलाई छुटाउन प्रयास गर्दा ठूलो जनधनको क्षति भयो । त्यतिबेला अमेरिकामा डेमोक्रेट पार्टीको सरकार थियो । रुसमा कम्युनिष्ट ब्यवस्था अन्त्य हुँदा वा इराकमा सद्धाम हुसेनको अन्त्य गरिँदा रिपब्लिकन राष्ट्रपति थिए । यस्ता धेरै उदाहरणहरू छन् जसमा डेमेक्रेट राष्ट्रपति हुँदा अमेरिकाको साख घटेको र रिपब्लिकन हुँदा राम्रो हैसियत भएको पाइन्छ ।

त्यस्ता केही नकारात्मक उदाहरणले अमेरिकीहरूको मनमा अमेरिकको जस्तो हैसियत हुनुपर्ने हो त्यो हुन सकेन भन्ने लाग्नु अस्वाभाविक होइन । तर जब अमेरिकामा नै ट्वीन टावरमा बम खस्यो, ह्वाइट हाउसको सुरक्षा नै धमिलो देखियो, आतङ्कका छायाहरू अमेरिकामा यत्रतत्र देखिन थाले तब अमेरिकीहरूले आफू र आफ्ना सन्तान, आफ्नो देशको भविष्यको लागि चिन्ता गर्न थाले, अत्यन्त डरको महसुस गर्न थाले । उनीहरूलाई अमेरिका सुरक्षित लोकतान्त्रिक र लोककल्याणकारी देश रहिरहे हुने थियो भन्ने भावना अझै बलियो रूपमा लाग्न थाल्यो । तैपनि उनीहरूले उचित निकास वा बाटो देखेका थिएनन् ।

यसै अन्यौलमा पुराना अमेरिकीहरूलाई आप्रवासी र नयाँ अमेरिकीहरू नै अमेरिकामा आतङ्क प्रवेश गराउने माध्यम हुन् भन्ने थियो, छ । उनीहरू सबै नयाँ गैरयुरोपियन अमेरिकी भन्दा पनि आतङ्ककारी र अतिवादीहरूको विरुद्धमा छन् । मुसलमान आतङ्कवादीहरूबाट उनीहरू पीडित छन् । साथै उनीहरूलाई थाहा छ कि सबै मुसलमानहरू आतङ्कवादी होइनन्, केही मात्र हुन् तर मुसलमानहरू अपेक्षकृत धेरै अतिवादी भने छन् । अतिवादबाट नै आतङ्कवाद जन्मने सम्भावना बढि हुन्छ । प्रायः कालो वा गहुँगोरो वा अपेक्षाकृत कम गोराहरू नै आतङ्कमा लागेकाले परम्परागत अमेरिकीहरूको नजरमा गैरसेताहरू आतङ्कको सन्देहमा पर्न थालेका हुन् । उनीहरूको नजरमा नेपाली, हिन्दूहरू, धर्मनिरपेक्ष मुसलमानहरू निशानामा हैनन् र छैनन् तर जुन धर्म र रंगमा देखिएका मानिसहरूले बढि गलत गर्दछन् तीप्रति शङ्का हुन्छ नै । त्यही कारणले अमेरिकीहरूको पीडा यदाकदा आतङ्क हैन प्रतिआतङ्कको जस्तो रूपमा देखिन पुग्यो र कहिलेकाहीँ निर्दोषहरूले पीडा भोग्नु पऱ्यो ।

ट्रम्पले अमेरिकामा शान्ति कायम होस् र शान्तिप्रिय अमेरिकीहरू तथा लोकतन्त्रको माध्यमबाट अमेरिका र विश्वको समेत शान्तिको प्रतिनिधि देश अमेरिका होस् भन्ने चाहे । त्यही भावनाको प्रतिबिम्ब गत चुनावमा ट्रम्पको विजयको रूपमा देखिएको हो । शान्तिको लागि आतङ्करुपी वृक्षको हाँगा हैन जराकै अन्त्य हुनु पर्दछ । हाँगा काटेर जरामा पानी दिने काम भइरहको छ भन्ने सङ्केत उनले गरे र जनताले पनि सोहीअनुसार बुझे । अहिले पनि धेरै अमेरिकीहरू यो विचार प्रकट गर्न चाहँदैनन्, तर उनीहरू अमेरिकामा प्रष्ट रूपमा आतङ्कको विरुद्धमा काम गर्ने महानायक होस् भन्ने चाहन्छन्, शान्ति चाहन्छन् । त्यही कारणले गत चुनावमा जस्तै यसपटक पनि ट्रम्पले चुनाव जित्ने सम्भावना देखिन्छ । ट्रम्पका साइलेन्ट अर्थात् प्रकट हुन नचाहने मतदाताहरू अरुले देखेका र उनले सोचेका भन्दा बढि छन् । त्यो चुनावको परिणामपछि मात्र थाहा हुन्छ । धेरै अमेरिकीहरू कुनै विचार नमानेकोमा घरको गेटमा कुनै डल्लो सामान देखिए बम हुन सक्ने सम्भावनाबाट समयमा नै सचेत हुन चाहन्छन् ।

