१५ कार्तिक २०७७, शनिबार

निश्चित भयो मानवसृष्टिको निरन्तरता

  प्रकाशित मिति
१ कार्तिक २०७७, शनिबार ०४:५१


  • (प्रलय प्रारम्भ-३१)

आज एकाएक निराकारले सोच बदलिन् ।

सायद उनको मनमा कतै लुकेको अन्तिम आशा पनि मऱ्यो । उनले अभ्यस्तलाई भनिन्, ‘म आमा हुँ, मैले सृष्टिलाई निरन्तरता दिनैपर्छ ।’

‘म आमा हुँ, मैले सन्तानको निःस्वार्थ भलो सोच्नुपर्छ ।’

‘म आमा हुँ, मैले आफ्नो सन्तानप्रतिको कर्तव्य पूरा गर्नैपर्छ । आजसम्म म तिम्री मात्र आमा थिएँ, अब म भविष्यका सबै मानिसको आमा हुनुपर्छ ।’

अचानक बदलिएको आमाको रूप देखेर अभ्यस्त चकित पऱ्यो । ऊ हड्बडायो र निराकारलाई पछाडिपट्टि पारेर फर्कंदै भन्यो, ‘आमा तपाईंका कुरा सही हुन्, तर… ’

‘अभ्यस्त कायर नबन । आफ्नो कर्तव्यबारे सोच । धर्तीमा मानवबस्ती बसाउनका लागि जग राख । विचलित नहोउ ।’

‘तपाईं सन्तान चाहनुहुन्छ, होइन आमा ?

‘होइन । सन्तान त तिमी छँदै छौ नि ।’

‘के चाहनुहुन्छ त त्यसोभए ?’

‘मानवसमाजको सृष्टि गर्न चाहन्छु । बाध्यताले सुम्पेको एउटा अभिभारा पूरा गर्न चाहन्छु ।’

‘केही वर्षअघि नै यस्तो कर्तव्यबोध किन भएन र, तपाईं अहिले आएर यस्तो सोच्दै हुनुहुन्छ ?’

‘सृष्टिको निरन्तरताका लागि विकल्प प्राप्त हुने आशामा थिएँ । हामीले धेरै वर्ष बितायौँ । अब पनि विकल्पकै आशामा बस्ने हो भने डाइनासोरझैँ मानिस पनि सदा–सदाका लागि लोप हुने स्थिति आउनेछ । सृष्टि र यो धर्तीको परख गर्न सक्ने प्राणी मानिसबाहेक अरू केही हुन सक्दैन । ईश्वरको खोजी यात्रा सकिएको छैन, मानिसबाहेक कसैले ईश्वर खोज्न पनि सक्दैन । विगतमा तिमी मानवसृष्टि निरन्तरताको चाहना व्यक्त गर्थ्यौ, चाहना त म पनि गर्थें तर पूर्वमान्यता र भविष्यप्रतिको आशाले आजको जस्तो अवस्थामा आइपुग्नबाट म रोकिएकी थिएँ । तिमीलाई रोक्नका लागि मैले अनेक तर्क–वितर्क गर्नु पनि पऱ्यो । तर अब एउटा दायित्व तिमीले पनि पूरा गर्नैपर्छ । म जगतको आमा बन्न चाहन्छु ।’

‘म कुनै पनि पापकर्मबाट टाढा रहन चाहन्छु आमा ।’

‘पाप र धर्मको फैसला कसले गर्ने ? कानुनले, समाजले या परमेश्वरले ? कानुन र समाज यहाँ छैन । परमेश्वर छन् भने उनी मानिसको सम्पूर्ण अस्तित्व नाश’ होस् भन्ने चाहँदैनन् होला, यदि त्यस्तो चाहन्छन् भने उनी मानिसप्रति पूर्वाग्रही छन् । उनी आफ्नो सत्ताको परख गर्न जान्ने एक मात्र प्राणी मानवको अस्तित्व नाश गर्न चाहन्छन् भन्ने मलाई लाग्दैन । यदि चाहन्छन् भने आउ परमेश्वरलाई पनि हामी चुनौती दिउँ । आमा सम्पूर्ण पाप भोग्न पनि तयार छे । कर्तव्यबोधले मलाई यहाँ यो अवस्थामा ल्याइपुऱ्याएको छ ।’

