पोखरामा अन्नपूर्ण एफएमको सामुदायिक पब्लिक एफएफ आरम्भ

पोखरामा अन्नपूर्ण एफएमको सामुदायिक पब्लिक एफएफ आरम्भ



अन्नपूर्ण एफ.एम. प्रा.लि.को सामुदायिक पब्लिक एफ.एफ.को आज (१ कात्तिक, शनिबार) घटस्थापनाको अवसरमा शुभारम्भ गरिएको छ । केही समय अघिदेखि म्युजिक एफ.एफ.को रुपमा संचालन गरिएको उक्त एफ.एफ.लाई नयाँ ढंगले परिमार्जनसहित सामुदायिक एफ.एफ.को रुपमा पब्लिक एफ.एफ.घटस्थापनको दिनदेखि शुभारम्भ गरिएको प्रा.लि.का अध्यक्ष विश्वशंकर पालिखेले बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक एफ.एफ.को शनिबार एक समारोहकाबीच शुभारम्भ गर्दै धेरै संचारमाध्यमहरु कोरोनाको कारण संकटमा परेका बेला नयाँ संचारमाध्यम संचालनमा ल्याउनु अर्को चुनौती भएको धारणा राखे । समुदायमा समर्पित हुने गरी उक्त एफ.एफ.ले आम जनतालाई सकरात्मक सन्देश दिने उनले विश्वास व्यक्त गरे । कुसलतापूर्वक व्यबस्थापन गर्न सके संचारमाध्यममा कार्यरत पत्रकार एवं कर्मचारीलाई सधै खुशी पार्न सकिने सदस्य ज्ञवालीको भनाइ थियो ।


अन्नपूर्ण एफ.एम.(९३.४ मेगाहर्ज)कै उचाईमा पब्लिक एफ.एम. (९९.६ मेगाहर्ज) पुग्ने प्रा.लि.का अध्यक्ष विश्वशंकर पालिखेले विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रा श्रोता र शुभेच्छुकहरुको साथ र सहयोगले गर्दा आज हामी यो स्थानमा रहेका छौँ, आगामी दिनमा पनि सबैको साथ र सहयोगले हामीले नयाँ पब्लिक एफ.एफ.लाई पनि रेडियो अन्नपूर्णकै स्थानमा पुर्याउन सक्छौँ ।’

प्रा.लि.का प्रबन्ध निर्देशक सुनयना पालिखेले कार्यक्रममा सहभागीलाई धन्वयाद दिँदै पब्लिक एफ.एफ.ले जनताको चाहनाअनुसारको कार्यक्रम प्रस्तुतः गर्ने जनाइन् ।

यसैबीच, अन्नपूर्ण एफ.एम. प्रा.लि.को स्टेशन म्यानेजरको जिम्मा संजय मल्ललाई दिइएको छ । स्टेशन म्यानेजर मल्लले सवैको साथ र सहयोगले रेडियोको साख जोगाउने गरी कुशलतापूर्वक जिम्मेवार वहन गर्ने बताए ।