सीआइए तथा अन्य संस्थाहरूले र अमेरिकी प्रशासनले पनि समय–समयमा गल्ती गरेको छ । ती गल्तीहरू अमेरिकी प्रशासनका साझा गल्ती हुन् वा सम्हालिनुपर्ने गल्ती हुन् । तर कुनै पनि गल्तीको कारणले अमेरिकीहरू सधैं आतङ्कको छायामा बस्नुपर्ने अवस्था आउनु हुँदैन भन्ने चाहना हुनु स्वभाविक हो । विदेशीहरूप्रति र लोकतन्त्र भन्दा आतङ्कको पक्षमा रहनेहरूप्रति केही नरम रहेजस्तो देखिने र स्वदेशमा ट्रम्पले चुनाव जित्दा ह्वाइट हाउसको अगाडि जुलुस र धर्ना दिनेहरू तथा कुनै पनि जातीय समेतको दङ्गा भएमा त्यसको दोष ट्रम्पलाई नै दिन चाहनेहरूलाई त्यहाँका सभ्य मतदाताहरूले तौलिइरहेका छन् ।

पेरुको साइनिङ पाथले धेरै मानिसको हत्या गऱ्यो तर त्यसलाई नियन्त्रणमा लिने क्रममा भएका घटनामा केही कमजोरी भएकोले वा केही मानिस गलत किसिमले मारिएकोमा तिनीहरूलाई पनि मानवअधिकारको हननमा सजाय गरिएको थियो । यस प्रसङ्गमा भनिएको थियो कि के पेरुमा एकदलीय तानाशाही ब्यवस्था ल्याउन, गलत किसिमले डर देखाएर ब्रेनवास गरेर, बच्चाहरू समेतलाई भ्रम दिएर आतङ्कमा नहोमेको भए र हजारौँ मानिस र सम्पत्ति तहसनहस नगरेको भए सरकारी कर्मचारी र सेनाले जनतालाई मार्दै हिँडेका थिए ? प्रतिरोधमा केही गल्ती भए पनि आतङ्कको तुलनामा त्यो कम हुन्छ र त्यो काम नगरेको भए आतङ्कले अझै कतिलाई तहसनहस गर्ने थियो भन्नेमा पनि ध्यान दिनु पर्दछ ।

अमेरिकामा रंगको आधारमा हाल पनि गरिने फरक ब्यवहार, धर्मको आधारमा गरिने फरक ब्यवहार, ती रंग र धर्म मान्नेहरूले गरेको गलत र असहिष्णु कामको कारणले नै वा पनि भएको हो भन्ने हामीले किन भुल्छौँ हँ ? हामी बलात्कारीलाई सजाय होस् पनि भन्दछौँ र सजाय गर्दा रेप गर्नेका संगतिहरूलाई केरकार गर्दा केही कमजोरी भएमा रेप गर्नेलाई भन्दा बढि सजायको माग गर्न पुग्दछौँ भने त्यो पनि तुलनाको घेरामा आउला । चुनावमा जनताले मुल्याङ्कन गर्दछन् । अमेरिकीहरूले बुझेका छन् कि यतिबेला मतको आधारमा छान्न पाइने शान्तिको लागि मतबाट कुनै गल्ती भएमा बन्दुकबाट पाउन पनि कठिन हुनेछ । उनीहरूले अहिले नै स्थायी शान्तिको लागि चुनाव पर्खिरहेका छन् भन्ने पनि सङ्केत आएका छन् ।

अमेरिकामा शान्ति र लोकतन्त्रको लागि त्यहाँ छाएको आतङ्कको बादल फाट्नु–फटाउनु अपरिहार्य छ । त्यसपछि मात्र अमेरिकाले विश्वमा शान्ति र लोकतन्त्रको लागि सजिलोसँग काम गर्न सक्छ । सम्भावना छ शान्ति, राष्ट्रप्रेम र लोकतन्त्रको आधार चाहनेहरूले पुनः ट्रम्प नै रोजुन् । उनका नदेखिने मतदाताहरू धेरै छन् । ट्वीन टावर तहसनहस हुँदा विरोध गर्न नसक्नेहरू आतङ्कको अन्त्यमा लाग्दा ट्रम्पको विरोधमा छन्, उनीहरूको कारणले अर्को ट्वीन टावर र अमेरिकीको मनमा असहज र साङ्केतिक हमला गरिरहेको छ । त्यहीँबाट ट्रम्पलाई उज्यालो आइरहेको छ । शान्तिप्रिय सबै जात, धर्म र भाषा तथा रंगकाहरू ट्रम्पको पक्षमा अपेक्षाकृत बढिरहेछन् भन्ने त चुनाव नजिकिँदै गरेको परिवेशमा त्यसको परिणामले देखाउने नै छ ।