अभ्यस्त आमा भएतिर फर्कियो । मध्याह्न दिउँसोको समय थियो त्यो, ऊ सूर्यतिर फर्कियो र दुवै हात जोडेर नमस्कार ग¥यो । पहाडतिर फर्केर झुक्यो र नमस्कार गऱ्यो । अनि नदीलाई पनि झुकेर नमस्कार गऱ्यो । त्यसपछि सोभैm आमा भएतिर अगाडि बढयो । अभ्यस्तले निराकारको दुवै पाउमा शिर राखेर ढोग्यो । यसपछि उठ्यो तर आमातिर फर्किएर हेरेन, ठीक विपरीत दिशातर्फ पाइला चाल्यो ।

उसले बेहोसी महसुस गऱ्यो, तर होसमै थियो उ । फटाफट कदम अघि बढायो । गन्तव्य र दिशा निश्चित थिएन, तर उसका पाइलाहरू बढिरहे ।

गन्तव्य र दिशाहीन पाइलाको गति र चाप अलिक अस्वाभाविक र चर्को हुने गर्छ । अभ्यस्तका पाइलाहरूको पनि दिशा र गति स्पष्ट नभएको सङ्केत देखिँदै थियो । ऊ शून्यपुञ्जझैँ थियो । के गर्नुपर्थ्यो । उसलाई थाहा थिएन, के गरेँ– त्यो पनि उसलाई हेक्का थिएन । बस, अभ्यस्तलाई यत्ति थाहा थियो– ‘मैले केही पनि गरिनँ ।’

किंकर्तव्यविमुढ छ उ, बेठीक गरिनँ उसलाई थाहा छ, के गर्नुपर्थ्यो त्योचाहिँ जानकारी थिएन । जङ्गलको बाटो, आफ्नो बासस्थानबाट टाढाको दिशा र गति उसले समाएको थियो, अघि बढिरह्यो उ कि पछि हटिरह्यो ? यो छलफलको विषय हुनसक्छ, तर ऊ रोकिएन ।

निराकार मूर्तिवत् खडा भइरहिन्, हेर्दाहेर्दै उनको आँखाबाट अभ्यस्त ओझेल भयो । सुस्केरा छोड्दै निराकार थचक्क भुइँमा बसिन् ।

अभ्यस्त दौडिरह्यो, अनेक उकालो–ओरालो र खोलाखोल्सी पार गर्दै उ अगाडि बढिरह्यो । जङ्गलको छेउमा पुग्नै लाग्दा अभ्यस्तको आँखा विपरीत दिशाबाट आफू भएतिर आइरहेको कुनै
प्राणीको आकृतिमाथि प¥यो । उ टक्क अडियो र आफूलाई सुरक्षित तुल्याउन झाडीभित्र पस्यो । पात र बोटबिरुवाको छेल पारेर अभ्यस्तले उक्त प्राणीमाथि निगरानी राख्ने सोच बनायो ।

करिव बीस मिनेटजतिको अन्तरालमा उक्त प्राणी अभ्यस्त लुकेको झाडीनजिकै आइपुग्यो– एउटा सग्लो र निर्वस्त्र मानव शरीर स्पष्ट देखियो । कपाल र दाह्री–जुँगाभित्र लुकेको मान्छे निकै क्रूर, भयभीत र आक्रोशपूर्णझँै देखिन्थ्यो । झाडीको दायाँबायाँ आँखा घुमायो उसले र, पुनः अघि बढ्यो– जतातिरबाट अभ्यस्त आएको थियो । अभ्यस्त निकै खुसी भयो, धर्तीमा एउटा मान्छे भेटिएकोमा । तर, तुरून्त सम्वाद र सम्पर्क बनाउन ऊ हिचकिचायो । अपरिचित मानिससँग स्वाभाविक रूपमा प्रकट हुने मानसिक दूरी अर्थात् अविश्वास त्यस्तो अवस्थामा पनि पैदा भयो ।

