१३ कार्तिक २०७७, बिहीबार

अँध्यारो आइतबार

  प्रकाशित मिति
१ कार्तिक २०७७, शनिबार ०७:५४


■ यश घिमिरे

‘सलोम खामुदा ! एस्ली अटो एस्ली केसेभ .. रोच्चा नेसिया ईम इत्ती ?’
(नमस्ते राम्री ! मसँग पैसा, गाडी छ । यात्रा गर्न चाहन्छ्यौ ?)

फनक्क फर्केर हेरेँ, कारभित्र अजङ्गको भुँडी भएको एउटा मान्छे ङिच्च पहेलो दाँत देखाउदै हाँस्यो । ‘हैन आफूलाई के सोच्छन् हँ यी इजरायलीहरू ? हामी नेपालीले गाडी र पैसा देखेकै छैनौँ जस्तो गर्छन् त बा ! बाँदरजस्तो घिनलाग्दो अनुहार लिएर उसैसँग हिँड भन्न कसरी हिम्मत गरेको होला ?’ गालामा एक झापड हिर्काउँ जस्तो रिस उठे पनि नसुने जस्तो गरि सरासर आफ्नो बाटो लागेँ ।

‘माकारा खामुदा ! लो रोच्चा अक्साब ? तोव, मा टेलीफोन मिस्पार सेलाख ? मताई यस्लाख खोपेस .. आनी तित्कसेर लाख ।’ (के भयो प्यारी ? अहिले चाहन्नौ ? ओके ठिक छ । तिम्रो नम्बर कति हो ? तिम्रो छुट्टी कहिले हुन्छ ? म फोन गर्छु ।)


मेरो हिँडाइको तालसँगै गाडी चलाउँदै यसो भन्दै अझै पछ्याउँदै थियो त्यो मान्छे । ‘हैन, कस्तो ज्याद्रो जात यिनीहरू ?.. नेपालमा हुन्थेँ भने मुर्दारलाई चप्पल फुकालेर हान्ने थिएँ ।’

‘एन्ली टेलिफोन’ (मसँग मोबाइल छैन)’ ! करिब–करिब चिच्याएर भनिदिएँ । निकै बेर अनेक कुराहरू गरेर फकाउने कोशिस गर्दै थियो । अति भएपछि पुलिस बोलाउने कुरा गरेँ । पुलिस बोलाउने कुरा सुनेपछि भने भिजेको बिरालो जस्तो भएर लुसुक्क बाटो लाग्यो । घडी हेरेँ, काममा पुग्न १० मिनेट ढिलो भै’सकेछ । राक्षस्नी इम्प्लोयर बुढी दुई मिनेट मात्र ढिलो पुग्दा पनि घर उचालिने गरेर कराउँछे । मन आत्तियो, फटाफट हिँडाइको रफ्तार तेज पारेँ ।

‘तिर्र.. तिरिर्र…’ मोबाइलको घन्टी बजेको सुनेर ध्यान भंग भयो । नम्बर हेरेँ, नेपालबाट श्रीमानले गर्नुभएको रहेछ । छिटो–छिटो चल्दै गरेका पाइलाहरू केही धिमा गरेर कल उठाएँ ।

‘के हो मैया ? दुईचोटी पूरै घन्टी जाँदा पनि उठाउन मन लागेन हगी ??’ श्रीमानको आवाजसँगै शरीरको बचेखुचेको तागत सर्लक्क निचोरियो । त्यो इजराएली भुँडेसँगको तनावले कतिखेर मोबाइलमा घन्टी बजेछ थाहै पाइनँ । श्रीमानको हरेक दिनको घुमाउरो शंकाको भाषा नबुझेको पनि होइन तर भन्नासाथ फोन नउठाना’को कारण कसरी प्रमाणित गरुँ अहिले ?!

‘त्यस्तो केही होइन बाबा..’ मात्र भन्न भ्याएको थिएँ, ब्यङ्ग्य कस्न थालिहाल्नु भयो– ‘थाह छ थाह छ.. मोज छ .. इजराएलतिर के हुन्छ हामीलाई नि’ थाह छ … बहाना चाहिएन .. तर नबिर्स ! म तिम्रो रियल हसबेण्ड हुँ नि .. !’

गला अवरुद्ध भएर आयो । खुट्टाहरू थर्र कामे । बाटोको किनारमा बनाइएको पेटीमै थचक्क बसेँ । ट्यायाया .. गरेर हर्न बजाउँदै गोडालाइ छुँला जस्तै गरेर एउटा कार हुइँकिएर गयो तैपनि खुट्टालाई त्यहाँबाट हटाउने जाँगर चलेन । कताकता उकुसमुकुस भएजस्तो, मुटु कसैले बेस्सरी अँठ्याएको जस्तो दुखेर आयो । त्यही बाटोमै धित मर्ने गरेर बेस्सरी चिच्याइ–चिच्याइ रुन पाए’नि हुन्थ्यो जस्तो लाग्यो ।

फेरि मोबाइलमा घन्टी बज्यो । मन नलाइ–नलाइ नम्बर हेरेँ, उही राकश इम्प्लोयर बुढीको रहेछ । थाह थियो के भनेर चिच्याउछे– उठाउन मन लागेन । अर्को घन्टी पनि आयो । यसपाली त हेर्दा पनि हेरिनँ । उसैगरी बसीरहेँ । इजराएलको व्यस्ततम ठाउँ– डिजिन्गोफ एरिया । सधैँ भिडभाड र हतारमा कुद्ने मान्छेहरू । सबैजना हावामा उडिरहेको पैसा टिप्न आतुर छन् । कोही मरोस् बाँचोस् कसैलाई कसैको मतलब छैन, चासो छैन । तातो हावाको एक झोक्का फिँजारिएको कपाललाई लुछ्दै दौडियो । लामो सास तानेर कपाललाई पछाडि गुजुल्टो पार्दै उठेँ । अनि पाइला र मन, सँगसँगै बिस्तारै घिसार्न थालेँ ।

‘व्हाट ह्यापेन टु यु ? घडी हेर्याछेस् कति बज्यो ? तँलाई काम गर्ने मन नभएको हो ? हो भने अहिलै जान सक्छेस् !’ रातो न रातो अनुहार पारेर मारिया अर्थात् मेरो उही राक्षस्नी इम्प्लोयर चिच्याउन थाली ।

‘म आज आधी घण्टा ढिलो भएँ, आधी घण्टा ढिलो गरेर जानेछु’– ( सपाट स्वरमा भनिदिएँ । खोइ कुन्नि किन हो आज मारियासँग आँखामा आँखा जुधाउँदै बोल्न कत्ति पनि डर लागेन ।

‘ए !.. यहाँ तेरो मर्जी चल्छ ? यो तेरो बाउको घर होइन बुझिस् ? तैँले काम छोडेर जान सक्छेस् । आउट !’

‘हुन्छ, मेरो हिसाब गरिदे !’ मेरो यस्तो जवाफको अपेक्षा गरेकी थिइन सायद । सोच्या’थी होला– रुन्छे, याचना गर्छे !

मेरो बदलिएको यो स्वरूप देखेर एकछिन त मारिया पनि ट्वाल्ल परी ।

‘ओके ! एजेन्सीसँग कुरा गरेर तैँले कति पाउँछेस पछि दिम्ला । गुडबाई !’ रिसले आगो भएर करिव–करिव धकाल्दै ढोकाबाहिर पु्याइ र जोडसँग ढोका बन्द गरी ।

‘आइ निड माइ मनि ! जुनसुकै हालतमा पनि तँसँग पैसा लिएर छोड्ने छु मारिया !’ बन्द ढोकाबाहिरबाटै चिच्याएँ ।

भाव शुन्य, दिमाग शुन्य र रित्तो मन लिएर फर्कें । आज आइतबार, सबै साथीहरू काममा फर्किसके होलान् । अपार्टमेन्टमा पनि को होला र ? मेरो लागि यो विपत्तीमा सम्झिने नाम भनेको अमृत दाइ नै हो । वहाँ जहिले पनि मेरो विशेष ख्याल राख्नुहुन्थ्यो । सन्चो–बिसन्चो अनि कामको बारे फोन गरेर सोधखोज गरिरहनुहुन्थ्यो । वहाँको भलादमी र गम्भीर स्वभावले यस्तो लाग्थ्यो यो बिरानो मुलुकमा मैले एउटा अभिभावक पाएको छु– दाइको रुपमा, मेरो बुबाको रुपमा । यो सोचेर मन केही हल्का भयो ।

‘दाइ ! कहाँ हुनुहुन्छ ? मैले त काम छोडिदिएँ ।’

‘म अपार्टमै छु । आज बुढो उसको छोरीकोमा जाने रे .. त्यही भएर काममा जानु परेन । म पनि एक्लै बोर भैरहेको थिएँ, आउ छिट्टै .. अनि गफ गरौँला नि !’

मध्यान्न घाम आफ्नो पूर्ण यौवनमा थियो । जतिसुकै गर्मी भए पनि हिँडेरै जाने सोचेँ । बाटोको किनारैकिनार आँखाले देखुन्जेलको दूरीमा मौसमीको ठिक्क कदको बोटमा राता दाना मौसमीहरू लटरम्म फलिरहेका थिए । मन फुरुङ्ग भएको बेला पहिले–पहिले यही दृश्य कति प्रियकर लाग्थे । तर खोइ ! आज भने सबै उराठ–उराठ लागेर आयो । त्यै भएर भनिँदो रहेछ क्यारे– बेखुशीमा स्वर्ग पनि काम लाग्दैन ।

ब्यागबाट पानीको बोतल निकालेर प्युँदै हिड्न थालेँ । आज गर्मी बढी नै भएर होला अलिक कम मान्छेहरू बाटोमा हिँडिरहेका भेटिए । त्यही थोरैमा जति लोग्नेमान्छेहरू भेटिए, प्राय अधबैंसे र बुढाहरूले कि त अजीवको जन्तु देखेझैँ हेर्थें कि लोभी नजरले मेरो शारीरिक उभारलाइ नाप्थे । उफ्फ्Þ … कस्तो घीन लागेको यी लोग्नेमान्छेको जात देखेर पनि ।

अपार्टमेन्टमा पुगेँ । अमृत दाइ टावेल बेरिएर र सेतो स्यान्डो भेस्टमा निदाइरहनु भएको रहेछ । टावेल माथि खुम्चिएर वहाँको निलो अण्डरवेयरको सानो हिस्सा देखिइरहेको थियो । असजिलो लागेर आयो । मनमनै ‘कस्तो बेहोसी मान्छे छि !’ भनेर चुपचाप अर्को कोठातिर लागेँ । हिँडेर असिनपसिन भएकी म, लगत्तै नुहाएर पल्टिएको भुसुक्क निदाएछु ।

‘सरु ! ओइ सरु .. उठ अब, पाँच बज्न लागिसक्यो । खानाको सपिङ गर्न हिँड !’ दाइ मेरो तिघ्रामा समाएर उठाउँदै हुनुहुन्थ्यो । वहाँको हात देखेर केही नराम्रो लाग्यो । उठाउनुको लागि पनि किन तिघ्रामै हात राख्नु परेको होला ? टाढैबाट बोलाएको भए पनि भैहाल्थ्यो नि भन्ने भयो । फेरि अर्को मनले आफैलाई गाली गरेँ – ‘छिः के भएकी म ? बिचरा दाइ … किन पाप सोचेंको हुँला ! वहाँले निन्द्राबाट ब्युँझाउनलाई झाक्झक्याउनुभएको पनि त हुनसक्छ नि । सप्पै लोग्नेमान्छेहरू एकै ड्याङका हुँदैनन् भो ।’

सपिङ गरेर फर्किंदा साँझ झमक्क भैसकेको थियो । म कुखुराको मासु बनाउने तरखरमा लागेँ, वहाँ झोलाबाट वाइन निकालेर दुई ओटा गिलासमा खन्याउन सुरु गर्नुभयो । आश्चर्य मान्दै सोधेँ– ‘दाइ ! यो अर्को गिलास कसको लागि ? मैले त अहिलेसम्म खाएको छैन है ! अनि अरु त यहाँ कोही छैन । आज आइतबार सबै जना काममा गैसके होइन र ?’

‘यो लेडिज ड्रिङ्क हो लाटी । यहाँ इजराएलमा वाइन नखाने त पाखे हुन्छन् । फेरि तिम्रो काम छुटेकोले तिमी टेन्सनमा पनि छ्यौ । यति एक पेग खाउ, सब टेन्स हराउँछ ।’ मुखमै गिलास ल्याएर ठोक्काएपछि अलिकति सुरुप्प पारेँ । घाँटीबाट चर्र गर्दै छातीभित्र पुगेको जस्तो लाग्यो । वहाँ भने आफू पनि प्युँदै अनि अझै अलिकति भन्दै मुखमा गिलास जोतिदिनु हुन्थ्यो । अलिअलि गर्दै जाँदा मलाई झमझम बनाइसक्यो । दाइले त अर्को बोतल पनि आधा बनाइसकेको देखेँ । आज किन–किन वहाँको ब्यवहार केही अनौठो लाग्दै थियो । अनुहार रक्सीले मातेर रातो न रातो भएको थियो । मलाई एकतमासले हेरीरहनुभएको थियो भने आँखामा वाशनाको डोरो तैरिएकोझैँ लाग्यो । मनमा एकप्रकारको चिसो डरको लहर दौडियो ।

सरु आज एउटा कुरा भन्छु है ! धेरै दिनदेखि मनभित्र गुम्सिरहेको थियो, भन्ने मौका नै मिलिरहेको थिएन.., म तिमीलाई एकदम मन पराउँछु । …आइ लभ यु सरु …!’ यति भन्दा नभन्दै पछाडिबाट अँगालो हालेर जबर्जस्ती मेरो ओठमा ओठ जुधाउन थाल्नुभयो । म एकैचोटि छाँगाबाट भुइँमा झरेकी झैँ भएँ । ‘हे भगवान ! के सोच्या थेँ वहाँलाई के निस्किनु भयो ।’

‘दाइ.. ! के गर्नुभएको यो ? होसमा आउनुस् । मैले हजुरलाई आफ्नै दाइसरह मानेकी छु । हजुर त मेरो अभिभावक हो यो बिरानो शहरमा …। दाइ छोड्नुस् प्लिज ! मेरो नजरबाट नगिर्नुस् ।’ वहाँको पन्जाबाट जबर्जस्ती आफूलाई मुक्त पारेँ ।

‘प्लिज सरु, मेरो इच्छा पुर्याइदेउ । म तिम्रो दाइजस्तो भए पनि साख्खै दाइ त होइन नि…, अरुको अगाडि तिमी र म दाजु–बैनीकै नाटक गरुँला नि, हुन्न ? कसैलाई केही थाहा हुन्न । ट्रस्ट मी..’ यति भन्दाभन्दै गर्दा वहाँको गालामा एक जोडदारको थप्पड हिर्काएँ ।

‘थुक्क नकावधारी निर्लज्ज मान्छे ! के सोचेको थिएँ आज के निस्किनुभयो तपाईं ? …तपाईंलाइ के लाग्छ हामी नारीहरू भोग्या मात्र हौँ ?, बजारमा बेच्न राखिएको बस्तु हौँ र कसैले आफ्नो बनाउन चाहे सर्लक्क खल्तीमा हालेर हिँड्न सक्ने ? हाम्रो चाहना भावना केही पनि हुँदैन ? तपाईंलाइ जति सम्मान गर्ने गर्दथेँ, आज त्यति नै घृणा गर्छु । आइ हेट यु दाइ ..आइ हेट यु !’

खाना त्यत्तिकै अधकल्चो छोडेर सरासर आफ्नो कोठामा गएँ र चुकुल लगाएँ । घोप्टो परेर निकैबेर रोइरहेँ । जति घृणा अमृत दाइप्रति लागेको छ त्यति त त्यो भुँडे ट्याक्सीवाला या मारियाप्रति पनि जागिरहेको थिएन ।

उनीहरू त परचक्री थिए, मेरो शारीरिक मानसिक शोषण गर्न खोज्नु के अनौठो भयो ? मैले आफन्त ठानेकाले त मौका पाउँदा नछोड्ने रहेछन् । पराइहरूबाट के आशा गर्नु र खोइ ?’

जति यस्तो भावना खेल्यो मन उत्तिकै अमिलो हुन थाल्यो । धेरै बेर रोएर आफैलाई हल्का बनाउने कोशिस गरेँ । आँशु पनि सकियो जस्तो लाग्यो अनि मनमा एउटा दृढ निश्चय जाग्यो– अबदेखि म ढुङ्गा हुनेछु … सिर्फ ढुङ्गा ।

हाल ः भरतपुर–१२, चितवन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना सनत आचार्य, बेल्जियम पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको

प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको दोश्रो लहरले युरोपलाई थिल्थिलो पारिरहेको अवस्थामा केही युरोपियन मुलुकले लकडाउन सुरु गरेसँगै अष्ट्रियाले पनि

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले

देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज (१३ कात्तिक) २,३६४ जना सङ्क्रमित थपिँदा