जम्काभेट भइहाल्दा उसले आफूलाई सिकार पो बनाउने हो कि अभ्यस्तको आशङ्का थियो ।

त्यसैले त्यस मनुवालाई पछिल्तिरबाट निगरानी राख्ने विचार गऱ्यो उसले र झाडीबाट निस्कियो । लामो दूरी कायम गरेर पछ्याउन सुरू गऱ्यो अभ्यस्तले । पछ्याउँदा–पछ्याउँदै झाडीमा कतै हरायो त्यो मानवाकृति । अभ्यस्त अघि बढ्न सकेन, आमालाई एक्लै छोडेर हिँडेको उसले पछि हट्न पनि चाहेन ।

केहीबेर ऊ रूखको छेल पारेर उभियो, निकै परपरसम्म हेर्न आँखा तन्कायो । केही नदेखिएपछि अघि बढ्यो । आफूलाई गैरजङ्गली मान्छे ठान्ने अभ्यस्त ‘जङ्गली मान्छे’को आँखामा पर्नबाट जोगिँदै अघि बढ्यो । केही क्षणको यात्रापश्चात् तल खोला–किनारमा एउटा मानवाकृति खोलाको पानी अञ्जुलीमा लिएर पिउँदै गरेको देख्यो उसले । अगस्त ढुक्क भयो, अब त्यसको आक्रमणको सिकार होइँदैन भनेर ।

आमालाई छोडेर आएको ठाउँतिर दौडियो ऊ । केही घन्टाको यात्रापश्चात उसले आमालाई त्यहीँ भेट्यो जहाँ उसले छोडेर गएको थियो ।

‘आमा मैले देखेँ,’ ठूलो स्वरमा करायो अभ्यस्त ।

‘के देख्यौ ?’

‘मान्छे हो कि वनमान्छे हो मैले देखेँ, धेरै लामो कपाल र दाह्रीगुँगाका कारण मैले उसको वास्तविक आकृति ठम्याउन सकिनँ । तर उसको शरीर पूरा हाम्रैजस्तो ।’

निराकार खुसीले उत्तेजित हुँदै चिच्याइन्, ‘जाऊँ बाबु उसको खोजी गरौँ ।’

‘तल खोला–किनारमा पानी पिउँदै थियो त्यो, आमा हामी त्यतै लागौँ ?’

‘हुन्छ, तर हामी मानिस भएको सङ्केत दिँदै जानु उचित होला, हामी कराउँदै–चिच्याउँदै जानुपर्ला छोरा ?’

‘त्यसरी चिच्याउँदा त्यो भाग्ने हो कि, बरू सामान्य केही आवाज दिँदै हिँडौँ न, अभ्यस्तले सुझायो । उसको सुझाव निराकारलाई ठीक लाग्यो । त्यसपछि दुवैजना एउटै आवाज निकाल्दै अघि बढ्न सहमत भए–

‘सचेत..!’

सचेत, जो प्रलयको अन्तिम रातदेखि सम्पर्कमा थिएनन्, उनकै नाम सचेत, सचेत, सचेत भन्दै आमा–छोरा खोला किनारातिर ओर्लिए ।


आमा–छोराको जीवनले एउटा नयाँ गन्तव्य प्राप्त गऱ्यो– सचेतको खोजी । सचेत नभए पनि त्यो प्राणीसँग निराकारको भेट भएमा उसले सचेतको भूमिका निर्वाह गर्नुपर्नेछ । त्यही भेट मानवसृष्टि निरन्तरताको कारण बन्ने अब निश्चित भएको छ ।
(समाप्त)

यसअघिको खण्ड हेर्नुहोस्-



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विशेष प्रतिनिधि, टोकियो (जापान) कोरोना संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रिय यात्रालाई क्रमिक रुपमा सहज बनाउँदै आएको जापानले नोभेम्बर १ तारिखबाट

कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि

प्रतिक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको पारो पछिल्लो दिनमा अत्याधिक बढेसँगै कतिपय युरोपियन मुलुकले पूर्ण बन्दाबन्दी गरे पनि अष्ट्रियाले चाहिँ

सङ्क्रमण निको हुने दर ७६.९ प्रतिशत नेपालमा शनिबार २,५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार